काठमाडौं- अन्तरिम सरकार बनेको डेढ महिना बित्यो । सुशासनको मुद्दा बोकेर सडकमा पुगेको जेन–जी सरकारले आजसम्म सम्पत्ति विवरण समेत सार्वजनिक गर्न सकेको छैन । त्यसैगरी, ६ महिनाभित्र चुनाव दायित्वको सरकार मन्त्रिपरिषद् विस्तार गर्न नसकेर अलमलमा छ । मन्त्रीमा सिफारिस भएका व्यक्तिहरु विभिन्न विवादमा तानिएका छन् ।
यसले गर्दा सरकारको आलोचना पनि बढ्दै गएको छ । सरकारको कामकारवाही हेरेर आन्दोलनका अगुवाहरु नै कतै आन्दोलन तुहिने त होइन ? भनेर सशंकित हुन थालेका छन् । प्रधानमन्त्री र गृहमन्त्री आन्दोलनको अभिभारा बिर्सिएर अन्य शक्तिबाट परिचालित हुन पुगेको अभियानकर्मीको दाबी छ ।
जेन–जी आन्दोलन असफल हुँदै गएको हो ? पाँच तारे होटलमा पत्रकार सम्मेलन गर्ने स्रोत के हो ? जेन–जी आफूहरु नै किन विभाजित भए ? सरकारमा जेन–जी प्रतिनिधित्वको दाबी खै ? किन आजसम्म सुशासनलाई पहिलो र अन्तिम सर्त बनाएको सरकारका प्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न के ले रोक्यो ? निर्धारित समयमा चुनाव हुन्छ ? लगायतका विषयमाजेन–जी अभियन्ता जस्मिन ओझासँग गरिएको कुराकानीको अंश-
जेन–जी सरकारमा जेन–जी नदेखिनुको कारण के हो ?
यो कुनै निश्चित व्यक्ति र समूहले गरेको आन्दोलन होइन । यो एक निश्चित उमेर समूहले गरेको आन्दोलन हो । यो फेसलेस मुभमेन्ट हो । त्यसकारण पनि जेन–जी को ? र कसलाई मान्ने भनेर विवाद आइरहेको छ । त्यसैले जेन–जी उमेर समूह प्रतिनिधत्व नभएको होला । तथापि एक जना मात्रै भएपनि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता जेन–जी हुनुहुन्छ ।
आन्दोलनमा सुदूरपश्चिमबाट धेरै सहिद र घाइते छन् । उनीहरुले आफ्नो सूनिश्चितता खोजिरहेका छन् । तर उनीहरुलाई वेवास्ता गरिएको देखिन्छ । मन्त्रिपरिषद्मा जान लायक सुदूरपश्चिमबाट कोही नभेटिएको हो ?
मन्त्रीको लागि हामीले सिफारिस गर्ने होइन । यो चुनावी सरकार हो । प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउनुपर्ने म्याण्डेट छ । जुन निकै चुनौतीपूर्ण छ । त्यसकारण हरेक प्रदेशबाट मन्त्री बनाउने भन्दा पनि देशभरिकै प्रतिनिधित्व हुने गरी प्राथमिकतामा पर्नुपर्छ ।
सहिद र घाइतेका परिवारले दाबी गर्नु स्वाभाविक हो । सुदूरपश्चिमको प्रतिनिधित्व खोज्न नसकेको हो वा खोज्दै गर्दा जसको म्याण्डेडमा मन्त्री बनाइरहनुभएको छ , उनीहरुको चित्त नबुझेको हुन सक्छ । तर प्रधानमन्त्रीले कसको म्याण्डेड अनुसार मन्त्री बनाइरहनु भएको छ । के हिसाबले मन्त्रिपरिषद् गठन गर्न खोजिरहनुभएको हो भन्ने कुरा अन्योलमा छ । उहाँले मन्त्री बनाउन चाहेका व्यक्तिको विभिन्न विवाद आइरहेको छ । त्यसैकारणले मन्त्रिपरिषद् टुङ्गो लाग्न सकेको छैन ।
जेन–जीमार्फत बनेको सरकारले जेन–जीलाई नै नचिनेको हो ? अर्को जेन–जी हामी हौ भन्दै विभिन्न टीम आएका छन् । असली जे– जी कसरी चिन्ने ?
देश हाम्रो मात्रै होइन । भ्रष्टाचार र कुशासनविरुद्ध हरेक उमेर समूहलाई असन्तुष्टि थियो । अहिले प्रधानमन्त्रीको कन्फ्युजन पनि आधिकारिक जेन–जी थाहा पाउन सकिराख्नुभएको छैन ।
अर्को, फेरि केही युवाहरु राखेर यिनै हुन जेन–जी भन्नुभएको छ । के को आधिकारिकतामा बोलाइरहनुभएको हो ?
प्रधानमन्त्रीको काम डिभाइड भएका जेन–जीलाई युनाइट बनाउने हो । हरेक ग्रुपबाट एक–एक जना प्रतिनिधित्व राख्नुपर्छ ।
हिजो आन्दोलन सफल हुनुको कारण भनेको निश्चित एजेण्डा थियो । तर आज अर्को एजेण्डा नै बिर्सिएका छन् । व्यक्तिगत धारणालाई एजेण्डा भनिएको छ । मन्त्री पाउन वा सत्ता पाउन आन्दोलन गरिएको थिएन ।
भिडियो–
भदौ २३ को आन्दोलन र २४ गतेको अपराध छुट्टाछुट्टै हो भनिरहेका छन् । तपाईँहरुको भनाइ के हो ?
आन्दोलनको लागि हप्ता दश दिन अगाडीबाट तयारी भइरहेको थियो । सडकमा युवाहरुलाई आउन आह्वान गरिएको थियो । हामीले कुनैपनि राजनीतिक दलबाट प्रतिनिधि नगर्न आग्रह गरेका थियौ । जेन–जी उमेर समूह भित्रको मात्रै आउनुहोला भनेका थियौ ।
नन जेन–जी किन आउनुभयो ? हाम्रो प्रश्न छ उहाँहरुलाई । ती सबै व्यक्तिहरुले उत्तर दिनुपर्छ । समर्थनको लागि आउनुभएको थियो होला । त्यसको लागि आभारी छौं । भदौ २३ मा सबै घटना घटिसकेपछि २४ मा सबै उमेर समूहका हामी बोल्नुपर्छ भनेर स्वतःस्फूर्त रुपमा आउनुभएको हो ।
भदौ २४ मा धेरै जेन–जीको मृत्यु भएको छ । यो धेरैले उठाइरहनुभएको छैन । त्यो दिन सार्वजनिक तथा निजी सम्पत्ति सत्यानास भयो । तर जेन–जी विध्वंशको पक्षमा थिएन । हामी सिंहदरबार नजलाउन रोकिरहेका थियौँ । तर सबै गतिविधि हाम्रो नियन्त्रण बाहिर थियो । कार्यपालिका, व्यवस्थापिका र अदालत कंक्रिट मात्रै होइन । त्यो इतिहास हो, राष्ट्रको धरोहर हो ।
विद्यार्थीको ज्यानको कुनै कुराले क्षतिपूर्ति भर्न सक्दैन । तर ती भवन पनि कंक्रिट त हो भनेर सामान्य नबनाइयोस् । सिंहदरबार जलेर खुसी हुने नेपाली नागरिक हुनै सक्दैन ।
सुशासनको माग गर्दागर्दै जेन–जीले नयाँ सरकार बनायो । तर, अहिले आफैँ पाँच तारे होटलमा पत्रकार सम्मेलन गरिरहेका छन् । श्रोत सोध्यो भने झर्किन्छन् । कार्यक्रममै धूमपान गर्दै गरेको दृश्य छारस्ट भएका छन् । यी सबै कुराले जेन–जी माथि विश्वास घटेको जस्तो लाग्दैन ?
जेन–जीहरुलाई जे गर्न पनि र जे बोल्न छुट छैन । विश्वले हामीलाई हेरिरहेको छ । त्यसैले गलत मेसेज जाने अभिव्यक्ति नदिन साथीहरुलाई आग्रह गर्छु । यो सरकारले जेन–जीका म्याण्डेड अनुसार काम गर्नुपर्छ । आन्दोलन तुहाउने गतिविधि गर्दै नगरौँ । आन्दोलन संस्थागत गर्ने हो ।
हामीले कुनै व्यक्ति र दललाई निषेधित गर्न आन्दोलन गरेको होइन । दल सुध्रिनुपर्यो भनेको हो । दशकौँ एकै नेता छन् । अरु योग्य नभएका हुन् वा आउन नदिइएको हो । अभिभावक बनेर ठाउँ छोडिदिनुहोस् भन्ने पनि हाम्रो सन्देश हो । लोकतन्त्र मान्ने हो र यहीसंविधान मान्ने हो । यही संविधानले ‘फरमेसन अफ पोलिटिकल पार्टी’ भनेको छ ।
दलभित्र सबै खराब छन् भन्ने होइन । कांग्रेस, एमाले लगायतका कुनै पनि दलको विचार नराम्रो छ त ? छैन नि । खराब प्रवृत्ति विरुद्ध प्रश्न हो । दलभित्रैको सुधार चाहेको हो । किनभने दलको विकल्प दल नै हो । मताधिकारको प्रयोग गर्छु भन्नेले लोकतान्त्रिक विधि खराब भन्न मिल्दैन ।

सरकार गठन भएको डेढ महिना बितिसक्यो । तर सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सुशासनको सर्त पालन गरेको भनेको सरकार यस्तै हुन्छ ?
हाम्रो आन्दोलन अनुहार फेर्न मात्रै भएको होइन । सुशासनको मुद्दा लिएर सडकमा गएका थियौ । हामीले पहिलो दिनदेखि नै सम्पत्ति सार्वजनिकको कुरा उठाउँदै आएको हो । यतिका समय सम्पत्ति विवरण सार्वजनिक नगर्नुको कारण भन्दिनु पर्यो । ७८ जनाको मृत्यु भएको छ । उहाँहरुले बगाएको रगत यत्तिकै खेर जाने त होइन ?
रगतमाथि राजनीति नगरी नागरिकको प्रश्नको उत्तर दिनुहोला । ६ महिनाभित्र चुनाव गर्नुपर्ने जिम्मेवारी छ । एक महनाभित्रै मन्त्रिपरिषद् गठन गरिसक्नुपर्ने थियो । तर दोस्रो महिनासम्म मन्त्रिमण्डल पूर्ण छैन । सहिद र घाइते परिवारको कुरा सुन्नुपर्यो ।
राजनीतिक नियुक्तिका विषयमा काम गर्ने समय होइन । किन राजदूत फिर्ता बोलाउने काम गर्ने ? कामको प्राथमिकता हेरेर काम गर्ने हो । हालको सरकार गलत बाटोमा हिँडिरहेको देख्छु ।
मन्त्रीमा सिफारिस व्यक्तिहरु विवादैविवाद छ, यो के तमासा हो ?
यो सरकारले मन्त्रिपरिषद् विस्तारमा खेलाँची गरिरहेको छ । कति संवेदनशील समयमा यो सरकार बनेको हो । त्यो कुरा उहाँहरुले बिर्सदै जानुभएको महसूस भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीलाई विश्वासमा लिएर काम गर्नै सक्नुभएको छैन । यहाँ गृहमन्त्रीको राजीनामाको माग आउन थालिसक्यो ।
अर्को, आन्दोलनको लागि हामी तयार छैनौं । यो तहको आन्दोलन गर्न धेरै वर्ष लाग्छ । त्यसकारण यो आन्दोलन असफल बनाउनतिर नलाग्नुस् । किस्ता किस्तामा मन्त्रिपरिषद् विस्तार गर्दै बस्ने छुट छैन । सकेसम्म छिटो गरेर चुनावतिर लाग्नुपर्छ ।
राजनीतिक दललाई विश्वासमा लिएर चुनाव गराउनुपर्नेछ । राजनीतिक दलका नेताहरुसँग प्रधानमन्त्रीले एकचोटी बैठक बस्नुभएको छैन । अहिलेसम्मको बैठक राष्ट्रपतिले आह्वान गरेर बसेको छ । राष्ट्रपति संविधानको संरक्षक हो । उहाँलाई पटक पटक विवादमा ल्याउने काम भएको छ । चुनाव नभए हाम्रो आन्दोलन संस्थागत हुँदैन ।
सरकारले कसरी काम गर्नुपर्छ ?
आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्यो । दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउनुपर्यो । जेन–जीका नाममा विध्वंस गर्नेलाई कारवाही गर्नुपर्यो । भ्रष्टाचार विरुद्धको आन्दोलनबाट बनेको सरकारले तत्कालै सरकार र सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्यो ।
मन्त्रिपरिषद्ले तत्काल पूर्णता पाउनुपर्यो । जेन–जी भित्रकै केही साथीहरु चुनाव लड्ने तयारीमा हुनुहुन्छ । तर धेरै विभाजित भएका कारण एक पार्टी मात्रै खोल्न असम्भव देखिन्छ । धेरै पार्टी खुल्ने होकि भन्ने डर छ । र दलहरुले नयाँ मानिसलाई चुनावमा उठाउनु पर्छ ।













प्रतिक्रिया