घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र « Khabarhub

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ्ग’ गर्ने र रोलिङ गर्ने काम  भइरहेको छ ।

अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीले जनाएको छ । 

घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भए पनि पहिलो चरणमा सौडीकुलादेखि गुर्जेखोलासम्मको काम सुरु गरेको कम्पनीका कन्ट्रयाक्ट म्यानेजर सुनिल ढुङ्गानाले बताए। उनका अनुसार सो क्षेत्रमा सडकमा पर्ने विद्युत्का खम्बालाई व्यवस्थापन गर्नका लागि विद्युत् कार्यालयलाई अनुरोध गरिएको छ ।

गत मङ्सिर १ गतेदेखि दुई स्काभेटर लगाएर काम सुरुवात गरिएता पनि अहिले भने एक दर्जन बढी सवारीसाधन, रोलिङ मेसिन र आवश्यकताअनुसार मजदुर थपगरेर कामलाई तीव्र रुपमा अगाडि बढाइएको छ ।

‘जति सक्यो छिटो काम सक्ने गरी अगाडि बढेको भन्दै सम्झौता मितिभन्दा अघि सक्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘त्योअनुसार हामीले काम अघि बढाएका छौँ ।’ अहिले माटो ‘फिलिङ्ग’ गर्ने र झाडीफाल्ने माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम भइरहेको छ ।

उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचबीचमा मेडिएन र दुवैतर्फ दुई-दुई लेनको हुने उनले बताए। त्यसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ भने अन्य स्थानमा चारलेन मात्रै हुनेछ । 

सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइने छ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । चार लेनकै कामको सहजताका लागि सडकखण्डकै बेलझुण्डी रङ्गशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गरिएको छ । 

पानीका लागि डिपबोरिङ र त्यही साइड अफिस राखिएको छ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको छ । निर्माणको प्राविधिक जिम्मा सडक डिभिजन कार्यालयले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिनतार मिसाएर कालोपत्र गरिनेछ । 

सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरि सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए । उनका अनुसार असारमा श्री दिवा–बन्दना भगवती जेभीसँग सम्झौता भएको हो । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक निर्माण हुनेछ ।

मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानको काम भएर गत फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ । यसअघि सडकमा ठेक्का लागे बीचमै अलपत्र छाड्दा आवतजावतमा समस्या हुनुका साथै यात्रुहरु निकै मारमा थिए । 

‘अहिले सडक निर्माणको कार्य दिनप्रति दिन निरन्तर अघि बढेकाले अब भने बाटो बन्छ भन्नेमा ढुक्क भएका छौँ’, सौडिकुला निवासी रामबहादुर चौधरीले भने। यसैबीच सडक डिभिजन कार्यालयले अहिले सडक निर्माणको काम भइरहेकाले सहजतापूर्वक यात्रा गर्न आम सवारीचालकलाई अनुरोध गरेको छ ।
 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : ४० बजे

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री