आलोकनगरमा राजावादीको आतंक : घरभित्र झण्डै जलेका पौडेलको वयान | Khabarhub Khabarhub

आलोकनगरमा राजावादीको आतंक : घरभित्र झण्डै जलेका पौडेलको वयान

‘अराजक जत्थाले डेढ घण्टासम्म ढुंगा हान्दा पनि प्रहरी आएनन्’



काठमाडौं– तीनकुनेस्थित एउटा निजी भवनभित्रै पसेर एकजना पत्रकारको मृत्यु हुने गरी शुक्रबार राजावादीहरुले किन आगजनी र तोडफोड गरे ? दुर्गा प्रसाई लगायतका राजावादीको तर्क के छ भने उक्त घरमा प्रहरी तैनाथ थिए, त्यसैले त्यहाँ तोडफोड भएको हो ।

राजावादीले भनेजस्तै उक्त घरमा प्रहरीहरु थिए या थिएनन् ? यसको सत्य–तथ्य बिस्तारै बाहिर आइरहेकै छ । देशको सुरक्षाकर्मी आवश्यक पर्दा जहाँसुकै प्रवेश गर्न पाउने उनीहरुसँग अधिकारसमेत रहेकै हुन्छ ।

तर, यहाँ प्रशंग तीनकुनेमा रहेको त्यो निजी घरको होइन, जहाँ पत्रकार सुरेश रजकलाई जलाएर मारियो । यहाँ चर्चा गर्न खोजिएको चाहिँ अर्कै घरको हो । अर्थात् तीनकुनेस्थित बागमती पुल नजिकै आलोकनगरमा रहेको एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको प्रशंग हो यो । यो घरमा पनि डेढ घण्टाको आक्रमणपछि राजावादीहरुले आगो लगाएका थिए ।

आगो लागेका बेला एकीकृत समाजवादीका दुई कार्यकर्ता घरभित्रै थिए । आगो लाग्नासाथ प्रहरी नपुगेको भए त्यहाँ पनि तीनकुनेमा जस्तै घरभित्र जलेर मानवीय क्षति हुन सक्थ्यो ।

माधव नेपाल नेतृत्वको दलको उक्त पार्टी कार्यालयमा प्रहरीहरु थिएनन् । त्यहाँबाट राजावादीलाई अश्रुग्यास पनि हानिएको थिएन । कार्यालय सुनसान र शान्त थियो । तर, त्यहाँ राजावादीहरुले किन डेढ घण्टासम्म तोडफोड गरे ? घरभित्रै कार्यकर्तालाई थुनेर किन आगो लगाए ? सरकारमै नरहेको दलमाथि राजावादीहरुको यस्तो मूर्खतापूर्ण र जघन्य आक्रमण किन ? यो प्रश्नको जवाफ न दुर्गा प्रसाईले दिएका छन्, न त संसदमा आक्रोश पोखिरहेको राप्रपाले नै दिन सकेको छ ।

हुन त कथित विद्रोहका आयोजक दुर्गा प्रसाई र त्यसको सहयोगी दल राप्रपाले भाटभटेनी सुपरमार्केटबाट पनि किन रक्सी, फलफूल, आइफोन र फ्रिज लुटेर लगियो भन्ने प्रश्नको पनि जनतालाई जवाफ दिन सकेको छैन । जबकि भाटभटेनीबाट प्रहरीले राजावादीमाथि अश्रुग्यास हानेका थिएनन् । उता जटिबुटीस्थित सरकारी कार्यायलमा पनि विनाकारण नै राजावादीले आगजनी थिए, त्यसको पनि आयोजकहरुले कारण बताउन सकेका छैनन् ।

चैत १५ गते राजावादीले आन्दोलनको नाममा देखाएको गतिविधिको सर्वत्र आलोचना र निन्दा भइरहेकै छ । आगो लगाएर मान्छेको ज्यान लिएको, सार्वजनिक एवं निजी सम्पत्तिमाथि ध्वंसात्मक आक्रमण भएको र लुटपाटको माध्यमबाट राजनीतिको नाममा अपराधकर्म गरिएको आरोप राजावादीमाथि लागेको छ ।

अचम्म त के छ भने यो कार्यक्रम राप्रपाले आयोजना गरेको होइन भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसमेत शुक्रबारको घटनाको बचाऊमा तर्क गरिरहेका छन् ।

तर, राजावादीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालयमा अकारण, कसरी गुण्डागर्दी मच्चाएका होलान् ? यसबारे बुझ्न आइतबार खबरहबकर्मी आलोकनगर पुग्दा आगो लगाइएको घरभित्रै रहेर बाँच्न सफल कार्यकर्तासँग भेट भयो ।

तीनकुनेस्थित बागमती पुलनजिकैको ओरालोबाट अलिकति अगाडि रहेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शुक्रबार दिउँसो सुनसान थियो । किनभने, सबै नेता कार्यकर्ताहरु भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको जनसभामा सहभागी हुन गएका थिए, जहाँ प्रचण्ड र विप्लवसँगै माधव नेपालले पनि भाषण गरेका थिए ।

भृकुटीमण्डपमा गणतन्त्रको पक्षमा सभा आयोजना गरिएको थियो, जसको एउटा मुख्य आयोजकमध्ये एकीकृत समाजवादी पनि थियो । भृकुटीमण्डपमा कार्यक्रम रहेकाले गर्दा दिउँसो पार्टी कार्यालयमा लेखा प्रमुख र कार्यालयका सहसचिव मात्रै थिए । तर, उनीहरु पनि फरक–फरक भवनमा थिए ।

बिहानैदेखि तीनकुनेमा राजावादीहरू प्रदर्शनका जुटिरहेका थिए, जसलाई पार्टी कार्यालयको चौथो तलाबाट लेखा प्रमुख खेमराज पौडेलले बेलाबेलामा हेरिरहेका थिए । उनका अनुसार उनले हेर्दाहेर्दै प्रहरी र प्रदर्शनकारीबीच अचानक झडप भयो र प्रहरीले प्रर्दशनकारीलाई तितर–बितर बनायो ।

राजावादीहरुको एउटा समूहलाई प्रहरीलाई छल्दै एकीकृत समाजवादीको कार्यालय रहेको सडकतर्फ आयो । प्रहरीले उनीहरुलाई पार्टी कार्यालय नजिकै रहेको प्रिमियर कलेज कटाएर छाड्यो ।

राजावादीले यस अगाडि गरेको आन्दोलनमा पनि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा गोबर प्रहार गरेको लेखा प्रमुख पौडेलले जानकारी दिए । त्यसैले शुक्रबार पनि तोडफोड गर्नसक्ने अनुमान नेताहरुले गरेका थिए । यसबारे प्रहरीलाई बिहानै आवश्यक सुरक्षाको विषयमा जानकारी गराइएको पौडेल बताउँछन् । तर, आक्रमण हुँदासम्म कार्यालय सुरक्षाका लागि प्रहरीको उपस्थिति थिएन ।

यही मौकामा एउटा अराजक झुण्ड कार्यालयतर्फ लम्कियो ।

पौडेलले पार्टीका विभिन्न नेताहरूलाई फोन गर्दै प्रहरी सुरक्षा माग्ने कोसिस गरे । तर, पार्टीको सम्पूर्ण टिम नै सभामा भएकाले कसैको फोन उठेन ।

‘प्रदर्शनकारीको समूह कार्यालयतिरको बाटोतर्फ सोझिएपछि, पक्कै हाम्रै कार्यालयमा तोडफोड गर्न सक्छन् भन्ने मलाई लाग्यो, मैले जनपरिचालनका संयोजक, सचिव, महासचिवलाई एक–एक गरी फोन गरेँ’ पौडेल भन्छन्, ‘तर, कसैको पनि उठेन । सायद सभाको हो–हल्लामा भएकाले सुन्नुभएन होला । त्यसपछि मैले अध्यक्ष माधव नेपाल कमरेडलाई नै फोन गरेर भनेँ ।’

अध्यक्ष नेपाललाई फोन गरेको केही समयै प्रदर्शनकारीले कार्यालय अगाडि आएर ढुंगा, इँटा प्रहार गर्न थालिहाले । पौडेल भन्छन् ‘२५/३० जनाको समूहले कार्यालयमा निरन्तर ढुंगा हान्न थाले, कार्यालयका सबै सिसा फुटे ।

मैले फेरि अध्यक्षलाई फोन गरेँ । उहाँले सुरक्षाकर्मीहरु आउँदै गरेको भन्नुभयो । तर, प्रदर्शनकारीले कार्यालयमा आक्रमण गर्न थालेको झण्डै डेढ घण्टासम्म प्रहरी आएन ।’

प्रदर्शनकारीले ढुंगा हान्न नछाडेको र रमिता हेर्नेहरू थपिँदै गएको तर आफूहरू घरबाट बाहिर निस्कने अवस्था नै नभएको पौडेलले बताए । उनले भने, ‘प्रदर्शनकारीहरु कार्यालयभित्रै प्रवेश गर्न थाले, सामग्रीहरू निकालेर बाहिर फाल्ने र कोठाभित्रै आगो समेत लगाउन थाले ।’

प्रदर्शनकारी कार्यालयभित्रै छिरेर तोडफोड र आगजनी गरेपछि आफू कसरी सुरक्षित हुने भन्ने चिन्ता लागेको पौडेल बताउँछन् । कार्यालयबाट झरेर बाहिर निस्कने अवस्था नभएपछि उनले माथिल्लो तलाबाट अर्को घरमा फड्किने सोचसमेत बनाए ।

उनले भने, ‘ढुंगा कार्यालय भवन नाघ्नेगरी आइरहेको थियो, कति ढुंगा त मेरो कार्यकक्षको ढोकासम्मै आए, ढुंगा पनि यसरी हाने कि वर्षाझैँ, त्यसमाथि आगो पनि थपियो’, उनी भन्छन्, ‘५/६ फिट जति पर अर्को घर भएकाले अन्तिम अवस्था आए यति त फड्किन सक्छु भन्ने लागिरहेको थियो ।’

आगलागी हुनासाथ प्रहरीको एउटा समूह पनि कार्यालयमा आएर र प्रदर्शनकारीलाई लखेट्ने काम गर्‍यो । जसले गर्दा पौडेलले ज्यान बचाउनका लागि अन्तिम विकल्प अपनाउनु परेन । तर, त्यसपछि बाहिर निस्कँदा भने कार्यालयमा आगलागी र तोडफोडले बिजोग दृष्य देखिएको थियो । लाखौंको क्षति भइसकेको थियो ।

राजावादीको प्रदर्शनस्थलबाट नजिकै आफ्नो कार्यालयमा प्रहरीले बिहानैदेखि सुरक्षा दिएको भए त्यो अवस्था नआउने उनले बताए ।

क्षति कति ?


प्रदर्शनकारीले कार्यालयका सहसचिव बस्ने एउटा कोठामा आगलागी गरेर पूर्ण रूपमा नष्ट बनाएका छन् । उनीहरूले कार्यालयका ल्यापटप, पंखा लगायतका कतिपय सामग्री लुटेर लगेका छन् । साथै, कार्यालयका कागजात र फर्निचर सडकमा निकालेर आगो लगाएर नष्ट गर्ने काम गरेका छन् ।

अहिले बाहिरबाट हेर्दा कार्यालयको बाहिरबाट देखिने सिसाको सबै भाग फुटेको छ । आगलागी र ढुंगा प्रहारले बरण्डाको छत प्वाल परेको छ ।

पार्टीले ५ वर्षको लागि भाडामा लिएको सो घरमा भएको क्षतिको पार्टीले अहिलेसम्म एकिन मूल्यांकन गरिसकेको छैन । पार्टीले भाडामा लिएको घर भएको र क्षतिपूर्तिको सम्भावना नभएकाले पार्टीकै स्रोतबाट पुनर्निमाण हुन सक्ने पौडेलले बताए ।

यो पनि-

तीनकुने स्थलगत : प्रत्यक्षदर्शी भन्छन्- आगो लागेको घरमा थिएनन् प्रहरी

एकीकृत समाजवादीले राजावादीविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : २७ बजे

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ