काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा शान्ति सुरक्षा कायम राख्न र हताहती नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिइएको खुलासा गरेका छन्।
गौरीबहादुर कार्की नेतृत्वको भदौ २३-२४ घटना जाँचबुझ आयोगमा दिएको बयानपछि आयोजित पत्रकार सम्मेलनमा लेखकले यो विवरण सार्वजनिक गरेका हुन्।
लेखकले भदौ २२ गते केन्द्रीय सुरक्षा समितिको बैठकअघि नै प्रधानमन्त्री ओलीको समय लिएर छलफल गरिएको बतताएका छन् ।
बैठकपछि सिंहदरबारबाट सिधै बालुवाटार गएर अनौपचारिक छलफल भएको पनि उनले बताएका छन् । जसमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि सहभागी रहेको उनले बताए। छलफलमा सुरक्षा निकायहरूबीच समन्वय कायम गरी शान्ति सुरक्षा व्यवस्था गर्ने निष्कर्ष निकालिएको थियो।
‘बालुवाटारबाट छुट्टिने बेला प्रधानमन्त्री र मैले सबै सुरक्षा निकायलाई समन्वयमा काम गर्न र कुनै पनि क्याजल्टी (हताहती) नहोस् भनेका थियौं,’ लेखकले बयानमा उल्लेख गरेका छन्।
उनले सुरक्षा निकायका प्रमुखहरूलाई त्यही अनुसार काम गर्ने निर्देशन दिइएको पनि बताएका छन्। भदौ २३ बिहान पनि नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा गृहसचिव गोकर्णमणि दवाडीलाई फोन गरेर ‘क्याजल्टी नहोस्, ख्याल गर्नू’ भनेको लेखकको भनाइ छ।
केन्द्रीय सुरक्षा समितिको बैठकमा लेखकले सुरक्षा निकायहरूलाई तीन मुख्य निर्देशन दिएका थिए । पहिलो, कुनै हताहती नहोस् र सावधानी अपनाउनू; दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षा व्यवस्था मिलाउनू; र तेस्रो, प्रदर्शन नेतृत्वविहीन हुन सक्ने र घुसपैठको सम्भावना भएकाले सतर्क रहनू। उनले बैठकमा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने कुनै योजना वा निर्णय नभएको पनि बताएका छन् ।
लेखकले प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षा गरिएको तर लोकतन्त्रविरोधी तत्वहरूले ‘हाइज्याक’ गरेर हिंसात्मक बनाएको आरोप लगाएका छन्।
‘जेन-जीका अगुवाहरूले नै सामाजिक सञ्जालबाट ‘हाम्रो आन्दोलन सफल भयो, यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ, साथीहरू घर फर्किनू’ भनेर सन्देश पठाएका थिए,’ उनले त्यो दिनको स्मरणमा भने। भदौ २३ गते नै अप्रिय रुपमा हिंसा भएपछि प्रधानमन्त्री ओली, रक्षामन्त्री र प्रधानसेनापतिलाई जानकारी गराएको लेखकले बताए ।
भदौ २३ गतेको घटनामा १९ जनाको ज्यान गएको, सयौं घाइते भएको थियो। त्यसपछि गृहमन्त्रीबाट उनले राजीनामा दिएका थिए ।
लेखकले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै प्रदर्शनकारीको अधिकार कुण्ठित गर्ने कुनै मनसाय नभएको स्पष्ट पारेका छन्। आयोगले अब पूर्वप्रधानमन्त्री ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
के भने लेखकले बयानमा ?
भाद्र २३ गतेको प्रदर्शनका बारेमा पनि मैले गृहमन्त्रीको हैसियतले त्यही गरेको हुँ। केन्द्रीय सुरक्षा समितिको बैठकमा आवश्यकता भन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय वा योजना भएको छैन । त्यसो गर्ने न कानूनी व्यवस्था छ, नत अभ्यास नै छ ।
सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रुपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो, समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्व विहीन हुन सक्छ । प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।
यस विषयमा सरकार प्रमुखसँग पनि परामर्श गर्नु उचित हुन्छ भनेर मैले बैठक गर्नु अघि नै सम्माननीय प्रधानमन्त्रीको समय लिएको थिएँ । बैठक सकिना साथ सिंहदरवार बाट हामी सिधै बालुवाटार गयौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखलाई भोलिको सुरक्षा व्यवस्थाको तयारीमा लाग्न भनेर बालुवाटार लगिएन ।
प्रधानमन्त्रीको उपस्थितिमा फेरि यस विषयमा अनौपचारिक छलफल भयो । जसमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पनि सहभागी हुनुहुन्थ्यो । सबै सुरक्षा निकायबीच समन्वय कायम गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने अनौपचारिक निष्कर्ष बन्यो ।
बालुवाटारबाट छुट्टिने बेला प्रधानमन्त्री र मैले सबै सुरक्षा निकायले समन्वयमा काम गरी सुरक्षाको राम्रो प्रबन्ध मिलाउनु होला र क्याजल्टी नहोस भनेका थियौं । सबै सुरक्षा निकायका प्रमुख प्रतिनिधि त्यही अनुसार काम गर्ने भनी बिदा हुनु भएको हो । भदौ २३ गते बिहान पनि मैले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकलाई फोन गरी क्याजल्टी नहोस् है, ख्याल गर्नु होला भनेको थिएँ, त्यही कुरा गृह सचिव गोकर्ण दवाडीसँग पनि भएको थियो ।
भदौ २३ गते बिहान माइतीघर मण्डलाबाट प्रदर्शन शुरु भयो । कैयौँ विद्यार्थी विद्यालयको पोशाकमै थिए । काठमाडौं जिल्ला प्रशासनबाट प्राप्त जानकारी अनुसार शान्तिपूर्ण प्रदर्शन हुन्छ भन्ने विश्वास आयोजकले दिलाएका थिए । तर प्रदर्शनमा व्यापक घुसपैठ भयो ।
जेन-जीको प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्वहरूले हाइज्याक गरे। संसद् भवन, नयाँ वानेश्वर परिसरमा हिंसात्मक घटना भएपछि जेन-जी अगुवाहरुले सामाजिक सञ्जाल मार्फत सन्देश पठाए ‘हाम्रो आन्दोलन सफल भएको छ । यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ । साथीहरु आआफ्नो घर फर्किनुस्’ । ‘धमिलो पानीमा माछा मार्न चाहने’ तत्वले जेन-जीको भावना माथि खेलेर सुनियोजित रुपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनायो । बानेश्वरमा प्रदर्शन उग्र एवम् हिंसात्मक हुन थालेको जानकारी पाउनासाथ मैले गृहमन्त्रीको हैसियतले सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापतिसमेतलाई जानकारी गराएको थिए ।
लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताका लागि लामो राजनीतिक जीवन व्यतित गरेको, नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यताबाट दीक्षित भएको कार्यकर्ता र संविधानमा यि विषय लिपीबद्ध गर्न कृयाशील रहेको व्यक्तिको रुपमा पनि नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक, विचार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता र आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित वा अवरोध गर्ने विषय मैले सोच्न पनि सक्दिनँ । भदौ २३ गते शान्तिपूर्ण ढंगले आफ्ना विचार राख्ने वा शान्तिपूर्ण प्रदर्शन हुने हाम्रो विश्वास थियो तर घटना त्यस्तो मनसायबाट प्रेरित देखिएनन् ।












प्रतिक्रिया