काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’ कात्तिक २१ बाट प्रदर्शनमा आउँदैछ । ०८० सालमा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’को प्रचारको टिम लागेको छ ।
‘जारी २’ बनाउने उपेन्द्रको घोषण थिए । तर, उनी बनाएरै छाडे । यसबारे उनी हाँस्दै भन्छन्, ‘बोल्दा निकै सोच विचार गर्नुपर्ने रहेछ ।’
‘यो फिल्म लेख्न कुन तत्वले प्रेरित गर्यो ?’ भन्ने प्रश्नमा उनको स्पष्ट जवाफ छ, ‘च्याब्रुङ ।’
त्यसैले यो फिल्मको ट्याग लाइन ‘सङ अफ च्याब्रुङ’ राखेको उपेन्द्र बताउँछन् ।
‘जारी २’ नायिका ऋचा शर्माको प्रवेश भएको छ । उनी फिल्मको मुख्य भूमिकामा नै रहेको बताइए पनि ट्रेलरमा समावेश छैन । उनको भूमिकामा उपेन्द्रले गोप्य राखेका छन् ।
रोचक कुरा– ऋचा फिल्मको एक मात्रै गैर मंगोलिनक मुख्य कलाकार हुन् ।
उपेन्द्र भन्छन्, ‘ऋचाको भूमिका थाहा पाउन त फिल्म नै हेर्नुपर्छ हो ।’
अर्को रोचक कुरा यो फिल्मबारे उपेन्द्र अड्कलेर मात्रै बोल्छन् । बोल्नै परे भन्छन्, ‘टिजर र ट्रेलरमा देखाएभन्दा बढी बोल्न नै मिल्दैन ।’
उनले कुरा अड्कले बोल्दा महसुस हुन्छ– ‘जारी २’ सस्पेन्स थ्रिलर फिल्म हो ।
कि त्यस्तै हो ? भन्ने प्रश्नमा उनी जवाफ फर्काउँछन्, ‘छ हो । सस्पेन्स पनि छ थ्रिलर पनि छ । साँच्चिकै छ हो । हलमा दर्शकले महसुस गर्नुहुन्छ ।’
प्रस्तुत छ– उपेन्द्रसँग ‘जारी २’ केन्द्रित भएर गरेको कुराकानीको सम्पादित अंश । पूरा अन्तर्वार्ता भिडियोमा हेर्न सकिनेछ ।
भिडियो :
‘जारी’को सिक्वेल बनाउदिनँ भन्नुहुन्थ्यो । ‘जारी २’ कात्तिक २१ मा आउने भयो नि ?
भनेको थिएँ । तर बोल्दा सोच विचार गर्नुपर्ने रहेछ ।
तपाईंसँग प्रेमलाई सुन्दर ढंगले पर्दामा उतार्ने क्षमता छ । यो कसरी सम्भव भयो ?
म धेरै दिदीबहिनीको एक्लो भाइ हो । आमासँग पनि म नजिक थिएँ । म तीन छोरीको बुवा पनि हो । महिलाका बीचमा घेरिएको मान्छे पनि हो म ।
त्यसले गर्दा म प्रेमको कुरा बढी बुझ्छु कि ? प्रेमको सम्वेदनामा मेरो बढी पकड छ कि ? यसै हो भनेर चाहिँ मलाई भन्न आएन । हुन चाहिँ यस्तै चिज होला ।
युवा अवस्थामा आफ्नो पक्षमा पार्न नसकेको प्रेमको उपज त होइन नि यो ?
त्यस्तो त होइन होला । मेरो क्यारेक्टर नै त्यस्तो थिएन । म प्रेमिल मान्छे थिइनँ । म उमेरमा अलि ‘रुड’ नै स्वभावको थिएँ । अझ वैशमा भनौं न ।
त्यो स्वभाव अझैँ बाँकी छ है । एक अन्तर्वार्तामा तपाईंले भन्नुभएको थियो, ‘मेरी श्रीमती नर्क हिड भन्दा पनि मसँगै जान तयार छिन् । तर म उनले भनिन् भने चाहिँ मान्दिनँ ।’
म स्वभावको ‘मुडी’ छु । कुन अवस्थामा भन्छ भन्ने कुरा हो । मलाई मन नलाग्ने कुरा जसले भने पनि मान्दिनँ । जस्तो साथीले भने पनि जादिनँ । म घाडो घाडो मान्छे पो छु, स्वभावले । त्यही स्वभावमा भनेँ होला ।
मुड राम्रो भयो भने त गइहाल्छु नि म ।
अब फिल्म ‘जारी २’को कुरा गरौं । यसको ट्रेलरमा एक कमेन्ट आएको थियो–ट्रेलरबाटै कथा थाहा भयो । ‘जारी’सँग मिल्दो कथा छ । ‘जारी २’को ट्रेलरले मलाई आकर्षण गरेन ।’ यो कमेन्टसँग तपाईं कत्तिको सहमत हुनुहुन्छ ? फेरि फिल्मकी शीर्ष कलाकार नायिका ऋचा शर्मालाई ट्रेलरमा अटाउन सक्नुभएको छैन ।
ट्रेलर एउटा आइडियामा बनेको छ । ट्रेलरमा कथाको संकेत गर्नुपर्छ । ट्रेलरमै कथा भन्न सम्भव हुँदैन । हाम्रो ट्रेलर काट्ने आइडियामा ऋचा शर्मालाई राख्न सकिएन ।
सिक्वेल भएकाले ‘जारी’भन्दा यसको ट्रेलर बिलकुल फरक हुने कुरा भएन । त्यही कथाको विकसितरुप न हो । यस कारण पनि मैले ‘जारी २’मा ‘जारी’को फ्लेबर दिनुपर्यो ।
कुनै दर्शकले ‘जारी २’ मन नपराउन पाउनुहुन्छ । उहाँहरुको मन नछुन सक्छ । सबैको मन छुन सक्छ भन्ने मेरो दाबी पनि होइन । त्यो ठूलो कुरा होइन ।

फिल्मको कुरा गर्दा टिमको कुरा गर्न मन लाग्यो । ‘जारी’ सफल भयो । यसका निर्माता रामबाबु गुरुङसँग सम्बन्ध चिसियो । ‘जारी २’ तपाईंहरुलाई फेरि एक जुट गरायो । ‘जारी २’मा के शक्ति रहेछ ?
त्यस्तो झगडा भएको होइन । हामी दुवैले होइन त भनिसक्यौं । झगडा भएको भए त ‘जारी २’ किन बन्थ्यो होला त ?
‘जारी’ रामबाबु गुरुङको ब्यानर ‘बाँसुरी फिल्मस्’बाट बनेको थियो । रामबाबुसँग नमिली ‘जारी २’ नबन्ने भएपछि तपाईं लचकता अपनाउनुभयो भन्ने कुरा पनि सुनिन्छ नि ?
हैन । त्यस्तो नचाहिने कुरा गरेर पनि हुन्छ ? हामी त्यसरी बाझ्ने कुरा नै भएन नि ।
हाम्रो स्वभाव नै फरक छ ।
मैले फिल्म ‘मनसरा’ बनाएपछि चाहिँ भेटघाट पातलो भएको हो ।
दयाहाङ राई र रामबाबुको घर एउटै कम्पाउन्डमा छ । उनीहरुको त ६ महिना भेट हुँदैन । उनीहरुको ६ महिना फोन सम्पर्क पनि हुँदैन । अनि म त ललितपुर बस्छु नि ।
बाहिर झगडा देखिएको हो । हाम्रो झगडा भएको होइन ।
यो सम्बन्ध बिग्रिएको कुरा खुलारुपले बोल्न नसकिने कारण चाहिँ के रहेछ ? तपाईंले सार्वजनिकरुपमा नभने पनि सम्बन्धमा चिसो पसेको त सत्य हो नि ।
(हाँस्दै) होइन हाम्रो सम्बन्ध राम्रो छ ।
‘जारी २’को ट्रेलरमा देखिएभन्दा बढी के–के कुरा खुलाउन मिल्छ ?
ट्रेलरमा लागि त्यसैमा पूरा कथा छ । बाँकी खुलाउन नमिल्ने कथा थुप्रै छ । त्यसका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ ।
तपाईं ‘जारी २’बारे निकै अड्कलेर बोलिरहनु भएको छ । मलाई कुनै सस्पेन्स थ्रिलर फिल्मको निर्देशकसँग वार्तालाप गरेको महसुस भइरहेको छ । किन यस्तो ?
‘जारी २’मा पनि सस्पेन्स चाहिँ छ । थ्रिलिङ पनि छ । यो दर्शकले हलमा मसुसस गर्नुहुन्छ ।
साँच्चै ?
साँच्चै भनेको । सस्पेन्स र थ्रिलर खुराक छ तर सस्पेन्स–थ्रिलर जनराको फिल्म चाहिँ होइन, मेरो ।
छ हो सस्पेन्स र थ्रिलर ।
तपाईं कम बोल्ने ‘इन्ट्रोभट’ व्यक्ति । लेख्न चाहिँ सक्ने हो । मुखले व्यक्त गर्न नसक्ने कुरा कलमले व्यक्त गर्न सक्ने व्यक्ति हो ?
कनीकुथी गर्नुपर्छ हो त्यो पनि । मज्जाले त कलम चल्दैन । कनीकुथी बल गरेर लेख्छु म त । म लेख्न ठूलो क्षमता भएको मान्छे होइन ।
‘जारी २’ लेख्न बस्छु है भनेर तपाईंलाई के कुराले प्रेरित गर्यो ?
च्याब्रुङ ले नै हो ।













प्रतिक्रिया