काठमाडौं – गत फागुन १४ मा प्रदर्शनमा आएका दुई फिल्म ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ले अभिनेता महेश त्रिपाठीलाई व्यस्त बनाएको छ ।
यी दुईबाट अभिनय क्षमताको प्रशंसा भएसँगै महेशलाई फिल्मको प्रस्ताव आइरहेका छन् । अहिलेको अवस्थामा उनको पाइपलाइनमा पाँच फिल्म छन् ।
यो उनका लागि ठूलो सन्तुष्टिको विषय हो । उनको मान्यता छ– ‘कलाकार अभिनय क्षमताका कारण व्यस्त हुनुपर्छ ।’
यही मान्यता लिएर महेशले अभिनय यात्रा सुरु गरेको साढे एक दशक भयो । बल्ल आफ्नो उद्देश्य अनुरुप नै व्यस्ताता बढाउन सफल भए ।
इन्जिनियरिङ छोडेर अभियनमा होमिएका महेश स्टारडममा विश्वास राख्दैनन् । कारण उनलाई अभिनय गर्दा गर्दै सुखद देह त्याग गर्न मन छ ।
उनी भन्छन्, ‘स्टारडम भन्ने कुराको म्याद गुज्रिन्छ । कलाकारको म्याद गुज्रिदैन । म इन्जिनियर छाडेर अभिनयमा आएको सीमित मितिका लागि होइन ।’
त्यसैले कथित हिरोमा हुने विशेषताहरु ‘सिक्स प्याक’, फरक फेसन, स्टारडम जस्ता कुरा उनी आफूमा लागु गर्नेमा ध्यान दिँदैनन् ।
भन्छन्, ‘पात्रको माग भएको अवस्थामा मैले एक फिल्मका लागि २० केजी तौल घटाएको छु । यसको अर्थ म सिक्स प्याक मेन्टेन गर्न नसक्ने व्यक्ति होइन । मलाई यी कुरामा ध्यान नै छैन । मलाई कलाकार बन्नु छ । मेरो अरु कुरा होइन अभिनयकै चर्चा होस् भन्ने लोभ छ ।’

रुचिको विषय अभिनय
महेश कास्कीको कास्कीकोटमा मध्यम वर्गीय परिवारमा हुर्किए । बुवा घर पायकको स्कुलको शिक्षक । महेशलाई सहज बाल्यकाल दिन बुवाको यही जागिर काफी भयो ।
तीन दाजुभाइ मध्ये महेश जेठो हुन् । उनी सानै छँदा उनको घर त्यसबेला ‘विलासी’ सामान गनिने टेलिभिजनको धनी थियो । त्यही ब्ल्याक एन्ड ह्वाइट टीभीले उनलाई फिल्मप्रति रुचि बढायो ।
बाल्यकालमा सामान्य बच्चाभन्दा बढी जिज्ञासु र लगावको विषयमा बढी एकोहोरिने उनको बानी थियो ।
फिल्मप्रतिको रुचीले पढाइ खस्किएको उनी बताउँछन् । उनी भन्छन्, ‘टेलिभिजन हेर्दै जाँदा आफूलाई पनि कलाकार बन्ने इच्छा भयो । अनि लगाव दिएर फिल्म हेर्न थालियो । ६ कक्षा सम्म पहिलो–दोस्रो हुने म त्यसपछि भने भइनँ ।’
उनलाई अभिनयमा रुचि जगाउने अर्को कुरा नाटक हो । ६ कक्षामा पढ्दा उनले स्कुलको नाटक प्रतियोगितामा भाग लिए । पहिलो प्रयासमै उनको टिम प्रथम भयो ।
उनी भन्छन्, ‘बुवाले लेखिदिनुभएको नाटक थियो । हामी साथीहरु मिलेर अभिनय गरेका थियौं । प्रथम भएपछि अभिनयप्रति झन हौसला पाइयो ।’
तर, ‘इन्ट्रोभट’ महेशका लागि सयौं विद्यार्थीका लागि मञ्च चढेर अभिनय गर्ने विषय सहज थिएन ।
उनी अनुभव सेयर गर्छन्, ‘पहिलो नाटकमा मैले मञ्चमा गएर के गरेँ थाहा छैन । स्टेजमा चढेको थाहा छ । त्यसपछि एकै चोटी ओर्लिएको याद छ । बीचमा के भयो मलाई थाहा छैन ।’
यसरी स्कुल रहँदा चार नाटकका अभिनय गरेको क्षण उनको स्मरणमा छ । यसलाई नै उनी आफ्नो अभिनय यात्राको पहिलो पाइला मान्छन् ।

अमेरिकाको छात्रवृतिमा इन्जिनियर
बाल्यकालमा उनको विशेषता नै बढी जिज्ञासु । मेसेनरी सामानमा अझ बढी जिज्ञासा । जस्तो : पुराना रेडियो खोलेर भित्र के छ हेर्ने ! यही जिज्ञासुपनले उनलाई सामान्य बच्चाभन्दा फरक बनायो ।
उनलाई एक दिन काम नलाग्ने भएका ग्याजेटका सामान प्रयोग गरेर मान्छे बनाउन मन लाग्यो । जसबेला उनी स्कुलमै अध्ययनरत थिए ।
उनी भन्छन्, ‘पूराना ग्याजेटमा सामानहरुको प्रयोगले एउटा मान्छे जस्तो आकृति तयार पनि गरेँ । जसलाई मान्छेले जस्तै काम गर्ने बनाउन सकिन्छ कि भन्ने मेरो सोच थियो ।’
उनलाई यो सोच कतै पढेर वा देखेर आएको होइन । केवल जिज्ञासु बानीले आएको हो । उनले मान्छे जस्तै देखिने मेसिनजडित आकृति तयार पारे ।
महेशको घर कास्कीकोट विदेशी पर्यटकको चहलपलह भइराख्ने स्थान हो । उनले बनाएको मान्छे जस्तो आकृतिमा विदेशीको नजर पर्यो । उनीहरुले त्यसलाई ‘रोबर्ट’ भन्न थाले ।
उनी भन्छन्, ‘मैले त मान्छे बनाएको थिएँ । बनेछ रोबर्ट । त्यसपछि म मिडियाहरुको नजरमा परेँ ।’
रोबर्ट बनाएको कारण नेपाली राष्ट्रिय मिडिया, बीबीसी, सीएनएन र केही अमेरिकी मिडियाले समेत आफ्नो बारेमा स्टोरी बनाएको महेश बताउँछन् ।
यही भिडियो बनाउन आएका अमेरिकी पत्रकार लौरास प्यारोमार्फत् महेशले आईएसी र इलेक्ट्रोनिक्स इञ्जिनियरिङका लागि छात्रवृत्ति पाए ।
उनी भन्छन्, ‘नसोचेको गरी मिडियाहरुले मलाई स्थान दिए । जसले गर्दा मैले अमेरिकी छात्रवृत्तिमा समेत पढ्न पाएँ । पढेको चाहिँ पोखरामा नै हो ।’
किशोर अवस्थामा प्रवेश नगर्दै कलाकार बन्ने दृढ इच्छा राखेका महेशले इन्जिनियर पढ्नुको दुई कारण छन् ।
पहिलो : छात्रवृत्ति ।
दोस्रो : नपढेका मान्छे फिल्म क्षेत्रमा लाग्छन् भन्ने भाष्य ।
उनी भन्छन्, ‘मलाई एकदमै मन परेको क्षेत्रमा मान्छे पढ्न नसकेर जान्छन् भन्ने भाष्य सुन्दा निकै नरमाइलो लाग्यो । त्यसैले मैले पढेर कलाकारिता गर्छु भन्ने अठोट लिएँ ।’

सिरियलमा अभिनय
महेशको दृढ इच्छा कलाकार नै बन्ने थियो । इन्जिनियरिङ सकेर उनी अभिनयमै आउन चाहन्थे ।
नभन्दै गरे पनि त्यही । इन्जिनियरिङको अन्तिम वर्षबाट उनी कलाकार बन्न पोखराबाट काठमाडौं धाउन थाले । यो ०६५ साल ताकाको समय हो ।
त्यसक्रममा उनले धेरै सिरियलका निर्देशकलाई भेटे । उनीहरुको वचन सम्झँदा उनलाई आजको दिनमा पनि तितो महसुस हुन्छ ।
भन्छन्, ‘त्यसबेला नवकलाकारहरुलाई निर्देशकहरुले निकै तीतो बचन लगाउँथे । मैले धेरै कुरा भोगेको छु ।’
तर, निर्देशकको तीतो वचनले महेशको कलाकारिता यात्रा रोकिनेवाला थिएन । उनले स्पट ब्वाइका जिम्मेवारीबाट कलाकारिता यात्रा सुरु गरे ।
महेश भन्छन्, ‘आफूलाई कलाकार बन्ने इच्छा थियो । जे जिम्मेवारी पाइन्छ त्यही गर्थेँ ।’
पछि निर्देशकहरुले महेश इन्जिनियर भएको थाहा पाए । त्यसपछि भने महसुस हुने गरी नै निर्देशकहरुले आफूमाथि गर्ने व्यवहार परिवर्तन भएको उनी बताउँछन् ।
यसले सिरियलमा महेशको जिम्मेवारी फेरबदल भयो । उनले निर्देशकको सहयोगीको जिम्मेवारी पाउन थाले । राम्रो भूमिका आउँदा उनकै पालो आउन थाल्यो ।
भन्छन्, ‘पाँच–६ एपिसोड जाने भूमिका आयो भने मैले पालो पाउन थालेँ ।’
यो सिरियलसँग मिठोभन्दा तीतो स्मरण बढी रहेकाले उनी नाम भने खुलाउन मान्दैनन् । यद्यपि यही सिरियल अन्यमा पनि उनले स–साना भूमिकामा काम पाउन थाले ।
दुई वर्ष सिरियलमा धाउन लागेपछि उनले आफैँलाई प्रश्न गर्न लागे : कलाकारिता यति हो त ? यति अभिनय गरेकै कारण सम्मान पाइन्छ त ? इन्जिनियरको काम छोडेर म यतिका लागि यो क्षेत्रमा आएको हो त ?
यी सबै प्रश्नको उनले एक मात्र उत्तर फेला पारे– अभिनय पढ्ने । त्यसपछि पनि ०६७ सालमा ओस्कर कलेज भर्ना भए ।
उनी भन्छन्, ‘इन्जिनियर पेसा छोडेर अभिनयमा आएको म । मलाई यो क्षेत्रमा राम्रो गर्नुपर्ने नैतिक र सामाजिक दबाब थियो । त्यसका लागि मैले अभिनय पढ्ने सोच बनाएको हो ।’

फिल्ममा अभिनय
ओस्कार पढ्न थालेपछि महेशले सिरियल चटक्के थाले । उनी सर्ट फिल्मको अभिनेता बने ।
ओस्कार पढ्दै गर्दा तीन सयभन्दा बढी सर्ट फिल्ममा अभिनय गरेको उनी बताउँछन् ।
उनी थप्छन्, ‘मलाई अभिनय राम्रै गर्नुपर्छ भन्ने दबाब थियो नि त । त्यही भएर मैले लगाव दिएर पढेँ । कलेजमा पनि राम्रै विद्यार्थीमा गनिन्थेँ । मेरा केही प्रोजेक्ट कलेजमा नोटिस भएका थिए ।’
अभिनयको पढाइ नसक्दै उनलाई फिल्म ‘नोभेम्बर रेन’को प्रस्ताव आयो । त्यही उनको डेब्यू फिल्म बन्यो । उनी यस फिल्ममा खलपात्रको भूमिकामा छन् ।
तर, पहिलो फिल्मले महेशलाई निराश बनायो । कारण– पढेको कुरा फिल्म अभिनयमा उनले लागु गर्न पाएनन् ।
उनलाई लाग्यो, ‘फिल्ममा त निर्देशकले जे भन्छन् त्यही गर्नुपर्ने रहेछ । मैले पढेको लागु गर्न नपाइने रहेछ । नपढ्दा गरे जस्तै अभिनय पढेपछि गर्नुको अर्थ छैन ।’
त्यसपछि महेश फिल्म नगर्ने निर्णयमा पुगे । अब उनको रुचि रङ्गमञ्चमा भयो । उनको रङ्गमञ्चमा रुचि हुनुको एक मात्र कारण थियो, ‘अभिनयम पढ्दा सिकेको कुरा प्रस्तुतिमा लागू गर्न ।’
तर, नाटकमा प्रवेश गर्न उनलाई ठूलै कसरत भयो । नाटक सर्कलसँग चिनजान नहुँदा उनले रङ्गमञ्चमा सहजै उक्लन पाएनन् ।
भन्छन्, ‘मलाई फिल्ममा आउनभन्दा रङ्गमञ्चमा उक्लन गाह्रो भयो ।’
यो समय उनी कामविहीन भए । काठमाडौंको खर्च जुटाउन उनले इन्जिनियर जागिर गरे ।
तर, ०७० सालको अन्तिममा उनले ओस्कारमै अभिनय पढाउने काम पाएपछि इन्जिनियरको जागिर छाडे ।
भन्छन्, ‘मेरो इच्छा त अभिनय वा कलाकारिता क्षेत्र सम्बन्धी काम गर्ने नै थियो । इन्जिनियरको जागिरमा म दुई-तीन महिनाभन्दा बढी अडिनै सकिनँ ।’

रुचिका कारण नाटक सर्कलका साथीहरुसँग उठ–बस र सम्बन्ध विस्तार गरेपछि उनले रङ्गमञ्चमा पनि अभिनय गरे । ०७६ सालसम्म उनले सर्ट फिल्म, नाटक र अभिनय प्रशिक्षण गरेरै बिताए ।
तर, फिल्म ‘हलकारा’ले उनलाई पुनः फिल्ममा नै फर्कायो ।
‘हलकारा’ले थपेको उत्साह
फिल्म कलेजमा पढाउने प्रोफाइल भएकाले महेशलाई विभिन्न मेकरले फिल्मको स्क्रिप्ट पढ्न पठाइरहन्थे । सुझावको अपेक्षासहित उनीहरुले महेशलाई स्क्रिप्ट पठाउँथे ।
त्यही क्रममा ‘हलकारा’ स्क्रिप्ट महेशको हातमा आइपुग्यो । स्क्रिप्ट पढेपछि महेशलाई त्यस फिल्ममा अभिनय गर्न मन लाग्यो ।
उनी त्यस फिल्मका लागि अडिसन दिन तयार भए । उनले सहनिर्माता रामकृष्ण पोखरेलाई भने, ‘स्क्रिप्ट राम्रो लाग्यो । म यसको लागि अडिसन दिन्छु ।’
रामकृष्णबाट उनले जवाफ पाए, ‘तिमीलाई नै कलाकारका रुपमा लिन त स्क्रिप्ट पठाएको हो ।’
यसरी महेशलाई पुनः फिल्ममा फर्कायो । उनी भन्छन्, ‘पात्रको लोभले नै मलाई फिल्ममा फर्काएको हो ।’
तर, यो फिल्मको छायाङ्कन ०७५ सालमा भएको हो । तर, प्रदर्शन भने ०८० सालमा भएको हो ।
‘हलकारा’ छायाङ्कन सकिए लगत्तै उनी फिल्म ‘चपली हाइट ३’मा अनुबन्ध भए । यो फिल्मले महेश मेकहरुहरुका नजरमा परे ।
अभिनयमा फर्काएकाले ‘हलकारा’ र धेरै दर्शक समक्ष पुर्याएकाले ‘चपली हाइट ३’लाई उनका लागि विशेष फिल्म हुन् ।
महेशले लिड नायकको रुपमा डेब्यू गरेको फिल्म ‘हलकारा’ नै हो । यस फिल्मबाट उनले आफूलाई अभिनय क्षमता अब्बल भएको नायकमा उभ्याउनसमेत सफल भए ।
‘हलकारा’बाट महेशले अवार्ड समेत जिते । अमेरिकी फिल्म फेस्टिभल वल्र्डफेस्ट ह्युस्टनमा उनले उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । यी दुई फिल्मपछि प्रस्तावहरुको संख्यामा वृद्धि आएसँगै करिअरले गति लिएको उनलाई महसुस भएको छ ।
उनको जीवनको अर्को विशेष फिल्म ‘लाज शरणम्’ हो । यस फिल्मका लागि महेशले २० केजी तौल घटाएका थिए । चरित्र निर्माणका लागि तीन महिना पश्चिमको गाउँमा बसेका थिए ।

यस फिल्मबाट उनको अभिनय क्षमतले निकै तारिफ पायो । यसको नतिजा उनलाई आउने फिल्म प्रस्तावको संख्यामा देखिएको छ ।
गत वर्षको फागुनमा यस फिल्म प्रदर्शनमा आएको थियो । अहिलेसम्म ४० बढी फिल्मको प्रस्ताव आउँदा उनले पाँच फिल्म साइन गरेका छन् ।
उनी भन्छन्, ‘सम्झौता भए पनि निर्माण घोषणा भएका छैनन । त्यही भएर फिल्मको नाम मैले खुलाउन मिल्दैन ।’
यसरी लिड अभिनेताको भूमिकामा उनलाई प्रस्ताव आउनुको कारण अभिनय क्षमता नै हो । ‘लाज शरणम्’मा व्यपारिक रुपमा सफल भएन । तर फिल्म हेर्न हल पुगेका दर्शकको मन उनले जिते ।
महेश भन्छन्, ‘म प्रायः दर्शकको मेसेज रिप्लाई गर्छु । तर, लाज शरणम्पछि यति धेरै दर्शकले मेसेज गर्नुभयो कि– मैले सबै मेसज पढ्न समेत भ्याइनँ ।’
अभिनयले दिएको सन्तुष्टि
महेशले तीन फिल्ममा लिड र दर्जनौंमा मुख्य भूमिका निर्वाह गरेका छन् । उनी लिड नायकको भूमिकामा रहेको पछिल्लो फिल्म ‘११ः५५’ गत चैतमा प्रदर्शनमा आएको थियो ।
भूमिका जे जस्तो निर्वाह गरे पनि महेशले आफूलाई अभिनय क्षमता भएको अभिनेताका रुपमा स्थापित गरेका छन् ।
महेशका लागि सन्तुष्टिको पाटो नै यही । उनी ‘अभिनय’बाटै यो क्षेत्रमा स्थापित हुन चाहन्थे । त्यो पूरा भएको छ ।
भन्छन्, ‘मैले खोजेको नै यही हो नि । म अभिनयबाटै चिनिन चाहन्थेँ । त्यही भएको छ ।’

‘छोरो इन्जिनियर पेसामा आबद्ध’ होस् भन्ने महेशको परिवारको इच्छा थियो । उनी इन्जिनियर बने तर त्यस पेसामा अडिन सकेनन् ।
कलाकार बन्ने संघर्षमा होमिएकाले घरको जेठो छोरो भूमिका निर्वाह गर्न आफू कयौं पटक चुकेको उनलाई थाहा छ ।
तर, इन्जिनियर पेसा छाडेर अभिनय रोज्दा उनले महसुस गरेको एक नैतिक दबाब थियो– कुशल कलाकार बन्ने ।
उनी स्पष्ट पार्छन्, ‘पढेको पेसा छोडेर यता लागेपछि यो क्षेत्रमा स्थापित हुने गरी अभिनय गर्नुपर्ने मलाई नैतिक दबाब थियो । कम्तीमा मैले उक्त नैतिक दबाब पूर्ति गरे जस्तो लाग्छ ।’
अबका दिनमा महेशलाई लिड अभिनेताकै रुपमा देख्न पाइने पक्का छ । अब उनको अभिनय करिअरले कस्तो ग्राफ बनाउँछ त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया