कुलमानले मागे रास्वपामा दोस्रो वरीयता र २५ प्रतिशत भाग, बालेन तयार हुँदा रवि मानेनन् « Khabarhub

कुलमानले मागे रास्वपामा दोस्रो वरीयता र २५ प्रतिशत भाग, बालेन तयार हुँदा रवि मानेनन्



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच अहिले निर्णायक वार्ता भइरहेको छ ।

तीनै समूहलाई एउटा रास्वपा बनाएर जान यी नेताहरूबीच संवाद भइरहेको छ। समानुपातिक सूचीका लागि निर्वाचन आयोगबाट निस्सा लिइसकेकाले मंगलरबा बिहानसम्म एक बनाएर जान जेन-जी अभियान्ता सुदन गुरुङले दबाब दिइरहेका छन् । उनले तीनटा नेतालाई कमलपोखरीको एक घरमा राखेर वार्ता गराइरहेका छन् ।

सुदन गुरुङको सचिवालयका एक सदस्यले खबरलाई बताएअनुसार अन्तिम चरणमा निर्णायक वार्ता चलिरहेको छ । त्यसकै लागि कुलनमानलाई सुदनले बौद्धस्थित बैठकस्थलबाटै उठाएर आफ्नै गाडीमा ल्याएका थिए ।

अन्तिम प्रयास भइरहँदा कुलमानले रास्वपामा सभापति रवि लामिछाने पछाडिको वरीयता मागेका छन्। अहिले त्यो वरीयता बालेन्द्र साहलाई दिइएको छ।

उनले मागेको वरीयता दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र तयार छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने तयार छैन।

कुलमान आएमा दोस्रो वरीयताका बालेन तेस्रोमा धकेलिने छन् । उता रविका सहयोगी डीपी अर्याल चौथो र स्वर्णिम वाग्ले पाँचौँ वरीयतामा धकेलिनेछन्। त्यहीकारण रविले कुलमानलाई आफूपछिको वरीयता दिन नमानेका हुन् ।

‘कुलमानलाई मिलाएर जाने पक्षमा बालेन दाइ लोयल हुनुहुन्छ । रविपछिको आफ्नो हैसियत कुलमानलाई दिएर अगाडि बढ्न उहाँलाई समस्या छैन’, गुरुङका एक सहयोगीले खबरहबलाई भने, ‘त्यो पद दिन रास्वपा सभापति लामिछाने र उपसभापति अर्याल तयार हुनु भएन । कुलमानले निर्वाचनपछि प्रधानमन्त्रीमा आकांक्षा राख्नुभएको होइन । तर पार्टीमा सभापतिपछिको वरीयता सुरक्षित हुनुपर्छ भन्नुभएको हो।’

यतिखेर सुदन र बालेन दोस्रो वरीयता दिनका लागि पार्टी रविलाई दबाब दिइरहेका छन्। लामिछाने पनि अन्तिम समयमा कुलमानलाई दोस्रो वरीयता दिन तयार हुने एक नेताले बताएका छन् ।

‘हामीले त बहुमत नै आउँछ भने डीपी दाइ लगायत अरुको कुरा नसुन्नु भनेको हो सभापतिलाई’, ती नेताले भने, ‘कुलमान दायलाई दोस्रो वरीयता दिएर बालेनलाई तेस्रोमा राखौँ। अरु दुई उपसभापतिलाई अन्य केहीमा मिलाऊँ भनिरहेका छौं ।’

कुलमानको सर्त : वरीयता नदिए पार्टीको नाम र चुनाव चिह्न हाम्रो राखौँ

उता कुलमानले आफूलाई रविपछिको वरीयता नदिने भए पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिह्न चिम राखेर अगाडि बढ्नुपर्ने अडान राखेका छन्।

निर्वाचनपछि बहुमत आएमा आफूले प्रधानमन्त्री नमाग्ने उनले बताएका छन् । रास्वापाले दोस्रो वरीयता नदिए पार्टीको नाम र चुनाव चिह्न आफ्नो हुनुपर्ने अडान कुलमानले राखेको उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार बहुमत आएमा प्रधानमन्त्रीको एक वर्षे कार्यकाल बालेन कुलमानलाई दिन तयार छन । ‘बालेनजीले त मिलेर जाऊँ, प्रधानमन्त्रीको एक वर्षे कार्यकाल दिन तयार छु भन्नुभएको हो । तर कुलमानले पार्टीमा दोस्रो वरीयता दिनु भन्नुभएको छ’, उज्यालो नेपालका ती केन्द्रीय सदस्यले भने, ‘हामीले त कुलमान दाइलाई त्यसरी अगाडि नबढौँ भनेका छौँ । दाइले रास्वापामा दोस्रो वरीयता पाउने भए जान्छु भन्नुभएको छ।’

पद दिन तयार बालेन हिस्सा दिन मानेनन्

पार्टीमा दोस्रो वरीयता छोड्न तयार बालेन्द्रले कुलमानलाई पार्टीको २५ प्रतिशत नदिने अडान राखेका छन्। ५० प्रतिशत भाग राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने बालेनले ३० प्रतिशत लिने र कुलमानलाई २० प्रतिशत मात्रै हिस्सा दिने गरी बालेनले कुरा अगाडि बढाएका छन् ।

भर्खरै समानुपातिकको बन्दसूचीमा नाम पठाउँदा पनि कुलमान पक्षको नेताहरूको २० प्रतिशत, बालेन पक्षको ३० प्रतिशत र राष्ट्रिय स्वतन्त्र पार्टीको ५० प्रतिशत हिस्सा हुनुपर्ने तर्क राखिएको छ।

‘कुलमान दाइको देशव्यापी रूपमा संगठन । बालेनको संगठन छैन। उहाँले ३० प्रतिशत लिएर र २० प्रतिशत मात्रै दिने भन्नुभएको रहेछ, यो त मान्य हुँदैन’, कुलमानले बैठकमा बताएकोबारे उज्यालो नेपालका एक सदस्यले भने, ‘बालेनसँगै आफूलाई पनि ३० प्रतिशत नै हुनुपर्ने अडान कुलमान दाइले राख्नुभएको छ।’

कुलमानको माग भने आफूलाई पनि २५ प्रतिशत हुनुपर्ने छ । बालेनलाई पनि २५ प्रतिशत हिस्सा हुनुपर्ने उनको अडान छ।

‘मध्यमार्गी बाटोमा जाँदा कुलमान दाइले उज्यालो नेपाल र बालेनलाई २५-२५ प्रतिशत हिस्सा हुनुपर्छ भन्ने कुरा राख्नुभएको छ’, सुदन गुरुङनिकट स्रोतले भन्यो, ‘हामीले पनि कुलमान दाइलाई दोस्रो वरीयता दिएर २५ प्रतिशतसहित रास्वपामा ल्याऊँ भनेका छौँ।’

स्रोतका अनुसार कुलमान पक्षले समानुपातिकमा छुट्टै सूची बनाइसकेको छ । उसले निर्वाचन आयोगबाट निस्सा पनि लिइसकेको छ। मिलेर जाने अवस्थामा तिनै नाम छनोट गरेर रास्वपामा मिसाइने छ।

उता अनुसार बालेनले पनि आफ्ना टीमका समानुपातिकका उम्मेदवारको सूची तयार पारिसकेका छन्। यता रास्वपाले भोटिङ प्रणालीमार्फत नेताहरू छानिसकेको छ ।

जेन-जी भन्छन् : कसरत जारी छ

काउन्सिल अफ जे-नजीका नेता उपार्जुङ राई अन्तिम अवस्थामा तीन नेता मिलाउन सुदनले भूमिका खेलिरहेको बताउँछन्। उनी नयाँ शक्तिहरू मिल्नु अपरिहार्य भएको बताउँदै तीनै नेता एक भएर अगाडि बढ्ने कुरामा विश्वस्त छन्।

‘हामी तीन नेता एक भएर अगाडि बढ्ने कुरामा विश्वास त छौं । यसका लागि कसैकसैले थोरबहुत त्याग गर्न सक्नुपर्छ’, राईले भने, ‘देशको चौथो शक्ति ले यसमा थोरै लचिलो भइदेओस् भन्ने हामीलाई लागेको छ ।’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ५६ बजे

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : ‘विश्वासको सम्मान’

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना