माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता) « Khabarhub

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)



नेकपा (एकीकृत समाजवादी) विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेता नेकपा (माओवादी केन्द्र)सँग एकताको तयारीमा छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेता भने एकताको विपक्षमा छन्। नेत्री रामकुमारी झाँक्रीले त माओवादीसँग भन्दा नेकपा (एमाले)सँगै एकता गर्दा उचित हुने बताइसकेकी छन्। यता अध्यक्ष नेपालले एमालेसँग एकता गर्दा विद्रोह पुष्टि नहुने बताउँदै आएका छन्। खनाल भने एमालेबाट विभाजन हुनुको कारण अहिले पनि पुष्टि हुन नसकेको भन्दै नेपालमाथि कटाक्ष गरिरहेका छन्। महासचिव भुसाल भने द्वन्द्वकाल माओवादीद्वारा मारिएकाको अपजस लिन उक्त पार्टीमा सामेल हुन नसकिने बताउँदै आएका छन्। विभिन्न विषयमा कुरा उठिरहँदा यो पार्टीको केन्द्रीय कमिटी बैठक पनि जारी छ। जारी बैठकमा खनालले अध्यक्ष नेपालसहितलाई पार्टी छोडेर जानेलाई ढोका खुला रहेकोसमेत भन्न भ्याए। यसै सन्दर्भमा सम्मानित नेता खनालसँग खबरहबकर्मी ज्ञानु घिमिरेले गरेको संक्षिप्त कुराकानीः

केन्द्रीय कमिटी बैठकपछि एकीकृत समाजवादी पार्टी रहला?
रहन्छ। पार्टी हामीले विद्रोह गरेर ल्याएको हुनाले हामी हराउन दिने छैनौँ ।
केन्द्रीय कमिटी बैठकबाट निचोड एकताको पक्षमा देखियो भने यहाँहरूको के गर्नुहुन्छ ?
मैले आज बैठकमा नै प्रस्ट रूपमा राखिसकेको छु । हामी कार्यगत एकता चाहिँ सबै वामपन्थीसँग गर्छौँ । तर पार्टी एकीकरणको लागि परिस्थिति पाकेको छैन । नपाकेको अवस्थामा एकीकरण गर्छु भनेर जाने साथीहरूको कुरामा यो पार्टी विद्रोह जे उद्देश्यले गरिएको थियो त्यो उद्देश्यका विपरीत गएर पार्टी विसर्जनमा लाग्छन् भने देशभरी विभाजन हुन्छ।

यहाँ आफैँले पार्टी विभाजन गर्नुहुन्छ ?
यो त हाम्रो पार्टी हो। हाम्रो पार्टीलाई तोडेर फोरेर कोही बाहिर जान्छन् भने उनीहरूको कुरा हो। हामी आफ्नो पार्टीमा रहिरन्छौँ। हामी पार्टी फोर्दैनौँ। तर यो पार्टीलाई फोरेर कोही जाँदैछ भने बाटो खुला छ।

उसो भए माओवादीसँग मिल्न जानेलाई ढोका खुला गर्नुभएको हो?
हो । जानेलाई ढोका खुला छ। बस्ने साथी बस्नुहुन्छ। पार्टी नयाँ ढंगले जान्छ।

पार्टी अध्यक्ष त एकताको पक्षमा हुनुहुन्छ ?
त्यसैले त । हिजो विद्रोह गरेर क्रान्तिकारी पार्टी बनाउँछु भन्नुभयो। आज उहाँ कान्तिकारी होइन। पार्टीलाई लगेर अर्को पार्टीमा विलय गर्ने निर्णय गर्नुभयो यो भनेकै विर्सजनवाद हो। यो पार्टीलाई उहाँ आफैँले विसर्जन गर्न लाग्नुभयो। तर उहाँलाई बिदा गरेर हामी पार्टीमा बस्छौं।

अहिले एकता र अध्यक्षको पक्षमा पार्टीको बहुमत सदस्य होलान्। यही पार्टीमा त तपाईँ एक्लै हुनुहुन्छ कि?
मलाई नेपाली जनता र केही मेरा साथीले साथ दिनुहुन्छ भन्नेमा ढुक्क छु। केन्द्रीय कमिटीका बहुमत मान्छेहरू माधव नेपालको पक्षमा जान्छन् होला। किनकि उनले आफूखुसी केन्द्रीय कमिटी सदस्य चुनेको थाहा नै छ। हामी पार्टीमा रहन्छौँ।

महासचिव धनश्याम भुसाल र यहाँको लाइन एउटै हो?
उनी पनि माओवादीसँग अहिले एकता गर्नु ठिक छैन भन्ने पक्षमा छन्। किनकी अहिले हाम्रो पार्टीकै बारेमा समीक्षा गर्न बाँकी छ।

यहाँ त वाम एकताको पक्षमा हुनुन्थ्यो। माओवादीसँग मिलेर अन्य पार्टी मिलाउँदै एकता गरे हुँदैन?
वृहत् हुने भए त हुने थियो । एउटासँग गर्दा त अर्कोसँग झन् ठूलो विरोध बढेर जान्छ। विरोध बढाउन नेतृत्त्वले खोजिरहेको छ। म त्यसको पक्षमा छैन। एउटासँग पार्टी एकता गरेर अरूसँग विरोध बढाउने काम कुनै हालतमा हुनु हुँदैन सबै वामसँग मोर्चा कसेर कार्यगत एकता गरे मात्र उपयुक्त हुन्छ।

यहाँको कुरा चाहिँ मोर्चा बनाएर जाउँ, एकता अहिले नगरौँ भन्ने?
हो । विचार मिलेकासँग कार्यगत एकताका लागि मोर्चा गरेर जाने हो। विचार मिल्दै गए स्वीकार हुँदै गए पो पार्टी एकता हुन्छ त। नत्र त यसअघि नेकपा फुटेजस्तै हुन्छ। हामीले त भोगेको कुरा हो नि।

माओवादीसँग एकता किन नगर्ने?
अहिले पार्टी किन बन्न सकेनभन्दा पार्टीको गलत नेतृत्व हो। अब गलत नेतृत्व लिएर अर्को पार्टीमा जाँदा फेरि त्यो पार्टी पनि बन्दैन। यसकारण पहिले हामीले हाम्रो पार्टीमा समीक्षा गर्नुपर्छ। त्यसपछि मात्र अरूसँग एकता गर्ने नगर्ने भन्नेबारे सोच्न जरुरी छ। पार्टी चलाउन नसक्ने अनि अपरिपक्व एकतामा जाने?

अध्यक्ष नेपालको राजीनामा माग्नुभएको छ। उहाँले पार्टी चलाउन सक्नुभएन भनेर आफैँ अध्यक्ष बन्न लाग्नुभएको हो ?
हो। मैले राजीनामा मागेकै हो। बेतुकको कुरा गर्नुभन्दा राजीनामा दिएर जहाँ जान मनलागे पनि गए हुन्छ। पार्टी चलाउने थुप्रै छन्। म पदको लोभी छैन। राजनीति पुस्ताले गर्ने होइन। आठ वर्षकोले देश चलाउँछ। म पुस्तावादको पक्षमा छैन। विचार र कार्यक्रम कस्तो छ, कसको भन्ने छ। तर म पद माग्ने पक्षमा पनि छैन।

यहाँ त एमालेसँग मिल्ने पक्षमा पनि हुनुहुन्छ रे?
यो हल्ला हो। म कुनैसँग मिल्ने पक्षमा छैन। हाम्रो विद्रोहको उद्देश्य नै समाजवादी पार्टी बनाउने थियो। यहि पार्टी बनाउँ। एमालेसँग मिल्ने कुरा छैन। माओवादीसँग पनि मिल्ने कुरा छैन। सबैसँग छलफल हुन्छ। तर पार्टी कसैसँग विलय हुँदैन। म केपी कमरेड, प्रचण्ड कमरेड दुबैसँग कुरा गरिरहेको छु। तर वृहत् वाम एकताको लागि कुरा हो।

पार्टीका नेता कार्यकर्तालाई केहि भन्नु छ कि ?
केन्द्रीय कमिटीका साथी र हाम्रा कार्यकर्तालाई के भन्छु भने- जाने जान्छन् हामी पार्टी बनाउन लागौँ। अहिले पार्टी विसर्जन गर्ने होइन गहन ढंगले चार वर्षको समीक्षा गरेर पार्टी पुनर्गठन गर्ने समय हो। रूपान्तरण गरौँ। यो काममा लाग्नुहोस् हामी चानचुने होइन वृहत् वाम मोर्चामा लागौँ। क्रान्तिकारी पार्टी निमार्ण गरौँ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ११ : १३ बजे

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

ढाका- शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा

सार्वजनिक बस नयाँ बसपार्कबाट सञ्चालन गर्ने महानगरको निर्णय कार्यान्वयनमा समस्या

काठमाडौं– सङ्घीय राजधानी काठमाडौं उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँ

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्य : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा

जुम्लामा थपिए आठ सय ४९ मतदाता

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सरकारकै कारण अर्थतन्त्र थप मन्दीमा त जाँदैछैन ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले सुशासन र खर्च कटौतीको नाममा