काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित सभालाई भैरहवामा बिहीबार सम्बोधनका क्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको ढलेर मृत्यु भयो ।
बोल्दाबोल्दै अचानक ढलेका गौतमलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरे।
जिफन्टका उपाध्यक्ष गौतमले बुधबार सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको बैठकमा संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए ।
बिहीबार प्राधिकरणको कदमविरुद्ध धर्ना कार्यक्रममा बोल्दा मजदुरमाथि अन्याय भएको भन्दै गौतम आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । कार्यक्रमस्थलमै बेहोस बनेका गौतमलाई मुटुसम्बन्धी कार्डियाटिक अरेस्ट भएको बुझिएको छ ।
के हो कार्डियाटिक अरेस्ट ?
चिकित्सकका अनुसार कार्डियाक अरेस्ट एक यस्तो अवस्था हो, जसमा मुटुको चाल अचानक बन्द भएर रगत मस्तिष्क र अन्य महत्त्वपूर्ण अंगहरूमा प्रवाह हुन रोकिन्छ ।
यदि समयमै उपचार नगरिए भने सामान्यत: केही मिनेटमै यसले मृत्यु निम्त्याउँछ । मुटुरोग विशेषज्ञ डा. कमल लम्साल भन्छन्, ‘खासगरी हाम्रो मुटुका तीन अवस्था हुन्छन् । पहिलो भेन्टिकुलर फिबृलेसन, दोस्रो भेण्टिकुलर ट्याकिकार्डिया र तेस्रो एसिस्टोल।’

उनका अनुसार एसिष्टोलमा मुटुको धड्कन नै बन्दैन भने भेण्टिकुलर फिबृलेसनन्मा मुटुको चाल एकदमै अनियमित हुन्छ, भेण्टिकुलर प्याकिज एरियामा मुटुको चाल अत्यन्तै छिटो र अनियन्त्रित रूपमा निस्किन्छ । जसबाट मुटुले रग पम्प गर्न सक्दैन र मानिस ढल्छ । यस्तो अवस्थामा तत्काल उपचार नपाए बिरामीको मृत्यु हुन सक्छ ।
कार्डियाटिक अरेस्टका कारण
डा. लम्सालका अनुसार यस्ट्टो हुनुको मुख्य कारणमध्ये एउटा त हर्ट अट्याक हो । अन्य कारणहरू शरीरमा पोटासियमको मात्रा कम या बढी हुनु, म्याग्नेसियम र क्याल्सियमको मात्रा कम या बढी हुनु पनि छन् ।
त्यस्तै अन्य कारणहरू खाना, पानीलगायतमा तालमेल नमिल्नु, हाम्रो जीवनशैलीका कारण क्याल्सियम, म्याग्नेसियम र पोटासियमको मात्रा घटबढ हुँदा पनि यो समस्या आउने उनले बताए ।
त्यस्तै पहिलेदेखि नै मुटुको समस्या भएका, औषधि खाइरहेका, प्रेसर र सुगरका बिरामी धूम्रपान तथा मद्यपान गर्नेहरूमा पनि यो समस्या हुन्छ । जो मुटु रोगको जोखिममा रहेका हुन्छन्, त्यस्ता व्यक्तिलाई हर्टअट्याक भए कार्डियाटिक अरेस्टको सम्भावना धेरै हुने डा. लम्सालले बताए ।
त्यसबाहेक रगतमा अम्लीयपन एकदमै बढी भएको अवस्था र मुटुको, फोक्सोको बाहिरी झिल्लीमा एक्कासि र अत्यधिक पानी जमे पनि यस्तो समस्या हुने उनले बताए ।
हर्टअट्याक र कार्डियाटिक अरेस्टमा के फरक छ ?
हर्टअट्याकमा मुटुको धमनी ब्लक भएर मुटुको चाल रोकिन्छ भने कार्डियाटिक अरेस्ट भनेको एउटा क्लिनकल सिनारियो हो । जसमा मुटुको कम्पन नै रोकिएर मान्छे ढल्छ । त्यसका विविध कारणमध्ये हर्टअट्याक पनि एउटा रहेको डा. लम्सालले बताए।
उपचार र बच्ने उपाय
कार्डियाटिक अरेस्टबाट बच्न मुटु रोगको जोखिम भएको व्यक्तिहरूले धेरै धपेडी नगर्ने, अलिअलि छाती दुखे, चिटचिट पसिना आए, छाती भारी हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए सभा-सम्मेलन तथा अरू कार्यमा सहभागी नहुन डा. लम्सालको सुझाव छ ।
त्यस्तै आफूलाई अप्ठेरो महसुस भइरहे तुरुन्तै सम्बन्धित चिकित्सकसँग परामर्श लिएर आवश्यक चेकजाँच तथा परीक्षण गर्नुपर्ने उनले बताए ।
डा. लम्सालका अनुसार तत्काल सीपीआर गरेर जतिसक्दो चाँडो अस्पताल पुर्याउन सकिए कयौँ बिरामीलाई बचाउन सकिन्छ ।













प्रतिक्रिया