जैविक तटबन्धले विद्यालयको सुरक्षा « Khabarhub

जैविक तटबन्धले विद्यालयको सुरक्षा


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिरहा– चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका– १५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गर्दथ्यो । लहानको मुख्य बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित यो दुर्गम क्षेत्रमा वर्षायाम सुरु हुनासाथ बेतहा खोलाले रौद्र रूप लिँदा सबैको मनमा सधैँ डर हुन्थ्यो ।

हिउँदमा शान्त देखिने बेतहा खोला वर्षा सुरु हुनासाथ रौद्र रूप लिन्थ्यो र यसको प्रहार सिधै विद्यालयमाथि पर्दथ्यो । ‘खोलाले किनारा कटान गर्दै जाँदा विद्यालय भवन नै जोखिममा परेको थियो । कुन बेला के हुने हो, थाहा नै हुन्न थियो’, विद्यालयका प्रधानाध्यापक सुन्दरलाल चौधरी विगत सम्झँदै भने, ‘सारा विद्यार्थीको भविष्य अन्धकारमा धकेलिन लागेको थियो । वर्षा लागेपछि त विद्यालय नै बन्द गर्नु पर्दथ्यो ।’

बेस्सरी कटान हुँदै आएको बेतहा खोलाले विद्यालयको चौर डुबाउँथ्यो, कक्षाकोठा चिस्याउँथ्यो र विद्यार्थीको उज्ज्वल भविष्य हरेक वर्षाको बाढीसँगै बग्दै जाने डर पनि उत्तिकै थियो । यस दुर्गम बस्तीको अस्तित्वलाई नै प्रश्नको घेरामा पुर्‍याइरहेकाे बेतहा खोलाले विद्यालय मात्र होइन, छेउमै रहेको स्थानीय स्वास्थ्य चौकीलाई पनि उत्तिकै जोखिमपूर्ण बनाएको थियो ।

नगरपालिकाले स्थानीयको सहजताका लागि एक स्वास्थ्यकर्मीसहित ढोडना स्वास्थ्य चौकीको एक शाखा यहाँ खोलेको थियो । तर, बाढी आएपछि औषधि, उपकरण र कर्मचारी सबै जोखिममा पर्थे । स्थानीयका लागि बनेको सुविधा बाढीको एक झट्कामै बन्द हुने डरले सधैँ घेरेको हुन्थ्यो ।

बेतहा बस्तीका बासिन्दालाई आफ्नो घर, विद्यालय र स्वास्थ्य सेवा जोगाउन प्रकृतिसँग हरेक वर्ष सङ्घर्ष गर्नुपर्ने बाध्यता थियो । यो वर्षको दृश्य फरक छ । बस्ती जोगाउने अभियान अब प्रकृति र स्थानीयबीचको सफल सहकार्य बनेको छ ।

करिब ६ महिनाअघि लहान नगरपालिकाको समन्वयमा सुरु भएको संरक्षण परियोजनाले यहाँ नयाँ आशा जन्मायो, जैविक तटबन्ध । केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँलेको सामूहिक प्रयास तथा श्रमदानबाट यो तटबन्ध निर्माण गरिएको थियो ।

बर्खा सुरु हुनुअघि नै स्थानीय स्रोत साधनको उपयोग गर्दै बाँस, घाँस, बिरुवा र स्थानीय प्रजातिका बोटबिरुवा लगाएर नदी किनारलाई मजबुत बनाउने काम थालियो । सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का कार्यक्रम अधिकृत टेकेन्द्र साहले भने, ‘जैविक तटबन्ध बनाउँदा खर्च कम हुने, दीर्घकालीन रूपमा माटो सम्हाल्ने क्षमता बढ्ने र वातावरण मैत्री हुने भएकाले हामीले यसलाई प्राथमिकता दिएका हौँ ।’

केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदिश भट्टकाअनुसार, यस परियोजनाअन्तर्गत बेतहा क्षेत्रमा तीनवटा जैविक तटबन्ध निर्माण गरिएको छ । उनका अनुसार अन्य ठाउँमा पनि स्थानीयसँगको सहकार्यमा क्रमश जैविक तटबन्ध निर्माण गरिनेछ ।

यस प्रकारको तटबन्ध सफल अनि प्रभावकारी देखिएको वडा नम्बर१५ का अध्यक्ष तेजनारायण चौधरीको भनाइ छ । उनी आफ्नो वडा बाढी, पहिरो र नदी कटानको बढी जोखिम क्षेत्र भएकाले अन्यन्त्र पनि यस्तै विधि अपनाई नियन्त्रण गर्न लागिपर्ने बताउँछन् ।

कटान रोक्न सकिने भएपछि स्थानीयको उत्साह झन् बढेको छ । वर्षौँदेखि खोला कटानको भयले असुरक्षित महसुस गर्दै आएका उनीहरू अहिले भने आत्मविश्वासका साथ भविष्य कल्पना गर्न थालेका छन् ।

जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सिरहाका सचिव रुद्र नारायण चौधरीका अनुसार, यस्ता जैविक तटबन्धले वर्षेनी दोहोरिने बाढी–पहिरोको जोखिम कम गर्नुका साथै वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारीमा पनि सकारात्मक प्रभाव पार्छ । (रासस)

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ०४ बजे

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमश : सिँचाइयोग्य क्षेत्रफल विस्तार

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं– मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने