फेरि बढ्यो फेवाको क्षेत्रफल, शनिबारदेखि सिमानामा पिलर गाडिने  | Khabarhub Khabarhub

फेरि बढ्यो फेवाको क्षेत्रफल, शनिबारदेखि सिमानामा पिलर गाडिने 


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

पोखरा–  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले  फेवातालको क्षेत्रफल कायम गरेका छन् । सर्वोच्च अदालतले दिएको आदेश पालनाका क्रममा फेवाको पुन वैज्ञानिक अध्ययन गरी नयाँ क्षेत्रफल कायम गरिएको पोखराका मेयर धनराज आचार्यले बताए ।
 
सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको आचार्यले जानकारी दिए । 

उक्त विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउने उनले बताए । सम्मानित सर्वोच्च अदालतले तोकेको ६५ मिटर समेतको कुल क्षेत्रफल ७.६१६ वर्ग किमी (१४ हजार ९७० रोपनी ५ आना २ दाम) कायम हुने आचार्यको भनाई छ । यसअघिको प्रतिवेदनले फेवाको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी भनेको थियो । 

यसैबीच फेवातालको सिमाना (तालघर) मा शनिवारदेखि पिल्लरहरु गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने बताएको हो । 

पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलीदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने बताए । 

“पहिलो पिल्लर मैले गाड्छु, दोस्रो पिल्लर मेयर सावले गाड्नु हुन्छ र तेस्रो पिल्लर प्रमुख जिल्ला अधिकारीज्यूले गाड्नु हुन्छ,” मुख्यमन्त्री पाण्डेले भने ।

उनका अनुसार तालको चारै तर्फ १ हजार ५५ वटा पिल्लरहरु गाडिने छन् । फैसला कार्यान्वयनका लागि बाँकी कामहरू क्रमशः गर्दै जाने योजना बनाइएको छ । 

फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् ।

फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण सम्पन्न गरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । 

पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएका नगर प्रमुख आचार्यले बताए । 

सर्वेक्षण सम्पन्न पश्चात् तिनै तहका सरकारहरूको समन्वयमा कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र यस अघिल्लो अध्ययन प्रतिवेदन कार्यदलका संयोजकहरू पुण्यप्रसाद पौडेल र विश्वप्रकाश लामिछाने समेतसँग छलफल गरिएको समितिले बताएको छ । 

अव दोस्रो चरणमा ताल घरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि/पछिको दर्ता, भौतिक संरचनाको अवस्था लगायतको यकिन गरिनेछ । त्यसपछि ६५ मिटर भित्रको क्षेत्रमा पर्ने जग्गाको अवस्था अध्ययन तथा मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि/पछिको दर्ता, भौतिक संरचनाको अवस्था लगायतको यकिन गरिने समितिले जनाएको छ । 

सर्वोच्च अदालतले पछिल्लो पटक मिति २०८०/०३/०४ मा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्ण रूपले हरियाली प्रवर्द्धन गर्नु गराउनू भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो ।

सो फैसलाको चरणबद्ध कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको तिनै तहका सरकारका प्रतिनिधिहरूले प्रतिबद्धता जाहेर गरेका छन् । फेवातालका सम्बन्धमा हालसम्म १३ वटा अध्ययन प्रतिवेदनहरू तयार भएका अभिलेख पाइन्छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ७ : ४७ बजे

सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको

शेखर कोइरालाले भने : कांग्रेसको नेतृत्वमा सरकार नबनेसम्म देशको विकास हुन्न

खोटाङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी – बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

फेवातालको सीमाङ्कन गर्न पोल गाडिँदै

कास्की – पोखराको पर्यटकीयस्थल फेवातालमा सीमाङ्कन गर्न सुरु भएको छ

बढ्यो डिजेल र पेट्रोलको मूल्य, लिटरको कति पुग्यो ?

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य