छोराको निधनपछि गौरवको परिवार सहाराविहीन | Khabarhub Khabarhub

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोकेका धनगढी उपमहानगरपालिका-५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उनको परिवार सहाराविहीन भएको छ । 

गत भदौ २३ गते जेन-जी प्रदर्शनका क्रममा काठमाडौंमा छोराको निधन भएपछि बुवा वासुदेव जोशीसहित परिवार सहाराविहीन भएको हो । गौरवको कन्चटमा गोली लागेको थियो ।
  
विदेश पुगेर गर्ने कमाइले परिवार पाल्ने आफ्नो वचन पूरा नगर्दै सधैँका लागि अस्ताएपछि गौरवको परिवारका सदस्य शोकमा डुबेका छन् । कलिलै उमेरमा भएको निधनपछि गौरवका बुवा, आमा र दिदीका आँसु रोकिएको छैन । 

पुत्र शोकका कारण वासुदेव जोशी भेटेर समवेदना दिनेहरू समक्ष टोलाइरहन्छन् । समवेदना दिन उनको निवासमा पुग्ने आफन्तजन, इष्टमित्र, साथीभाइले स्वर्गीय गौरवप्रति श्रद्धाञ्जली दिइरहँदा वासुदेवको पीडा सहजै महसुस गर्न सकिन्छ ।

धनगढीको ऐश्वर्य विद्या निकेतन स्कुलबाट १२ कक्षा उत्तीर्ण भएपछि गौरव तीन वर्षअघि इन्जिनियर अध्ययन गर्ने योजनासहित काठमाडौँ पुग्नुभएको थियो । ७६वर्षीय वासुदेवले भने, ‘इन्जिनियर पढ्न चाहिने खर्चको जोहो गर्न धनगढीको घरलाई बैंकमा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाइसकेको थिएँ, तर छोराले बेलायत गएर कमाइसँगै पढाइ गर्ने योजनासहित भिसा (राहदानी) को पहल गरिरहेको थियो । भदौ २३ गते ऊसँगै हाम्रा सपनाको निधन भएको छ ।’

बैतडीको दागेडाकेदार पुर्ख्यौली घर भएका जोशी वन कार्यालयमा अस्थायी रूपमा कार्यरत रहँदा करिब ४५ वर्षअघि धनगढीमा बसाइसराइ गरेका थिए । उनले वन कार्यालयको नोकरी छाडेर धनगढीमा फर्निचर उद्योग सञ्चालन गरी जीविकोपार्जनसँगै सन्तानको पढाइ खर्च जुटाएका थिए । अहिले उनको सामाजिक सुरक्षा भत्ता र आफू बस्ने घरको कोठा भाडाका पुग्ने बाहेक अन्य आम्दानीको स्रोत छैन ।

गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा छोरालाई गोली लागेको खबर दोस्रो दिन बिहान मात्रै थाहा पाएको वासुदेवले बताए । उनले भने, ‘धनगढीमा रहेको सहोदर भाइको घरबाट खबर सुनाउन आफ्नो घरमा बिहानै चार–पाँच पुग्दा आफूसँगै परिवार झसङ्ग भयौँ, त्यसपछि अन्योल र अनिश्चितताको वातावरण बनेको छ ।’
  
छोराको आशमा पहिलो श्रीमतीको सहमतिमा उनले दोस्रो विवाह गरेका थिए । कान्छीबाट छोरा गौरव जन्मिएका थिए । उनकी छोरी निशा ‘एयर हेस्टेस’ अध्ययन सकाएर नोकरीको खोजीमा छन् ।

काठमाडौंको बानेश्वरमा कोठा भाडामा लिएर आमा र दिदीसँगै बस्दै आएका गौरवमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता थियो । भदौ २३ गतेको प्रदर्शनका क्रममा गौरवले सामाजिक सञ्जाल बन्द, विद्यमान बेथितिविरुद्ध तथा भ्रष्टाचार नियन्त्रणका विषयमा दिएको प्रतिक्रिया भिडियो (श्रव्य दृश्य)मार्फत सार्वजनिक भएका थिए ।

‘जन्मेपछि मृत्यु अनिवार्य हुन्छ ,तर त्यसले कृति गरेर जाँदाको अर्थ र महत्त्व बेग्लै रहन्छ, बैतडीमा जन्मिएका सहिद दशरथ चन्दले कृति बनाएर गएजस्तै आफ्नो छोराले पनि कृति बनाएर गएको छ’, बुवा वासुदेवले भने । सरकारले सामाजिक सञ्जाल बन्द गर्दा जेन-जीहरूले प्रदर्शन गर्दैछन् भन्नेसम्म सूचना नपाएका वासुदेवले गोली लागेर छोराको मृत्यु हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन् । 

घटनापछि परिवारका अन्य सदस्यसहित उनी गौरवको अन्त्येष्टिका लागि धनगढीबाट काठमाडौं पुगेका थिए । वासुदेवले थपे, ‘काठमाडौँमा छोराको अन्त्येष्टिका दिनको शवयात्राले आफूलाई चिनायो, आफ्नै ठाउँमा भने छोराको फोटोसहितको यात्राले बजार परिक्रमा गरिदिएको भए मन केही शान्त हुन्थ्यो, तर कसैले गरेनन् ।’

सरकारले जेन-जी प्रदर्शनका क्रममा निधन भएका गौरव जोशीसहित सबैलाई सहिद घोषणा गर्दै जनही १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ । 

उनको स्मृतिमा धनगढीको कुनै सार्वजनिक ठाउँमा सालिक निर्माण गर्न जग्गा र आर्थिक सहयोगका लागि दाताको अपेक्षामा वासुदेव छन् । हालसम्म कतैबाट पनि सहयोग पाउन नसकेको उनले बताए ।

‘सालिक निर्माणका लागि सार्वजनिक जग्गाको खोजीमा छु, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विवाद नआउने खालको जग्गा खोज्नुस्, सहयोग गर्छौँ भन्ने आश्वासन दिनुभएको छ’, वासुदेवले भने । सहिद गौरवको स्मृतिमा धनगढीको पार्क मोडमा श्रद्धाञ्जली सभा गरिएको छ । 

जेन-जी मार्ग र गौरव जोशीमार्ग नामकरण 

जेन-जी प्रदर्शनपछि धनगढी उपमहानगरपालिका कार्यालयले कार्यालय नजिकै रहेको पार्कमोड आसपासको सडकलाई ‘जेन-जी मार्ग’ नामकरण गरेको छ । यसैगरी तारानगर टोलस्थित गौरव जोशीको घर अगाडिको सडकलाई टोलवासीको पहलमा ‘गौरव मार्ग’ नामकरण गरिएको छ । रासस

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ३१ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको