सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्र | Khabarhub Khabarhub

सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्र


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जुम्ला– लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेष गरी उपलब्धिविहीन भएका हुन् ।

जिल्लाको तिला गाउँपालिकामा चार, हिमामा चार र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् ।

 प्रतिआयोजनामा कम्तीमा रु ५० लाखभन्दा बढी बजेट खर्च गरिएका छन् । तर, अहिले चार वटा आयोजना मात्र सञ्चालनमा छन् । बाह्रवटा लिफ्ट सिँचाइका आयोजना लथालिङ्ग अवस्थामा छन् ।

तातोपानी गाउँपालिकामा आठवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले दुई वटा मात्र सञ्चालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताए। यहाँ निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँच वर्षे कार्यकालमा निर्माण भएका हुन् ।

 सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालु आर्थिक वर्षमा १ र ६ नं वडामा विद्युतीय प्रणालीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिका योजना शाखाका अधिकृत चन्दको भनाइ छ ।

हिमा गाउँपालिकामा चार वटा सोलार प्रणालीमार्फत निर्माण भए पनि अहिले सबै आयोजना सञ्चालनमा नरहेको गाउँपालिका सूचना अधिकारी रतन रावतले जानकारी दिए । सोलार प्रणालीबाट सञ्चालन गरिएका सिँचाइ आयोजना खासै सफल भएका छैनन् । गाउँपालिका–३, मोप्लागाउँमा दुई सय ८५ घरपरिवारले सिँचाइ पुग्नेगरी २०७७ सालमा लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो । 

कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको सहयोगमा गाउँमा ५० लाखमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो ।  सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने र त्यतिबेलासम्म सिँचाइ गर्न सकिने अपेक्षा गरिएको थियो, अहिले प्रयोगविहीन भएको सूचना अधिकारी रावतको भनाइ छ ।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तिलामा चार वटा लिफ्ट सिँचाइ आयोजना छन् । चार वटा आयोजनामध्ये विद्युतीय प्रणालीबाट जडान गरिएका दुई वटा आयोजना मात्र सञ्चालनमा रहेको बताए ।

जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।

अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्र खेती भएको छ । जिल्लामा खेतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नपुगेका जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेष गरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाइँदै आएको छ ।

सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्‍याउन एक दशकअघिदेखि नजिकको तिला र हिमा नदीको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याए पनि आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको यहाँका स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : २५ बजे

नेपाल-चीन कूटनीति सम्बन्धको खुसी साट्दा कम्युनिस्टहरू एकै ठाउँ

काठमाडौं- नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं

माथिल्लो सेती : १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

काठमाडौं – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट

अफसिजनमा पनि खुलेको जिरी 

दोलखा– जिरीलाई व्यापार व्यवसाय र पर्यटक आगमनको हिसाबले वर्षादको समयलाई

सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८