तीनकुनेमा हिंसा मच्चाएपछि भागेका प्रसाईं काठमाडौंमै, भने- संसद् र एयरपोर्ट कब्जा गर्ने योजना थियो (भिडियोसहित) | Khabarhub Khabarhub

तीनकुनेमा हिंसा मच्चाएपछि भागेका प्रसाईं काठमाडौंमै, भने- संसद् र एयरपोर्ट कब्जा गर्ने योजना थियो (भिडियोसहित)


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्म र राजा फर्काउने अभियान चलाइरहेका विवादित व्यक्ति दुर्गा प्रसाईं शुक्रबार तीनकुनेमा २ जनाको ज्यान जाने गरी भएको घटनापछि बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्र आफैं गाडी हाँकेर तोडेपछि आन्दोलनको मैदानमा नदेखिएका प्रसाईं तीनकुनेस्थित एक घरको सटरभित्र लुकेका थिए ।

प्रसाईं सवार गाडी प्रहरीले उठाएपछि उनी आन्दोलनको मैदानमा देखिएनन् । केहीबेर तीनकुनेको मञ्चचमा उक्लिएर कराएका उनी भिड अनियन्त्रित्र भएर हिंसातर्फ गएपछि लुक्न पुगेका थिए ।

प्रहरीले उक्त स्थानमै ताकेर गोली हानेकाले आफू लुक्न बाध्य भएको जिकिर उनले गरेका छन् । आइतबार ५ मिनेट ५८ सेकेन्ड लामो भिडियो सन्देश जारी गर्दै उनले शुक्रबारको आफ्नो योजना पनि सुनाए ।

राजा ल्याउने भन्दै उतारिएको समूह अराजक बन्दै आगजनी र तोडफोडमा उत्रिएपछि आफूले रोक्न खोजेको जिकिर पनि उनले गरेका छन् । आफैं गाडी हाँकेर ठिमीबाट आएका उनले मुखमा आएजति छाडा बोलिरहेको भिडियोसमेत अहिले भाइरल भइरहेको छ ।

आफूलाई कट्टर हिन्दुवादी बताउने उनी गाडी चलाउँदै प्रहरीलाई किच्ने शैलीमा अघि बढ्दा मुख छाडिरहेका थिए । नानाभाँती भन्दै अघि बढेका उनले तीनकुनेमा प्रहरीका ब्यारिकेट तोडेका थिए भने प्रहरीलाई समेत ठेल्दै अघि बढेका थिए ।

हिन्दु धर्मका अभियन्ता बताउने उनी शब्दैपिच्छै अपशब्द बोलिरहँदा अरुलाई पनि असहज भएको थियो । तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको मृत्यु हुने गरी भएको घटनाको सबै दोष उनले सरकार र सुरक्षाकर्मीमाथि थोपरेका छन् ।

‘तीनकुनेमा मैले आन्दोलन शान्तिपूर्ण हुनुपर्छ भनिरहेको थिएँ । हामी सम्यमित नै थियौँ’, उनले भनेका छन्, ‘तर अत्यधिक बल प्रयोग भएपछि माहोल बिग्रियो । प्रहरीले घरघरमा पसेर अश्रुग्यास हान्यो । त्यहीकारण दुईजना भाइहरूले पनि ज्यान गुमाए ।’

उनले तीनकुनेबाट आफू नभागेको पनि जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा‌ ओलीले भेटेको ठाउँमा गोली हान्नु भन्ने आदेश दिएका कारण ज्यान जोगाउन काठमाडौंमै लुकेर बसेको पनि उनले बताए ।

‘म भागेर कहीँ कतै गएको छैन । काठमाडौंमै छु । भाग्ने व्यक्ति होइन म’, उनले भनेका छन्, ‘म यहीँ काठमाडौंको कुनै मन्दिरमा बसिरहेको छु ।’

कुनै बेलाका कट्टर माओवादी प्रसाईं त्यसपछि एमाले हुँदै राजावादी बनेका छन् । उनलाई बिहीबार नै पूर्वराजा ज्ञानेन्द्र शाहले भेटेपछि आन्दोलनको जनकमान्डर नै बनाइयो ।

राजावादी र पूर्वराजाका उनै जनकमान्डर प्रसाईंले उक्त भिडियोमा अर्को खुलासा गरेका छन् । प्रसाईंले शुक्रबार निजी घर र सम्पत्तिमा आक्रमण गर्नेभन्दा एयरपोर्ट र संसद् भवन कब्जा गर्ने आफूहरूको योजना रहेको खुलाएका छन् ।

‘मैले निजी सम्पत्तिमा आक्रमण नगर्न पटक पटक भनेको थिएँ’, उनले भिडियोमा भनेका छन्, ‘त्यसदिन हाम्रो उद्धेश्य संसद् ‍भवन र विमानस्थल क्षेत्र कब्जा गर्नु थियो ।’

प्रसाईंको यो भनाइलाई पुष्टि गर्ने गरी राजावादीहरूले त्रिभुवन विमानस्थलको पश्चिमी क्षेत्रमा आगोसमेत लगाए । विमानस्थल भन्सारभन्दा उत्तरतर्फ नागरिक उड्ययन प्राधिकरणको कार्यालय अगाडिको क्षेत्रमा आगो झोसिएपछि हवाई उडान अस्तव्यस्त भएको थियो ।

आगो सल्काइएपछि घण्टौँसम्म उडान प्रभावित भयो । उक्त आगो निभाइसकेपछि मात्रै जहाज उडान र अवतरण खोलिएको थियो ।

संसद् भवनको सन्दर्भमा प्रसाईं आफैं गाडी हाँक्दै तीनकुनेबाट अघि बढेका थिए । सुरक्षामा तैनाथ प्रहरीलाईसमेत कुल्चिने गरी गाडी दौडाएका उनी बानेश्वरतर्फ अघि बढ्न चाहन्थे। तर बानेश्वरस्थित संसद्‍ भवन भएको क्षेत्रतर्फ बढ्ने उनको प्रयासलाई प्रहरीले सफल हुन दिएन ।

प्रसाईंले हाँकेको गाडीको अगाडिको शिशा फुटाएपछि प्रहरीले त्यहीँ रोकेको थियो । प्रसाईंलाई गाडीबाट निकालेको प्रहरीले अवस्थालाई नियन्त्रणमा लिने कोशिश गरेको थियो । केही युट्युबरसमेत बोकेका प्रसाईंलाई निकालेपछि प्रहरीले उक्त गाडी अर्को गाडीमा हालेर लगेको थियो ।

उनले यही सन्दर्भमा आफू काठमाडौंमै बसेर सरकार र प्रहरीलाई खुल्ला चुनौती पनि दिएका छन् । शुक्रबार तीनकुनेबाट भागेका उनी त्यहाँबाट गुरुसमेत मान्ने पुष्कर खतिवडाको इमाडोलस्थित घरमा पुगेका थिए ।

ढुंगामुढामा आफैं उत्रिएका गेरुवस्त्रधारी खतिवडाको घरमा बसेपछि प्रसाईं त्यहाँबाट भूमिगत शैलीमा भागेका थिए । अहिले उनले आफू काठमाडौंको कुनै मन्दिरमा सुरक्षित बसिरहेको दाबी गरिरहेका छन् ।

तर, आफूले प्रयोग गर्ने मोबाइल फोन अफ गरेर बसेकाले प्रहरीले उनको लोकेशन पत्ता लगाउन नसकेको जनाएको छ । अरु राजावादीहरू धमाधम समातिँदा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले गरेको आलटालले थप अरू प्रश्न पनि जन्माएको छ ।

उता उनका गुरुसमेत रहेका खतिवडालाई भने प्रहरीले शुक्रबार राति नै इमाडोलस्थित घरबाटै समातिसकेको छ । शुक्रबार गेरु वस्त्र पहिरिएर, निधारमा चन्दन र टीका लगाएर तीनकुने आएका उनीसमेत हिंसा भड्काउन उद्यत थिए ।

उनले उक्त वस्त्रमै प्रहरीमाथि ढुंगा बर्साए । धर्मका नाममा कलंकित हुन पुगेका खतिवडा अहिले प्रहरीको हिरासतमा छन् । उनले तीनकुनेमा ढुंगा हान्दै गर्दा छेवैबाट धर्मगुरु त्यसो नगर्नू भनेर सुझाव दिइरहेका थिए । तर प्रसाईं जस्तै अराजक उनी पनि नरोकिई प्रहरीमाथि ढुंगा हान्न लागिरहे ।

अहिलेसम्म प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र श्रेष्ठ, आफूलाई अधिवक्ता बताउने स्वागत नेपाल, पुष्कर खतिवडा र राप्रपा सांसद धवलशमशेर जबरा पक्राउ परेका छन् । जनआन्दोलन संयोजन समितिका संयोजक नवराज सुवेदी घरमै थुनिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ३० बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक