चिसो मौसममा हृदयघातको जोखिम  | Khabarhub Khabarhub

चिसो मौसममा हृदयघातको जोखिम 

स्वास्थ्य जाँच गरेर पदयात्रामा निस्कन सल्लाह


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तिहारसम्म गर्मी महसूस गरिएको भए पनि मङ्गलबारदेखि एकाएक मौसममा बदली भएको छ । देशका विभिन्न क्षेत्रमा हल्का पानी परेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात भएको छ ।

पछिल्लो विवरणअनुसार हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, गोरखालगायतका जिल्लाहरूमा भारी हिमपात भएको छ । यतिबेला पर्यटनको मौसम भएकाले हिमाल घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटकहरू अकस्मातको हिमपातले प्रभावित भएका छन् ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र– ४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यो सडकमा बाक्लो हिमपात हुँदा सडक दुर्घटनाको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरेको हो ।

जोमसोम–मुक्तिनाथ सडकखण्ड अन्तर्गत कागबेनीदेखि साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन लिएर मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए ।

कागबेनी मुक्तिनाथ सडकको कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान अनुरोध गरेको उनको भनाइ छ ।

त्यस्तै अन्नपूर्ण आधार शिविरमा भारी हिमपात भएपछि पर्यटकहरूलाई सहजिकरणका लागि सुरक्षाकर्मी खटाइएको छ । बास बसेको ठाउँबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा अत्यधिक हिमपात भएको भन्दै पर्वतारोहण दल र पदयात्रीहरूलाई विशेष सावधानी अपनाउन नेपाल पर्वतारोहण संघले आग्रह गरेको छ ।

एक सूचना निकाल्दै संघले पर्वतारोही र पदयात्रीहरूलाई अनावश्यक रूपमा उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म हल्कादेखि भारी हिमपातको सम्भावना औँल्याइएकाले यात्रा गर्नुअघि थप सतर्कता अपनाउन संघले भनेको छ ।

संघले सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई आफ्ना आरोहण दल तथा पदयात्रीहरूको सुरक्षाका लागि समन्वय गर्न आग्रह गरेको छ । यस्तै, उच्च हिमाली क्षेत्रमा रहेका सम्पूर्ण पर्वतारोहण दल र पदयात्रीहरूलाई सुरक्षित स्थानमा एकीकृत भई पर्वतारोहण संघ तथा सम्बन्धित ट्रेकिङ कम्पनीहरूसँग नियमित सम्पर्कमा रहन संघले सम्झाएको छ ।

चिकित्सकहरू पनि उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा पदयात्रामा जानुअघि आगामी दिनको मौसम र आफ्नो स्वास्थ्यको अवस्था बुझेर मात्रै यात्रामा जान आग्रह गर्छन् । चिसो मौसममा त्यसै पनि हृदयरोगको जोखिम एकदमै धेरै हुने भएकाले मुटुरोगीहरुले सचेतना अपानाउनुपर्ने मुटुरोग विशेषज्ञ डा. कमल लम्सालले बताए ।

हिमाल आरोहणमा जाँदा लेक लागेर मृत्यु भएका खबरहरू हामीले वर्षेनी सुन्दै आएका छौँ । त्यसैले अक्सिजन कम भएको ठाउँमा जाँदा पूर्वतयारी बिना जान नहुने उनले बताए ।

३५ सय फिटमाथि उचाइ भएको क्षेत्रमा जानु अगाडि आफ्नो रक्तचाप, सुगरको अवस्था कस्तो छ ? दम छ कि छैन ? हातखुट्टाका जोर्नीहरूको समस्यालगायत सम्पूर्ण स्वास्थ्य अवस्था ठीक भएपछि मात्रै यात्रा तय गर्दा स्वास्थ्य जोखिम कम हुने उनले बताए ।

त्यस्तै कामकाजीहरु ३–४ दिनको बिदा मिलाएर घुम्न निस्किने र थोरै समयमा धेरै उचाइमा पुग्न खोज्ने हुँदा समस्या हुने भएकाले सकेसम्म एक दिनमा ८ सय देखि १ हजार मिटर भन्दा माथिको उचाइमा नजान डा. लम्सालको सुझाव छ ।

लेक लागेमा के गर्ने ?
उच्च पहाडी तथा हिमाली क्षेत्रमा धेरैलाई लेक लाग्ने जोखिम हुन्छ । यदि लेक लागिहाल्यो भने तत्काल बेँसीतिर झर्नुपर्छ । लेक लागेको ठाउँबाट आधादेखि एक किलोमिटर तल ओर्लनुपर्ने डा. लम्सालले बताए ।

बेँसी झरेपछि आराम गर्ने, प्रशस्त पानी पिउने, ‘प्रेसर ब्याग’ उपलब्ध छ भने बिरामीलाई दुई घण्टा जति त्यसमा राख्ने, उपचार गर्दा प्रतिमिनेट ६ लिटरको दरले अक्सिजन दिने र स्वास्थ्यकर्मीको सल्लाहमा औषधि दिन डा. लम्सालको सुझाव छ । 

धूमपान र मद्यपान बर्जित
डा. लम्सालका अनुसार धेरै उचाइमा जाँदा अक्सिजनको मात्रा कम हुने, मुटुको धड्कन बढ्ने, सास फेर्न कठिन भएर लेक लाग्ने समस्या हुन्छ । त्यसमाथि धूमपान र मद्यपानको सेवन गर्दा अझ समस्या जटिल बन्ने भएकाले यस्ता पदार्थको सेवन नगर्न उनको सुझाव छ ।

नियमित औषधी खाइरहेको बिरामीले औषधीलाई निरन्तरता दिने, न्यानो लुगा लगाउने, तातो झोल खानेकुरा प्रशस्त मात्रामा खान उनको सुझाव छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ११ : ०१ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

काठमाडौं– मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि

आन्दोलनबारे छलफल गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बुधबार मानव अधिकार आयोगका अध्यक्ष

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 

काठमाडौं– देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबार

दाङखोलामा अलपत्र पुल बनाउन दबाब

म्याग्दी– दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि निर्माण सुरु