रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ? « Khabarhub

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?



काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन्द्र साह ‘बालेन’ शनिबार राति ७ बुँदे सहमति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरे ।

विगतमा पेशाले स्ट्रक्चरल इञ्जिनियर र गायन पेशामा रहेका साहले ०७९ को स्थानीय निर्वाचनअघि केही टेलिभिजन, अनलाइन र युट्युबलाई अन्तवार्ता दिएका थिए । तर, महानगरको प्रमुखमा विजयी भएपछि भने उनी आमसञ्चार माध्यमसँग कुराकानी नै गर्न चाहेनन् ।

निर्वाचनअघि चुनावी घोषणापत्र जारी गरेका साहले कति काम गरे, गरेनन्, वा गर्नसके वा सकेनन् त्यो एउटा समीक्षाको विषय छ । तर, अहिलेसम्मको कार्यकालमा उनले वडाध्यक्षहरूसँग सहकार्य र संवाद गरेपनि आमजनता वा आफ्नै मतदातासँग भने त्यति संवाद गरेनन् ।

एउटा विशिष्ट प्रकारको भेषभुषा र कार्यशैली प्रदर्शन गरेका उनी अब एउटा लोकतान्त्रिक मूल्य मान्यता र विचार बोकेको र सो विधिलाई स्वीकार गर्ने पार्टीमा सहभागी भएका छन् । महानगरको प्रमुख पदमा रहँदा सीमित व्यक्तिहरूसँगको सहकार्य र सल्लाहमा रहेर काम गरेका उनले अब एउटा लोकतान्त्रिक पार्टीमा आफूलाई नेतृत्वको रूपमा अघि बढाउँदैछन् ।

त्यतिमात्रै होइन, रास्वपासँग गरेको सहमतिअनुसार साह सो पार्टीको तर्फबाट आगामी निर्वाचनपछिको संसदीय दलको नेता अर्थात् प्रधानमन्त्रीको उम्मेदवार समेत हुन् ।

तर, लोकतान्त्रिक कोणबाट राज्यको चौथो अंगको रूपमा मान्यता दिइएको आमसञ्चार, आफ्नै मतदाता र आम मानिसहरूसँग संवाद गर्न नचाहने साहले अब आफूलाई एउटा लोकतान्त्रिक पार्टीमा कसरी अगाडि बढाउलान् ? आफूलाई लोकतान्त्रिक प्रतिस्पर्धाको बीचबाट कसरी नेतृत्वको रूपमा स्थापित गर्लान् वा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यकारी नेतृत्वसम्म कसरी पुग्ने प्रयत्न गर्लान ?

यो धेरैको लागि निकै चासोको विषय बनेको छ ।

बालेनले जनतासँग संवाद नगरेपनि अधिकार केन्द्रित गरेनन्

बालेनले काठमाडौं महानगरपालिकामा झण्डै ४ वर्ष कार्यकाल पूरा गर्न लागेका छन् । सो अवधिमा आमसञ्चार र जनतासँग संवाद नगरेपनि उनले अधिकार केन्द्रीकृत नगरेर विसकेन्द्रीकरणको प्रयास गरेको वडा अध्यक्षले बताएका छन् । तर, राजनीतिक कोणबाट भने कतिपय व्यक्तिहरूको फरक धारणा पनि आउने गरेको छ ।

महानगर अन्तर्गत वडा नं. ३ का वडाध्यक्ष प्रेम थापाका अनुसार बालेनले वडास्तरको सम्पूर्ण अधिकार वडालाई नै दिएर काम गरे । जसले गर्दा महानगरवासी अधिकांश विषयमा नगर प्रमुखसँग ठोक्किनपर्ने अवस्था नै सिर्जना भएन ।

तर, कतिपय अवस्थामा जनताले कुनै समस्यालाई लिएर नगरप्रमुखलाई भेट्न चाहँदा पनि उनले समस्याको समाधानको लागि आफैलाई नै जिम्मेवारी दिएको उनले वडाध्यक्ष थापाले बताउँछन् ।

‘जनतासँग वडा नै जोडिने भएकोले गर्दा वडालाई अधिकार दिनुपर्छ, जिम्मेवार बनाउनपर्छ भन्ने कुरामा उहाँ सधैँ सकारात्मक हुनुभयो, कुनै हस्तक्षेपकारी भूमिका पनि उहाँले खेल्नुभएन’, उनले भने, ‘हामीले उद्घाटन शिलान्यासजस्ता काममा फजुल समय खर्च गर्थ्यौँ त्यो पनि उहाँले गर्नुभएन, वडा अध्यक्षलाई नै त्यसको जिम्मेवारी दिनुभएको देखिन्छ ।’

महानगरभित्र पहिचानको क्षेत्रमा काम गर्ने, शिक्षा र पूर्वाधारको क्षेत्रमा बालेनले सकारात्मक ढंगले काम गरेको पनि वडा अध्यक्ष थापाले बताए । बालेनको काममा प्रशंसा गर्दै उनले आम मानिसहरूले भने भेट गर्ने पहुँच नपाएको सत्य भएको उनले बताए ।

‘उहाँले कसैसँग भेटघाट गर्नुभएन, उहाँले भेटघाट गर्ने भनेको कार्यपालिकाका सदस्य, महाशाखाका प्रमुखहरू र हामी वडा अध्यक्षसँग नै हो, केन्द्रिकृत भन्दा विकेन्द्रीकृत रूपमा काम गरौँ भन्ने उहाँको सोचाइ हो’, उनले भने, ‘खासमा त प्रमुखसँग प्रत्यक्ष रूपमा भेट गर्नपर्ने काम त्यति हुँदैन तरपनि कतिपयले हामी पनि भेट गरेर कुरा राख्छौँ भनेर हामीसँग अनुरोध गर्दा पनि उहाँले हामीलाई त्यो कामको अधिकार दिनुहुन्थ्यो ।’

महानगरका प्रवक्ता तथा नवीन मानन्धरले महानगरका प्रमुख बालेनले महानगरमा राम्रो काम गरेकै कारण मुलुकको प्रधानमन्त्रीका लागि स्वीकार्य भएको प्रतिक्रिया दिएका छन् । ‘महानगरको मेयर नेपालकै मेयर भएको अवस्था छ, देशमा मात्र होइन विदेशमा पनि चर्चित छ, यस्तो व्यक्ति प्रधानमन्त्री हुँदा त राम्रो हुन्छ नि’, उनले भने ।

प्रवक्ता मानन्धरले बालेनले प्रधानमन्त्री हुँदा देशलाई राम्रो गर्नसक्ने समेत बताए । तर, बालेनको व्यक्तिगत स्वभावमा भने उनले आफूले टिप्पणी नगर्ने बताए ।

‘लोकतन्त्रमा जनतासँग संवाद न्यूनतम सर्त हो’

धेरै चरणको छलफलपछि रास्वपामा सहभागी हुने सहमति गरेका बालेनले अहिलेसम्म समझदारी सार्वजनिक गर्नेबाहेक थप विषयमा विचार सार्वजनिक गरेका छैनन् । आजको दिनमा पनि उनीसँग आमसञ्चारको तर्फबाट विचार तथा टिप्पणी लिने अवस्था बनेको छैन ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले लोकतन्त्रमा राजनीतिक नेतृत्वले जनतासँग संवाद गर्नुपर्ने न्यूनत शर्त रहेको बताउँदै सो विषय अहिलेसम्म बालेनमा कमि देखिएको भनेर टिप्पणी गरेका छन् ।

‘लोकतान्त्रिक प्रणालीमा राजनीतिक पार्टी र राजनीतिक नेतृत्वले विचार र दृष्टिकोण लिएर जनतासमक्ष जान्छन्, जनतासँग संवाद गर्छन्, अन्तरक्रिया गर्छन्, जनताप्रति उत्तरदायी हुन्छन्, जनताप्रति उत्तरदायी भएर काम गर्छन्’, उनी भन्छन्, ‘लोकतन्त्रमा राजनीतिक नेतृत्वले अनुसरण गर्नुपर्ने न्यूनतम् लोकतान्त्रिक विधि, प्रक्रिया र कार्यशैली हुन्, तर जुन नेताले जनतासँग संवाद गर्दैन, जनताको कुरा सुन्दैन त्यस्तो नेता वा पार्टी लोकतान्त्रिक हुँदैन ।’

साथै, उनले कुनै व्यक्तिले लोकतान्त्रिक पद्दतीअनुसार काम गर्न चाहेको छ भने उसको अनिवार्य र पहिलो सर्त भनेको जनतासँग संवाद भएको बताए । साथै, उनले अब बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता नै प्रस्तावित भएको अवस्थामा भने उनको विचार के हो सार्वजनिक हुनुपर्ने र कार्यशैली लोकतान्त्रिक हुनुपर्ने बताए ।

‘जहाँसम्म बालेनको प्रसंग छ, महानगरको प्रमुखमा निर्वाचित भएदेखि अहिलेसम्म उहाँले सार्वजनिक संवाद गर्नुभएको छैन, मिडियासँग संवाद गर्नुभएको छैन, उहाँका निर्णय प्रक्रिया पनि अलोकतान्त्रिक देखिएको छ,’, उनी भन्छन्, ‘अब उहाँ रास्वपाको तर्फबाट भावी प्रधानमन्त्री र संसदीय दलको नेता भनेर भनिसकेपछि उहाँको संविधानप्रतिको दृष्टिकोण, आर्थिक दृष्टिकोण के हो ? भ्रष्टाचार नियन्त्रणसम्बन्धी लगायत जतिपनि ज्वलन्त मुद्दा छन् ती विषयमा दृष्टिकोण आउनुपर्‍यो ।

‘साथै, ती दृष्टिकोण लिएर उहाँ जनतासमक्ष जानुपर्यो, त्यसपछि जनतासँग संवाद गरेपछि आफूलाई सुधार पनि गर्नुपर्‍यो, लोकतान्त्रिक नेतामा हुनुपर्ने यही नै हो’ उनले भने, ‘अहिलेसम्म उहाँमा यो प्रकारको कार्यशैली देखिएको थिएन ।’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ४५ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२