नयाँ लुगा प्राथमिकतामा पर्दैन, तासमा कहिल्यै जितिएन « Khabarhub

कमेडियन भरतमणिसँग दशैं संवाद

नयाँ लुगा प्राथमिकतामा पर्दैन, तासमा कहिल्यै जितिएन


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार भरतमणि पौडेल भर्खरै क्यानडामा कार्यक्रममा सहभागी भएर आएका हुन् । उनी क्यानडामा हुँदै नेपालमा जेनजीहरुले आन्दोलन गरेका थिए ।

त्यस आन्दोलनमा ७४ जना जेनजीहरुले ज्यान गुमाए, त्यो पनि दशैँको मुखमा ।

यो घटनाले भरतमणि दशैँप्रति खासै उत्सुक छैनन् । भन्छन्, ‘हाम्रै उमेरका छोरा–छोरीले ज्यान गुमाएका छन् । देशका लागि उनीहरुले बलिदान दिए । यत्रो अप्रिय घटना दशैँको मुखमा हुँदा कसरी दशैँ भनेर रमाउनु ?’

तथापि, मान्नेहरुलाई उनी शुभकामना दिन्छन् ।

उनी भने यो पटक दशैँ मनाउन पुख्र्यौली थलो ताप्लेजुङ नजाने भएका छन् ।

उनीसँग यो र विगतका दशैँबारे गरेको रमाइलो कुराकानी :

दशैँ भन्ने बित्तिक्कै के याद आउँछ ?

रमाइलो । छुट्टी हुन्छ, काम पनि हुँदैन । केही चिन्ता नै हुँदैन ।

के भएपछि दशैँ आयो है भन्ने महसुस हुन्छ ?

गाउँमा हुँदा किराको आवजले । दशैँमा त घामै अर्कै लाग्छ । शहरमा हुँदा संगीतले ।

दशैँको सुन्दर पाटो ?

वर्षौं छुटिएका साथीहरुसँग भेट हुन्छ । वर्ष दिनपछि आफन्तसँग भेट हुन्छ । तास खेल्न पाइन्छ । दशैँमा ‘तास खेल्ने’ गैरकानुनी हैन भन्ने माहोल सिर्जना हुन्छ । तर, म तास खेल्न उधुम जान्ने चाहिँ होइन । यही दशैँमा मात्रै हो ।

बाल्यकालको दशैँ आउँदै गर्दा अहिले के उत्सुकता हुँदो रहेछ ?

दशैँमा स्कुल लामो समय बन्द हुन्थ्यो । म जस्तो पढ्न अल्छीलाई स्कुल पढ्दा छुट्टीको उत्सुकता हुन्थ्यो । पिङले निक्कै रोमाञ्चकता थप्थ्यो ।

अहिले जिम्मेवारीले होला पहिला जस्तो उत्सुकता चाहिँ नहुने ।

बाल्यकालमा दक्षिणा धेरै पाएको वर्ष याद छ ?

सम्झी हाल्ने चाहिँ छैन । बढी पाएको बेला चार–पाँच सय कट्यो होला । त्यो पनि मामाघरबाट पाएको । घरतिर छोरा मान्छेलाई दिँदैनन् । (हाँस्दै) दशैँमा मेरो आम्दानी राम्रो भएन हो ।

छोरा मान्छे भएकाले दक्षिणा नपाएकामा नरमाइलो लाग्थ्यो ?

लाग्थ्यो । कसले यो निमय ल्यायो होला ? भन्ने लाग्थ्यो । छोरालाई दक्षिणा नदिनुको वास्तविकता कहिल्यै बुझिएन । अहिले पनि थाहा छैन । छोरालाई दिने चलन छैन भनेपछि त्यसैलाई स्वीकार गरियो ।

दक्षिणा नपाएर रुनुभएको छ ?

छ नि । रोइकराइ गरेर दक्षिणा मागियो । तर, दिदी–बहिनीले २० रुपैयाँ पाए भने आफूले पाँच रुपैयाँ पाइन्थ्यो ।

भनेपछि दशैँमा तास खेलिन्छ ?

म्यारिज खेल्न आउँदैन । कलब्रेक र चली फरास खेल्ने हो । रमाइलोका लागि सानो खेल मात्रै गर्ने हो । तर ताससँगको रमाइलो कुरा– किनबेच गर्न पाइने रे, खेल्न नपाइने रे ।

तासमा कत्तिको जित्नुहुन्छ ?

म पनौती हो । तासमा जितेर एक किलो मासु किनेको रेकर्ड छैन । म हार्ने नै हो ।

यसपाली दशैँ कता ?

व्यस्तताले ताप्लेजुङ जान पाइनँ । काठमाडौंमै परिवारसँग दशैँ मनाउने ।

त्यसो भए तास खेल्न ‘कोरम’ त पुगेको छैन होला ?

साथीहरुबाट मेसेजको प्रतीक्षामा छु । (हाँस्दै) भाग खोजेर बसेको के म ।

दशैँमा मद्यपान ?

प्राथमिकतामा पर्दैन । लिम्बू गाउँमा हुर्किएकाले चासोको विषय पनि बनेन ।

दशैँमा नयाँ लुगा किन्नुपर्छ भन्ने लाग्छ–लाग्दैन ?

बच्चैदेखि थिएन । सानो हुँदा पनि जुन बेला मन लाग्छ, नयाँ लुगा लगाउन पाइयो ।

अहिले झन् के हुनु ? १० औं पटक पुरानै लुगा लगाएर दशैँ मनाएको छु । तर, एउटा कुरा– पुरानामध्येका राम्रा लुगा चाहिँ लगाइन्छ ।

दशैँका लागि यो पटक अहिलेसम्म नयाँ लुगा किनेको छैन ।

विदेश कार्यक्रमले परिवारसँग दशैँ मान्न नपाएको क्षण छ ?

छैन । तर, एक वर्ष टीका थापेर त्यही दिन विदेश कार्यक्रममा चाहिँ गएको थिएँ ।

तर, दर्शकसँग बसेर विदेशमा दशैँमा मान्ने मन छ । मेरो लागि दर्शक भगवान् हुन् ।

पहिला र अहिलेको दशैँ ?

पहिला बढी आत्मीय हुन्थ्यो, अहिले देखावटी हो कि ? आर्शिर्वाद लिनभन्दा फोटा लिन ध्यान हुन्छ कि ।

तपाईंका लागि दशैँ काठमाडौंमा रमाइलो कि ताप्लेजुङमा ?

यो पटक दोस्रो पटक म काठमाडौंमा दशैँ मनाउनेवाला छु । तर, गाउँ–घरमै रमाइलो ।

पाठक र दर्शकलाई के भन्नुहुन्छ ?

सबैलाई दशैँको शुभकामना । जेनजी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई मैले विशेष सम्झिएको छु । दुर्गामातासँग उहाँहरुको न्यायको लागि कामना गर्छु ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ४ : ४८ बजे

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न