काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो भने राष्ट्रवादी चिन्तन, राष्ट्रवादी योजना, राष्ट्रवादी व्यवहार र सँगसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई अघि सार्नु पर्नेमा जोड दिएकी छन् ।
मंगलबार राजधानीमा मदन–आश्रित स्मृति प्रतिष्ठानले ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘हामी राजनीतिक शक्तिहरूका कुरा गर्छौँ, राजनीतिक शक्तिहरू बीचमा हुने प्रतिस्पर्धाका कुरा गर्छौँ । जनताको माग, जनताको आवश्यकताका कुराहरू गर्छौँ । यी सबै कुराहरू गरिरहँदा खेरि अर्को छुटाउनै नहुने पाटो भनेको विश्व भू–राजनीति हो,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिलाई विश्व भू–राजनीतिले कुनै न कुनै ढङ्गबाट असर पुर्याई नै रहेको हुन्छ । भू–राजनीतिले विभिन्न कालखण्डमा निरन्तर रूपमा विभिन्न तरङ्गहरू पैदा गरिरहेको हुन्छ । ती तरङ्गहरूलाई बुझ्न आवश्यक छ र ती तरङ्गहरूलाई उपयोग गरेर राष्ट्रको अस्तित्व जोगाउनका लागि हामीले निरन्तर प्रयास गर्नुपर्छ, होइन भने राष्ट्रको अस्तित्व सङ्कटमा पर्न जान्छ ।’
उनले देशको अस्तित्वलाई बचाउने हो भने राष्ट्रवादी चिन्तन, राष्ट्रवादी योजना, राष्ट्रवादी व्यवहार र सँगसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई अघि सार्नु पर्नेमा पनि जोड दिइन् ।
‘राष्ट्रलाई प्राथमिकतामा राख्ने हो भने यी जियोपोलिटिक्सका कुराहरूलाई ध्यानमा राखेर हामीले अपनाउने परराष्ट्र नीति पनि समय अनुसार परिमार्जन गर्दै लैजानुपर्छ,’ उनले भनिन्, ‘विभिन्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग गर्ने हाम्रो व्यवहार पनि समय अनुसार परिवर्तन हुँदै जानुपर्छ ।’
एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मेरा लागि धेरै पक्षबाट नयाँ अनुभव
डंगोलले नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन आफ्ना लागि धेरै कुराहरूमा र धेरै पक्षहरूमा पहिलो अनुभव भएको पनि उल्लेख गरिन् ।
‘महाधिवेशनमा सहभागी हुनु, प्रतिनिधिका रूपमा सहभागी हुनु आफैँमा मेरो लागि पहिलो अनुभव थियो । महाधिवेशनमा उम्मेदवारी दिनु अर्को पहिलो अनुभव थियो,’ उनले भने, ‘केन्द्रीय सदस्यमा जित्नु अर्को पहिलो अनुभव हो । यी विविध पहिलो अनुभव सँगै मैले महाधिवेशनबाट धेरै कुराहरू सिकेँ र धेरै नवीनतम अनुभव पनि मैले गर्ने मौका पाएँ ।’
देशभरीका प्रतिनिधिको अनुभव, विचार सुनिरहँदा र उनीहरूसँग कुराकानी गरिरहँदा पार्टीप्रति अझ आफू विश्वस्त भएको र थप ऊर्जा थपिएको पनि उनले सुनाइन् ।
‘जस्तोसुकै चुनौती आइपर्दा पनि सकारात्मक हुनुपर्छ भन्ने ऊर्जा मैले महाधिवेशनबाट आफ्नो पर्सनल लर्निङका रूपमा लिएँ,’ उनले भनिन्, ‘महाधिवेशनमा ७७ वटै जिल्लाका नेपालीहरूलाई भेटिरहँदा, पार्टी भित्रका नेता कार्यकर्ताहरूलाई भेटिरहँदा केही हदसम्म मैले भूगोल बुझ्ने अवसर पनि प्राप्त गरेँ । यो मेरो लागि ‘मिनी नेपाल’ नै एकै ठाउँमा भेट्ने, देख्ने, सुन्ने अवसर पनि भयो ।’
नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो
डंगोलले ११ औँ महाधिवेशनमार्फत एमालेले नवयुवाको ‘मुभमेन्ट’ बुझेर सम्बोधन गरेको उल्लेख गरिन् । ‘युवाहरू राजनीतिमा आउनुपर्छ, युवाहरूलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र धेरैले बोली त बनाए तर एमालेले त्यो सन्देश व्यवहारमै उतार्यो,’ उनले भनिन्, ‘एमालेले एघारौँ महाधिवेशनमा छुट्टै क्लस्टर बनाएर युवाहरूलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनका सफल भयो । प्रतिनिधि चयनदेखि नेतृत्व छनोट सम्ममा ‘अन्डर ४०’ क्लस्टरबाट युवाहरूको सहभागिता सुनिश्चित गर्यो । म आफैँ पनि त्यहीँबाट विजयी भएँ । क्लस्टर बनाएसँगै थुप्रै युवाहरूको सहभागिताले पार्टी भित्रका युवाहरूलाई मात्र हैन, देशैभरिका युवाहरूलाई हौसला प्रदान गरेको छ ।’
उनले एमालेले गरेको प्रयोग एमालेका लागि मात्रै होइन देशभरिका अरु पार्टीहरूलाई पनि उदाहरण भएको उल्लेख गरिन् ।
राजनीति ज्ञान, विज्ञता, सिप, ऊर्जा र नेतृत्वदायी भूमिका चाहिन्छ
डंगोलले राजनीतिमा उमेरले मात्रै धेरै कुरा निर्धारण नगर्ने ठोकुवा गरिन् । ‘राजनीति भनेको उमेर समूह मात्र होइन । राजनीतिमा आउनका लागि ज्ञान चाहिन्छ, त्यही अनुसारको विज्ञता चाहिन्छ, त्यति मात्र नभएर सीप चाहिन्छ र महत्त्वपूर्ण कुरा ऊर्जा चाहिन्छ,’ उनले भनिन्, ‘उमेरले मात्र युवा भएर हुँदैन । ज्ञान, सिप, ऊर्जा र नेतृत्वदायी क्षमता छ भने मात्रै निरन्तर रूपमा देशलाई योगदान दिन सकिन्छ ।’
जीवराज आश्रित र मदन भण्डारीबारे
उनले मदन भण्डारी सँगसँगै जीवराज आश्रितले पार्टीलाई गरेको योगदान, डेमोक्रेसीमा योगदान अतुलनीय रहेको पनि स्मरण गरिन् ।
उनले मार्क्सवादका बारेमा पनि केही चर्चा गरिन्। ‘विभिन्न वादका कुरा गर्छौँ, सिद्धान्तका कुरा गर्छौँ, मार्क्सवादकै कुरा गर्ने हो भने पनि मार्क्सवाद र मार्क्सवादका विभिन्न सिद्धान्तहरू र आजको परिपेक्षमा भएका विभिन्न परिवर्तनहरू, पुँजीवादका विभिन्न कदमहरू र समाजवादलाई सबैले आ–आफ्नै ढङ्गबाट, आ–आफ्नै साँचोमा ढाल्ने, आकार दिने, व्याख्या गर्ने सन्दर्भमा यी सबै कुराहरूलाई बुझेर मार्क्सवादको सही व्याख्या गर्न, बुझ्न र सही अनुरूपमा हामीले त्यसको जानकारी लिएर नीति बनाउन आजको आवश्यकता हो,’ उनले भनिन् ।
पुस्तान्तरण आमाबुवाले छोराछोरीलाई अंश दिएको जस्तै दिने कुरा होइन
डंगोलले अहिले राजनीतिमा सबैभन्दा धेरै ‘पुस्तान्तरण’ विषय आउने गरेको भन्दै पुस्तान्तरण आमाबुवाले छोराछोरीलाई अंश दिएको जस्तै दिनेलाई पुस्तान्तरण भन्न नहुने दाबी गरिन् ।
‘पुस्तान्तरण भन्ने बित्तिकै ६० वर्षको उमेरकोले २० वर्षको उमेरको मान्छेलाई मैले ठाउँ छोडेँ अब तिमी आउ भनेको पुस्तान्तरण होइन,’ उनले भनिन्, ‘पुस्तान्तरण भन्नुको अर्थ त्यहाँ नलेज ट्रान्सफर हुन जरुरी छ, त्यहाँ स्किल ट्रान्सफर हुन जरुरी छ, त्यहाँ इन्फर्मेसन ट्रान्सफर हुन जरुरी छ, त्यहाँ विचार ट्रान्सफर हुन जरुरी छ, त्यहाँ सिद्धान्त ट्रान्सफर हुन जरुरी छ ।’
उनले एउटा व्यक्तिलाई हटाउने अनि अर्को व्यक्तिलाई ल्याउनेलाई पुस्तान्तरण भनेर बुझ्यौँ भने यसले अर्को दुर्घटना निम्त्याउने पनि दाबी गरिन् ।
‘पार्टी भित्र पुस्तान्तरणको कुरा गरिरहँदा पार्टी भित्र विभिन्न उमेर समूहका नेतृत्व रहिरहँदा लर्निङ एण्ड सेयरिङको वातावरण हुन जरुरी छ । धेरै जानेकोले थोरै जानेकोलाई सिकाउने वातावरण हुन जरुरी छ । थोरै जानेकोले पनि नयाँ विषयमा नयाँ जानेको छ भने सिक्ने वातावरण हुन जरुरी छ,’ उनले भनिन्, ‘हामीले गुरु शिष्य परम्परा भन्छौँ, यो गुरु शिष्य परम्परा पार्टी भित्र पनि विभिन्न पुस्ता बिच हुन जरुरी छ, अनि मात्र पुस्तान्तरण, साच्चिकैको पुस्तान्तरण हुन्छ ।’
उनले युवाहरूलाई राजनीतिमा मात्र हैन, इन्टरनेसनल लेभलको, अन्तर्राष्ट्रिय तहको इन्टेलिजेन्स ह्युमन रिसोर्स बनाउनु पर्नेमा पनि जोड दिइन् ।













प्रतिक्रिया