काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो– ‘झरीपछिको इन्द्रेणी’ । निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले भने आफ्नो फिल्म निकै राम्रो बनेको दाबी गर्न छोडेका छैनन् ।
आफ्नो फिल्म निकै राम्रो छ भन्ने सन्देश दिन उनी विभिन्न युट्युब च्यानल बोलाएर अन्तर्वार्ता दिँदै हिडेका छन् । उनीनिकट व्यक्तिहरुले ‘युट्युबमा बोलेर फिल्म चल्दैन’ भनेपछि अहिले केही कम भएको छ ।
चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले सुरुवाती ९ प्रदर्शन दिनमा मात्रै ६२ लाख ६९ हजार व्यापार गरेको छ । यो कमजोर व्यापारबारे उनको तर्क छ- ‘हलले कम शो दिँदा व्यापार कम भयो ।’
पाँडेले केही दिनअघि एउटा युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा ‘रवि दाइ आएर फिल्मलाई बचाइ दिनु पर्यो’ भन्दै गुहार मागेका थिए । उनै रवि अर्थात्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले हलमा ‘झरीपछिको इन्द्रेणी’ हेर्न पुगेका छन् ।
आगामी निर्वाचन र आफ्नै व्यक्तिगत किचलोमा परेका रवि त्यसै फिल्म हेर्न भने गएका होइनन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह अहिले रवि नेतृत्वको दलमा छन् । पाँडे बालेन्द्रको विशेष मान्छे भएकाले रवि फिल्म हेरिदिन हलसम्म पुगेको बुझिन्छ ।
बालेन्द्रले पनि यो फिल्मको हाइप बढाउन एक गीत गाएका थिए । तर, आजको दिनसम्म पनि फिल्मको व्यापार उकासिएको छैन ।
पाँडेले अन्तिम कसरतका रुपमा रविलाई हलमा भने पुर्याएरै छाडेका छन् । रविले भने फिल्मबारे राम्रै शब्द खर्चिए । सम्मानले बोलाएर देखाएको फिल्मलाई रविले किन नराम्रो भन्थे र ?
रविले त सिक्वेल नै बन्छ जस्तो लागेको प्रतिक्रिया दिए । उनले थपे, ‘सन्देश राम्रो छ । यो एकपटक हेर्नु पर्ने फिल्म हो जस्तो मलाई लाग्छ । पूरा फिल्म हेर्न पाइनँ । आधा हेर्दा पनि राम्रो लाग्यो । हेर्न सिफारिस गर्छु ।’
फिल्मले राम्रो व्यापार नगरेपछि नेता र चर्चित व्यक्तिहरुलाई ल्याएर देखाउने प्रचलन पुरानै हो । उनीहरुले बाध्यात्मक रुपमा राम्रो भन्नुपर्ने जटिलतालाई मेकरहरु प्रचारको अस्त्र बनाएको पाइन्छ । अन्ततः पाँडे पनि यो अभ्यासलाई डेब्यू निर्देशनमै निरन्तरता दिएका छन् ।
अब रविको आह्वानले ‘झरीपछिको इन्द्रेणी’को व्यापारले रफ्तार लिन्छ त ? त्यो भने हेर्न बाँकी छ । न अपवाद नै बन्छ कि, किनभने प्रदर्शनको करिब दुई सातापछि फिल्म उठेको नेपाली इतिहास छैन ।













प्रतिक्रिया