जेन-जी आन्दोलन : साहाराविहीन भयो सहिद थापाको परिवार « Khabarhub

जेन-जी आन्दोलन : साहाराविहीन भयो सहिद थापाको परिवार


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पालाई  श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउँछु, टिकट काटिसके भनेका थिए । अघिल्लो दिन काठमाडौँमा भएको जेन-जी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले त्यस दिनको अवस्था के छ भनेर पनि पुष्पाले श्रीमानलाई सोधेकी थिइन् ।

जवाफमा प्रहरी जवान थापाले आफू महाराजगञ्जस्थित प्रहरी वृत्त कार्यालयमै रहेको र अवस्था सामान्य भएको बताएका थिए ।

 ‘आज हिजोजस्तो तनावपूर्ण अवस्था छैन, तीन दिनपछि घर आउँछु, बसको टिकट काटिसकेँ, मेरो चिन्ता लिनुपर्दैन ‘, थापाले फोनमा भनेका थिए । 

तर थापाले भनेजस्तो भएन । दिन ढल्दै जाँदा काठमाडौँमा तनाव बढ्यो । प्रदर्शनकारीहरूले संसद् भवन जलाए, त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत पनि जले । प्रदर्शनकारीहरु महारागञ्जस्थित प्रहरी कार्यालयमा प्रवेश गरी प्रहरीमाथि कुटपिट गर्न थाले । कुटपिटका कारण प्रहरी जवान थापाको मृत्यु भयो ।
    
थापामाथि भएको कुटपिटको भिडियो केही समयमै सामाजिक सञ्जाल हुँदै श्रीमती पुष्पासम्म पुग्यो । यद्यपि पुष्पालाई श्रीमानलाई केही भएको छैन, जीवितै छन भन्ने लागिरह्यो । मृत्यु भइसक्यो भन्ने विश्वास नै गर्न सकिनन् । दार्चुला, लेकम गाउँपालिका–३ का थापा परिवारका जेठा सदस्य थिए । 

उनका भाइ महेशको केही महिना अघि महाकाली नदीमा धार्मिक काम सकेर घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि कान्छी बुहारीले घर छाडिन् ।

करिब एक दशकअघि श्रीमान् गुमाएकी निर्मलादेवीले पछिल्लो एक वर्षमा दुवै सन्तान गुमाइन् । थापाको मृत्युसँगै निर्मलादेवीको संसार उजाडिएको छ । उपचार गराइरहनुपर्ने बिरामी शरीर र सन्तान गुमाउनु पर्दाको पीडामा उनले आफूलाई सम्हालन सकेकी छैनन् । एक वर्षअघि सम्म पाँच जनाको सुखी परिवार सासू र बुहारीमा मात्रै सीमित भएको छ । परिवारको आशा र भरोसा मानेका दुवै छोराले संसार छाडिसकेका छन् ।

आमा र श्रीमतीले उत्तमको शव पनि हेर्न पाएनन् । घटनामा थापाको मृत्यु भएको पुष्टि भएपछि सासूलाई लिएर पुष्पा काठमाडौँ आउने तयारी गरेकी थिएन । तर अवस्था प्रतिकूल बन्यो । थापाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो । काका रुपसिंह थापाले महेन्द्रनगरमै किरिया गरे । श्रीमती पुष्पा काठमाडौँ आउन पाइनन् । त्यो समयमा आमा निर्मला भने लालीमै अड्किइन् । 

प्रहरी जवान थापाले गाउँमै रहेको कृष्ण माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए । त्यसपछि प्रहरीमै कार्यरत काका रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काममा लगाएका थिए  । 

विसं २०७३ सालमा प्रहरीमा भर्ना भएका थापाको प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङ भएको थियो  । लामो समय धनगढीमै बिताएपछि उत्तमको केही महिनाअघि मात्रै काठमाडौँ सरुवा भएको थियो । उनले ऋणधन गरेर धनगढीमा १० धुरजति जग्गा किनेका थिए, त्यसमा केही समयपछि घर बनाउने सपना पनि बुनेका थिए । तर जग्गा किनेको ऋण नसकिँदै घर बनाउने सपना पनि तुहियो ।

थापाका साला नारायण भट्टराईले भने, ‘भिनाजुको निधनपछि दिदी र आमा अहिले साहाराविहीन हुनुभएको छ, आमाको उपचार चलिरहेको छ, भिनाजुको मृत्यु भएपछि मैले उहाँहरुलाई सहयोग गरिरहेको छु, मैले पनि कहिलेसम्म सहयोग गर्न सक्छु थाहा छैन ।’

उनले आफू केही महिनाअघि विदेशबाट फर्किएकाले अब फेरि पनि त्यतै जाने तयारी गरिरहेको सुनाए।

थापालाई सरकारले सहिद घोषणा गरिसकेको छ । परिवारलाई केही रकम पनि उपलब्ध गराइसकेको छ । आर्थिक रुपमा केही सहयोग गरे पनि परिवार भने उजाडिएको छ । थापाकी श्रीमती पुष्पा श्रीमान्को हत्या गर्नेविरुद्ध कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्छिन् । 

सरकारले थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ । साथै आफूलाई पनि सानो भए पनि जागिर उपलब्ध गराउनुपर्ने पनि उनको माग छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : २३ बजे

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल

गोरखा– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले