लघुवित्तको लाभांश नीतिले थेग्यो साताको शेयरबजार, ३२ अङ्कले बढ्यो नेप्से « Khabarhub

पुँजीबजार

लघुवित्तको लाभांश नीतिले थेग्यो साताको शेयरबजार, ३२ अङ्कले बढ्यो नेप्से


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ३००० को बिन्दुबाट ओरालो लागेको शेयरबजारमा भदौको दोस्रो साता (८ देखि १२ गतेसम्म) उत्साहको सङ्केत देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको लघुवित्तको लाभांश बाँड्न पाउने क्षमता १५ बाट बढाएर २५ प्रतिशतसम्म पु¥याएसँगै बजारमा केही उत्साह देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत साउन १३ यता ३००२ बिन्दुबाट निरन्तर ओरालो लागेको थियो । यो साताको आइतबारसम्म आइपुग्दा पनि घट्ने क्रम निरन्तरजस्तै थियो ।

आइतबार पनि नेप्से १८ अङ्कले घटेर ३००२ बिन्दु यताको न्यूनतम २७३९.९५ बिन्दुमा पुगेको थियो । तर, आइतबार नै केन्द्रीय बैङ्कले लघुवित्त कम्पनीहरूले पूँजी कोष र निष्क्रिय कर्जा अनुपातलाई आधार मानेर लाभांश वितरण गर्न पाउने व्यवस्था गरिदियो ।

पुँजीकोष १२ प्रतिशतभन्दा माथि र निष्क्रिय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम भएकाले २५ प्रतिशत, पुँजीकोष १० देखि १२ प्रतिशत र एनपीएल पाँच प्रतिशत भन्दा कम भएकाले २० प्रतिशत र पुँजीकोष ८ देखि १० प्रतिशत तथा एनपीएल पाँच प्रतिशतभन्दा कम भएकाले १५ प्रतिशत लाभांश बाँड्न पाउने व्यवस्था केन्द्रीय बैङ्कले गरिदिएको हो ।

त्यसको असर शेयरबजारमा भोलिपल्ट अर्थात् सोमबारदेखि नै देखियो । सोमबारै बजार २१.३० अङ्कले बढ्यो । नेप्सेमा मङ्गलबार ४.८३ अङ्के र बुधबार ५३ अङ्कको वृद्धि देखियो ।

साताको अन्तिम दिन बिहीबार शेयरबजार ३८.१० अङ्कले घट्यो । ३००२ बिन्दुबाट बजार निरन्तर जस्तो घटिरहेको र एकै चोटि ठूलो अङ्कको वृद्धि देखिएकाले नाफा बुक गर्दा बिहीबारको बजार घटेको शेयर लगानीकर्ताहरू बताउँछन् ।

शेयरबजारमा ट्रेडर हाबी भएका कारण छिटो नाफा बुक गर्ने गरिएको शेयर विश्लेषक छोटेलाल रौनियार बताउँछन् । ‘३००० बिन्दुसम्म पुग्दै गर्दा एकोहोरो जस्तो बजार बढ्यो’, रौनियारले भने ‘त्यसपछि नाफा बुक गर्नेहरू हाबी भए, त्यसैले बजारमा निरन्तरजसो गिरावट आयो ।’

बजार लगातार घट्दा आम लगानीकर्ताको मनोबल कमजोर भएकाले बजारमा धेरै अङ्कको गिरावट आएको रौनियारको बुझाइ छ ।

लघुवित्तले लाभांश बाँड्न पाउने व्यवस्था २५ प्रतिशत बनाइदिँदा बजारले जति राम्रो प्रर्दशन देखाउनुपर्ने हो, त्यो नदेखाएको रौनियार बताउँछन् । अहिले शेयरबजारसँग सम्बन्धित नीतिनियमदेखि आर्थिक सूचकहरू पनि राम्रो भएकाले गर्दा बजार बढ्ने सम्भावना रहेको रौनियार बताउँछन् ।

‘नेप्से ३२ सयको बिन्दुमा पुग्दा समेत यति राम्रो नीति र आर्थिक सूचक थिएन’, रौनियारले भने, ‘ब्याजदर पनि कम भएकाले, मेरो अध्ययनले बजार बढ्ने नै देख्छु ।’

लामो समयदेखि लगानीकर्ताले माग्दै आएको कुरा पाएकाले त्यसले बजारमा उत्साह ल्याएको विश्लेषकहरूको भनाइ छ । यो साताको बढाइलाई सकारात्मक रूपमा लिएको लगानीकर्ता देवीप्रसाद दाहाल बताउँछन् ।

बजारमा केही उत्साह देखिएको कारोबार रकमले समेत देखिन्छ । अघिल्लो साता (भदौ १ गतेदेखि ५ गतेसम्म) को तुलनामा कारोबार रकममा समेत बढोत्तरी भएको छ । अघिल्लो साता २९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा यो साता बढेर ३३ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

बजार बढेसँगै कारोबार रकम पनि बढ्ने रौनियार बताउँछन् । ‘कारोबारसमेत बढी रहेको छ’, रौनियारले भने, ‘बजार अझ बढेमा भने कारोबार पनि बढ्छ र त्यसले बजारलाई सकारात्मक बनाउँछ ।’

कारोबार रकम बढ्दा बजारलाई सकारात्मक रूपमा लिनुपर्ने दाहालको मत छ । ‘अहिले पनि बजारको ट्रेन्ड हेर्ने हो भने बियरिस छैन, बुलिस नै छ’, दाहालले भने, ‘भविष्य देख्ने व्यक्तिहरूले अहिले पनि राम्रो कम्पनीको शेयर किनेर राखिराख्नु भएको छ ।’

यो सातामा ६ करोड ७० लाख नौ हजार कित्ता शेयर तीन लाख ११ हजार २८५ पटक कारोबार भयो ।

ठूला लगानीकर्ताले शेयर खोस्ने काम गरेको नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् । ‘मेरो विचारमा आइतबारबाट बजार बढ्छ, म विश्वस्त छु’, पाण्डेले भने, ‘दशैँअघि एकपटक बजार बढ्छ नै !’

दुई लघुवित्तको शेयर मूल्यमा उछाल

केन्द्रीय बैङ्कले लघुवित्तमा गरेको लाभांशसम्बन्धी व्यवस्थाको सकारात्मक प्रभाव सबैभन्दा बढी बढ्ने कम्पनीको सूचीमा समेत परेको छ ।

यो साता सबैभन्दा बढी बढ्ने १० कम्पनीको सूचीमा दुईवटा लघुवित्त परेका छन् । समता घरेलु लघुवित्तको शेयर मूल्य सात र साना किसान विकास लघुवित्तको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ ।

सातामा सबैभन्दा बढी विकास हाइड्रोपावरको शेयर मूल्य बढेको छ । विकासको शेयर मूल्य ३७.८८ प्रतिशतले बढेको हो । विकासले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गरेपछि दोस्रो बजारमा कारोबारमा आएकाले गर्दा यसको मूल्य बढेको हो ।

बढी घट्नेमा १० मध्ये आठ हाइड्रोपावर

सातामा सबैभन्दा बढी शेयर मूल्य घटेका १० मध्ये आठवटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ११.३० प्रतिशतले घटेको छ । सिक्लेसले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

कम्पनीले बुक क्लोज गरेर शेयर मूल्य समायोजन गरिसकेको छ । त्यस कारणले गर्दा पनि सिक्लेसको शेयर मूल्यमा बढी गिरावट देखिएको हो ।

अन्य हाइड्रोपावरको शेयर मूल्यमा गिरावट देखिनुमा आइजीन नम्बरसँग सम्बन्धित विवाद पनि कारक देखिएको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सर्वसाधारण र संस्थापक शेयरधनी छुट्याउने भन्दै दुईवटा आइजीन नम्बरसम्बन्धी निर्देशिका नेपाल धितोपत्र बोर्डमा पठाइसकेको छ ।

तर, बोर्डले निर्णय गर्न सकिएको छैन । दुइवटा आइजीन नम्बर हुन नहुने भन्दै ऊर्जा व्यवसायीहरूले विरोध गरिरहेका छन् । त्यसको असर शेयरबजारमा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा परेको लगानीकर्ताहरू बताउँछन् ।

यो पनि –

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १२ : ०४ बजे

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत