लहान नगरपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने « Khabarhub

लहान नगरपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस अभियानबाट हालसम्म हजारौँ विपन्न नागरिक लाभान्वित भइसकेका छन् ।

आँखा जाँच शिविरबाट पहिचान भएका मोतियाविन्दुका बिरामीको नगरपालिकाले निःशुल्क उपचार सेवा सुनिश्चित गर्दै आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरिरहेको हो । यसै क्रममा आज आयोजित निःशुल्क आँखा जाँच शिविरबाट १७५ जनाले सेवा पाएका छन् । लहान–२० र २१ मा सञ्चालित उक्त शिविरमा १७५ जनाले आँखा जाँच गराएका हुन् ।

आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार जाँच गरिएकामध्ये ५८ जनामा मोतियाविन्दु पत्ता लागेको छ । पहिचान भएका सबै बिरामीको निःशुल्क शल्यक्रियाका लागि नगरबसबाट सगरमाथा अस्पतालसम्म पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

संयोजक यादवले भने, “आजको शिविरबाट मोतियाविन्दुका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका ५८ जना बिरामी पहिचान भएका छन् । उहाँहरूको सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क उपचार गरिनेछ । विपन्नका लागि रु पाँच हजारदेखि रु १० हजारसम्म खर्च लाग्ने शल्यक्रिया निःशुल्क हुँदा उहाँहरूमा नयाँ उत्साह थपिएको छ ।”

लहान नगरपालिकाको २४ वटै वडामा तीन वर्षदेखि सञ्चालन गरिरहेको यस शिविरले विपन्न समुदायको आँखाको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याएको छ । शिविर संयोजक यादवले दिनुभएको हालसम्मको तथ्याङ्कअनुसार एक हजार ९०५ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सात हजार बिरामीलाई औषधि र तीन हजारलाई निःशुल्क चस्मा दिइएको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले विपन्न नागरिकको निःशुल्क आँखा जाँच र शल्यक्रियाका लागि नगरले हालसम्म रु २५ लाख खर्च गरेको जानकारी दिए । उनले आफ्नो कार्यकालमा आँखा रोगबाट पीडित कुनै पनि विपन्न समुदाय नरहने दाबी गर्दै यो वर्ष करिब एक हजार जनाको मोतियाविन्दुको निःशुल्क उपचार गर्ने योजना रहेको बताए ।

गाउँगाउँमा रहेका बिरामीको पहिचान गरी उपचार गर्ने नगरको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै नगरप्रमुख चौधरीले ‘दृष्टि नहुनेहरूका लागि लहान नगरपालिका सहारा बनेको’ बताए ।

लहान नगरपालिकाले थालेको यो प्रेरणादायी अभियान मधेस प्रदेशका अन्य स्थानीय तहमा समेत विस्तार भइरहेको छ । अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीका अनुसार लहानसहित सिरहा र सप्तरीका १७ वटा पालिकामा यस किसिमको शिविर तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ । लहान नगरपालिकाको यो कदमले अन्य पालिकालाई पनि विपन्नको स्वास्थ्य सेवामा लगानी गर्न प्रोत्साहन दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : ५९ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ