काठमाडौं – कलाकार भरतमणि पौडेल भर्खरै क्यानडामा कार्यक्रममा सहभागी भएर आएका हुन् । उनी क्यानडामा हुँदै नेपालमा जेनजीहरुले आन्दोलन गरेका थिए ।
त्यस आन्दोलनमा ७४ जना जेनजीहरुले ज्यान गुमाए, त्यो पनि दशैँको मुखमा ।
यो घटनाले भरतमणि दशैँप्रति खासै उत्सुक छैनन् । भन्छन्, ‘हाम्रै उमेरका छोरा–छोरीले ज्यान गुमाएका छन् । देशका लागि उनीहरुले बलिदान दिए । यत्रो अप्रिय घटना दशैँको मुखमा हुँदा कसरी दशैँ भनेर रमाउनु ?’
तथापि, मान्नेहरुलाई उनी शुभकामना दिन्छन् ।
उनी भने यो पटक दशैँ मनाउन पुख्र्यौली थलो ताप्लेजुङ नजाने भएका छन् ।
उनीसँग यो र विगतका दशैँबारे गरेको रमाइलो कुराकानी :
दशैँ भन्ने बित्तिक्कै के याद आउँछ ?
रमाइलो । छुट्टी हुन्छ, काम पनि हुँदैन । केही चिन्ता नै हुँदैन ।
के भएपछि दशैँ आयो है भन्ने महसुस हुन्छ ?
गाउँमा हुँदा किराको आवजले । दशैँमा त घामै अर्कै लाग्छ । शहरमा हुँदा संगीतले ।
दशैँको सुन्दर पाटो ?
वर्षौं छुटिएका साथीहरुसँग भेट हुन्छ । वर्ष दिनपछि आफन्तसँग भेट हुन्छ । तास खेल्न पाइन्छ । दशैँमा ‘तास खेल्ने’ गैरकानुनी हैन भन्ने माहोल सिर्जना हुन्छ । तर, म तास खेल्न उधुम जान्ने चाहिँ होइन । यही दशैँमा मात्रै हो ।
बाल्यकालको दशैँ आउँदै गर्दा अहिले के उत्सुकता हुँदो रहेछ ?
दशैँमा स्कुल लामो समय बन्द हुन्थ्यो । म जस्तो पढ्न अल्छीलाई स्कुल पढ्दा छुट्टीको उत्सुकता हुन्थ्यो । पिङले निक्कै रोमाञ्चकता थप्थ्यो ।
अहिले जिम्मेवारीले होला पहिला जस्तो उत्सुकता चाहिँ नहुने ।
बाल्यकालमा दक्षिणा धेरै पाएको वर्ष याद छ ?
सम्झी हाल्ने चाहिँ छैन । बढी पाएको बेला चार–पाँच सय कट्यो होला । त्यो पनि मामाघरबाट पाएको । घरतिर छोरा मान्छेलाई दिँदैनन् । (हाँस्दै) दशैँमा मेरो आम्दानी राम्रो भएन हो ।
छोरा मान्छे भएकाले दक्षिणा नपाएकामा नरमाइलो लाग्थ्यो ?
लाग्थ्यो । कसले यो निमय ल्यायो होला ? भन्ने लाग्थ्यो । छोरालाई दक्षिणा नदिनुको वास्तविकता कहिल्यै बुझिएन । अहिले पनि थाहा छैन । छोरालाई दिने चलन छैन भनेपछि त्यसैलाई स्वीकार गरियो ।
दक्षिणा नपाएर रुनुभएको छ ?
छ नि । रोइकराइ गरेर दक्षिणा मागियो । तर, दिदी–बहिनीले २० रुपैयाँ पाए भने आफूले पाँच रुपैयाँ पाइन्थ्यो ।
भनेपछि दशैँमा तास खेलिन्छ ?

म्यारिज खेल्न आउँदैन । कलब्रेक र चली फरास खेल्ने हो । रमाइलोका लागि सानो खेल मात्रै गर्ने हो । तर ताससँगको रमाइलो कुरा– किनबेच गर्न पाइने रे, खेल्न नपाइने रे ।
तासमा कत्तिको जित्नुहुन्छ ?
म पनौती हो । तासमा जितेर एक किलो मासु किनेको रेकर्ड छैन । म हार्ने नै हो ।
यसपाली दशैँ कता ?
व्यस्तताले ताप्लेजुङ जान पाइनँ । काठमाडौंमै परिवारसँग दशैँ मनाउने ।
त्यसो भए तास खेल्न ‘कोरम’ त पुगेको छैन होला ?
साथीहरुबाट मेसेजको प्रतीक्षामा छु । (हाँस्दै) भाग खोजेर बसेको के म ।
दशैँमा मद्यपान ?
प्राथमिकतामा पर्दैन । लिम्बू गाउँमा हुर्किएकाले चासोको विषय पनि बनेन ।
दशैँमा नयाँ लुगा किन्नुपर्छ भन्ने लाग्छ–लाग्दैन ?
बच्चैदेखि थिएन । सानो हुँदा पनि जुन बेला मन लाग्छ, नयाँ लुगा लगाउन पाइयो ।
अहिले झन् के हुनु ? १० औं पटक पुरानै लुगा लगाएर दशैँ मनाएको छु । तर, एउटा कुरा– पुरानामध्येका राम्रा लुगा चाहिँ लगाइन्छ ।
दशैँका लागि यो पटक अहिलेसम्म नयाँ लुगा किनेको छैन ।
विदेश कार्यक्रमले परिवारसँग दशैँ मान्न नपाएको क्षण छ ?
छैन । तर, एक वर्ष टीका थापेर त्यही दिन विदेश कार्यक्रममा चाहिँ गएको थिएँ ।
तर, दर्शकसँग बसेर विदेशमा दशैँमा मान्ने मन छ । मेरो लागि दर्शक भगवान् हुन् ।
पहिला र अहिलेको दशैँ ?
पहिला बढी आत्मीय हुन्थ्यो, अहिले देखावटी हो कि ? आर्शिर्वाद लिनभन्दा फोटा लिन ध्यान हुन्छ कि ।
तपाईंका लागि दशैँ काठमाडौंमा रमाइलो कि ताप्लेजुङमा ?
यो पटक दोस्रो पटक म काठमाडौंमा दशैँ मनाउनेवाला छु । तर, गाउँ–घरमै रमाइलो ।
पाठक र दर्शकलाई के भन्नुहुन्छ ?
सबैलाई दशैँको शुभकामना । जेनजी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई मैले विशेष सम्झिएको छु । दुर्गामातासँग उहाँहरुको न्यायको लागि कामना गर्छु ।
प्रतिक्रिया