पाकिस्तानी सिनेटरले भनेः इमरान खान जीवित छन् « Khabarhub

पाकिस्तानी सिनेटरले भनेः इमरान खान जीवित छन्


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)का सिनेटर खुर्रम जिशानले पूर्व प्रधानमन्त्री इमरान खानको मृत्यु भएको भन्ने अफवाहलाई पूर्णतः खारेज गर्दै उनी जीवित रहेको र हाल अदियाला जेलमै राखिएको स्पष्ट पारेका छन् । उनका अनुसार इमरान खानलाई पाकिस्तान छोड्न दबाब सिर्जना गर्ने रणनीतिअनुरूप एकान्तवासमा राखिएको छ ।

पाकिस्तानबाट एएनआईसँग कुरा गर्दै पिटिआईका सिनेटर जिशानले इमरान खानको लोकप्रियताले वर्तमान शासन व्यवस्थालाई चुनौती दिइरहेको र यही कारणले उनको कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्न नदिइएको दाबी गरे । उनले भने, “उहाँको प्रभाव र जनसमर्थनबाट डराएका कारण नै सत्ताधारीहरूले उहाँलाई पूर्ण रूपमा आइसोलेसनमा राखेका छन् ।”

गत सातादेखि अफगानिस्तानका विभिन्न सामाजिक सञ्जाल खाताहरूमा रावलपिन्डीस्थित जेलभित्र इमरान खानको हत्या भएको दाबी फैलिएको थियो । त्यही समयमा, अदालतको निर्देशन हुँदाहुँदै पनि पाकिस्तानी अधिकारीहरूले उनका बहिनीहरूलाई गत एक महिनादेखि भेट्न नदिएको समाचारसँग उक्त अफवाह जोडिएको थियो, जसले थप शङ्का उत्पन्न गरेको थियो ।

सिनेटर जिशानले भने, “उहाँलाई लगभग एक महिनादेखि एकान्तवासमा राखिएको छ । उहाँको परिवार, कानून व्यवसायी तथा पिटिआई नेतृत्वलाई समेत भेट्न नदिइनु अत्यन्तै दुःखद र मानवीय अधिकारको स्पष्ट उल्लङ्घन हो । उहाँलाई कुनै न कुनै सम्झौताको दबाबमा ल्याउन खोजिएको जस्तो देखिन्छ ।”

अफवाह अन्त्य गर्दै उनले भने, “पछिल्ला केही दिनमा हामीलाई आधिकारिक रूपमा आश्वासन दिइएको छ— इमरान खान जीवित हुनुहुन्छ, अदियाला जेलमै हुनुहुन्छ र उहाँको अवस्था स्थिर छ ।”

पाकिस्तान सरकारले कस्तो प्रकारको सम्झौता गर्न खोजिरहेको छ भन्ने प्रश्नमा सिनेटर जिशानले भने, “उहाँलाई देश छोडेर विदेशमा चुपचाप बस्न भनिएको छ । यदि उहाँ देश बाहिर बस्न सहमत हुनुभयो भने छुट दिन सकिने सङ्केत दिइएको छ । तर इमरान खानले कहिल्यै यस्ता शर्तहरू स्वीकार गर्नुहुन्न । उहाँको राजनीतिक विश्वास र स्वभावले यस्तो सम्झौता सम्भव नै छैन ।”

जेलमा भए पनि इमरान खानको प्रभाव घट्नुको सट्टा बढ्दै गएको सिनेटर जिशानको दाबी छ । उनले भने, “पिटिआईको जरो पाकिस्तानका युवाहरूमा अत्यन्त बलियो छ । इमरान खानको विचारधारा पुस्तौँ पुस्तासम्म प्रतिध्वनित हुन थालेको छ । कठिन परिस्थितिले असल नेतृत्वलाई अझ उजागर गरिरहेकाले पार्टीको भविष्य उज्ज्वल छ ।”

इमरान खानको कुनै फोटो वा भिडियो किन बाहिर नआएको भन्ने प्रश्नमा पनि सिनेटर जिशानले स्पष्ट पार्दै भने, “सत्ताधारीहरूलाई थाहा छ— एउटा मात्रै तस्बिरले पनि विशाल जनसमर्थन उत्पन्न गर्न सक्छ । यही डरका कारण उहाँको कुनै दृश्य सार्वजनिक हुन दिइएको छैन ।”

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : २१ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ