राजवल्लभ कोइराला : हलिउड हुँदै अमेरिका पुगेका बहुप्रतिभाशाली नायक | Khabarhub Khabarhub

कला

राजवल्लभ कोइराला : हलिउड हुँदै अमेरिका पुगेका बहुप्रतिभाशाली नायक


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजवल्लभ कोइराला ‘नाइन्टिज किड’का लागि नौलो नाम होइन । उनीहरूमध्ये धेरैका प्रिय नायक हुन् – राजवल्लभ !

‘जेनजी’ पुस्ताले राजवल्लभलाई नचिन्न सक्छ । किनकी उनी करिब एक दशकभन्दा बढी समय फिल्मबाट टाढा बसे ।

यतिखेर राजवल्लभ फिल्म ‘एक्टर : टेक वान’बाट पर्दामा फर्किएका छन् । यो फिल्मको प्रचारमा उनी व्यस्त छन् ।

बजारमा एक्सन बिकिरहेको अवस्थामा ‘लभ स्टोरी’ कथा फिल्मबाट उनी सिनेमा क्षेत्रमा प्रवेश गरे । पहिल्यै फिल्म ‘पर्खी बसँे’ले उनलाई नायकमा स्थापित गरायो ।

राजेश हमाल, निखिल उप्रेती र विराज भट्टको दबदबा चलिरहेको बेला नयाँ हिरोको रूपमा उनी उदाएका थिए ।

राजवल्लभले केमियोसहित २७ फिल्ममा अभिनय गरेका छन् । आधा दर्जनभन्दा बढी फिल्म सुपरहिट नै भए ।

सन् २०१४ देखि सन् २०२५ सम्म नेपाली सिने क्षेत्रबाट अलगप्रायः भएका राजवल्लभवले यसबीच के गरे त ? यो सामग्री राजवल्लभको जीवन र कलायात्राकै आरोह अवरोह केन्द्रित छ ।

पोखराका रैथाने

राजवल्लभ पोखरास्थित गैरपाटनका रैथाने हुन् । चार दशकअघि कोइराला दम्पतीका जेठो सन्तानका रूपमा उनको जन्म भयो । उनका एक भाइ र बहिनी छन् ।

पोखराका रैथाने र बुवा त्यहीँ दूग्ध विकासको संस्थान (डीडीसी)को जागिरे भएकाले राजवल्लभले बाल्यकालमा खासै अभाव खेप्नुपरेन ।

घरमा दुहुनो भैँसी थियो, दूधभात खान पाइहाल्थे । गैरापाटन सहरीकरण भएपछि भने स्थानीयले वस्तुभाउ पाल्न छाडे । तथापि; बुवाले पछिसम्म व्यवसायिक कुखरापालन गरेको उनी बताउँछन् ।

भन्छन्, ‘हाम्रो परिवार मध्यम वर्गीय नै हो । बुवाले हाम्रो सहज बाल्यकालका लागि जागिर बाहेक पोल्ट्री फार्म पनि गर्नुहुन्थ्यो ।’

बुवाको यही मेहनतका कारण राजवल्लभले पढ्नकै लागि गरिबीसँग सम्झौता गर्नुपरेन । तत्कालीन समयको पोखराको चल्तीको बोर्डिङ स्कूल ‘कुमुदिनी होम्स’मा उनले स्कूले शिक्षा पूरा गरे ।

पढाइको मामलामा उनी आफूलाई ठिकै मान्छन् । भन्छन्, ‘म पहिलो डिभिजनमा नै पास हुने विद्यार्थी हूँ । पहिलो/दोस्रो नभए पनि प्रतिस्पर्धी विद्यार्थी थिएँ ।’

ऐच्छिक गणितमा कमजोर भएकाले कक्षा ८ मा पढ्दा भने पहिलोपटक दोस्रो डिभिजनमा पास भएको उनी सुनाउँछन् । भन्छन्, ‘हामीले ऐच्छिक गणित कक्षा ८ देखि लिनुपथ्र्यो । त्यसमा चाहिँ म अलिक कमजोर थिए । यही विषयमा कम नम्बर आउँदा कक्षा ८ मा पहिलो र एकैपटक दोस्रो डिभिजनमा पास भएँ ।’

कलाकारिताको छनक

राजवल्लभको बुझाइमा बुवा ‘सुनिश्चित भविष्यका लागि पढ्नैपर्छ’ भन्ने मान्यता राख्नेमा पर्छन् ।

बुवाबारे उनी ठट्यौली शैलीमा भन्छन्, ‘घरमा टेलिभिजन ल्याए भने छोरा छोरीको पढाइ बिग्रिन्छ भन्ने पुस्तामा पर्नुहुन्छ !’

राजवल्लभले यो त्यसै भनेका होइनन् । वास्तवमा यही कारण देखाएर घरमा निकै पछिमात्र टीभी बज्न थालेको हो ।

सुनाए, ‘बुवाले घरमा टीभी ल्याउनुभएन । महँगो पनि पथ्र्यो । सामान्य मूल्यमा टीभी आउँदैन थियो । मुख्य कारण चाहिँ छोराछोरीले पढाइ बिगार्छन् भनेरै बुवाले टीभी निकै पछि किन्नुभएको हो । हामी छिमेकीकहाँ धाउन लागेपछि उहाँलाई टीभी किन्ने बाध्यता आइलाग्यो ।’

ढिलै भए पनि राजवल्लभको घरमा टेलिभिजन आयो । उनको एकीन मिति त बिर्सिए, तर ४/५ मा पढ्दा आफ्नो घर टेलिभिजनको धनी भएको उनको अनुमान छ ।

टेलिभिजन हेर्दा घत लागेका विज्ञापन र चाख लागेका संवाद कण्ठ गर्न उनको बानी थियो । भन्छन्, ‘त्यसबेला कण्ठ पारेका केही विज्ञापनहरू अहिले पनि मलाई याद छ ।’

धेरैलाई थाहा नहोला – राजवल्लभमा विभिन्न व्यक्तिको क्यारिकेचर गर्ने क्षमता छ । हरिवंश आचार्यले निर्वाह गरेको पात्र ‘हरिबहादुर’को समेत उनी क्यारिकेचर गर्छन् ।

भन्छन्, ‘मैले हरिबहादुर र नारद खतिवडाको क्यारिकेचर गर्दा धेरैले मन पराउँछन् ।’

क्यारिकेचर गर्ने प्रयास उनको स्कूलमा रहँदै सुरु भएको हो । स्कूलमा रहँदा कक्षा अगाडि गएर टीभीमा हरेको विज्ञापनहरू र क्यारिकेचर गर्थे ।

उनी कलाकारको मात्रै होइन, आफूलाई पढाउने शिक्षकको बोली पनि नक्कल गर्न सक्थे । आफ्नो क्यारिकेचर क्षमतालाई शिक्षकले मन पराए पनि यससँग जोडिएको एउटा अविस्मरणीय किस्सा छ ।

सरहरूको क्यारिकेचर गरेको स्कूलको निर्देशकले थाहा पाएछन् । ‘सरहरूको बोली नक्कल गर्ने को हो त्यो केटा ? त्यसलाई लाइन अगाडि ल्याएर गाला पड्काउँछु’ भनेछन् । उनले तर्साएका थिए, कुटपिट नै गरेनन् ।

कक्षामा प्रस्तुती दिने अभ्यासले आफूलाई धेरै मानिसका अघि बोल्ने आत्माविश्वास दिलायो ।स्कूलका अतिरिक्त क्रियाकलापमा भाग लिन अग्रसर हुन्थे, त्यसकारण पनि चर्चित

कविता, वादविवाद, वक्तृत्वकलामा भाग लिइरहेका हुन्थे । अधिकांश प्रतियोगितामा प्रथम नै हुन्थे ।

राजवल्लभको विशेष रुचि कवितामा थियो । उनले पहिलो कविता स्कूलको स्टेजमै लिएर गएका थिए ।

रेडियोमा जागिर

राजवल्लभले वि.सं २०५५ सालमा प्रथम श्रेणीमा एसएलसी (प्रवेशिका परीक्षा) उत्तीर्ण गरे ।

त्यसबेला प्रथम श्रेणीमा पास हुने विद्यार्थीले प्रवीणता प्रमाणपत्र तहमा साइन्स विषय रोजेर पढ्ने लहड थियो । राजवल्लभलाई बुवाले पनि साइन्स नै लिएर पढ्न सुझाएका थिए ।

तर, उनी विदेश गएर ‘प्लस टू’ गर्ने चक्करमा लागे, साइन्स लिएनन् । कसैले अस्ट्रेलिया गएर उत्तै पढ्न पाइने कुरा सुनाएको थियो । उनले जान प्रयास पनि गरे । तर प्रक्रिया पुर्‍याउन सकेनन्, भिसा आएन ।

विदेश जाने प्रक्रियाका कारण उनको पढाइ छुटिसकेको थियो । अब बुवाले चाहेको विषय पढ्न फारम भर्ने म्याद पनि गुज्रिसकेको थियो ।

सँगैका स्कूले साथी कलेज जान थालेका थिए । उनलाई बीचमा पढाइ छुटाउन मन थिएन । अन्तिम विकल्प थियो – पीएन क्याम्पसमा मानविकी विषय लिएर पढ्ने !

‘विद्यार्थी नेताको भनसुनमा म भर्ना भएर पढेको हो, नत्र त म्याद गुज्रिसकेको थियो । कलेज जान झण्डै एक वर्ष ढिला भयो ।’

उनी क्याम्पस पढ्दै गर्दा पोखरामा एफएम खोल्ने क्रम बढ्यो । घरका छतहरूमा देखिने एफएमका टावरहरूले उनलाई पनि रेडियोमा बोल्न आकर्षित गर्‍यो । यसपछि उनको जीवनमा नयाँ अध्याय सुरुवात भयो, त्यो थियो – रेडियोको जागिर !

पोखराका एफएमहरूले नयाँ पुस्तालाई अवसर दिन आवेदन खुलाइरहेका थिए । राजवल्लभलाई रेडियोमा बोेल्ने रुचि थियो, तर अनुभव थिएन ।

सोहीकारण उनी पोखरा एफएममा आवदेन दिँदा छानिएनन् । दोस्रो पटकको प्रयासमा भने उनलाई माछापुच्छ«े एफएमले अवसर दिने भयो ।

तर, अन्तर्वार्तामा उनलाई त्यही प्रश्न दोहोरियो, ‘रेडियोमा काम त गरौला राज, तर यसबारे के क्षमतासँग तिमीसँग ?’

यहाँ भने राजवल्लभलाई स्कूलमा गर्ने क्यारिकेचर र रमाइला गतिविधिको अनुभव काम लाग्यो । उनले ‘मनोरञ्जनात्क कार्यक्रम आफ्नो शैलीमा चलाउँछु’ भने । रेडियोमा जागिर पाए ।

उनले सुरुमा चलाएको मनोरञ्जनात्मक कार्यक्रम ‘ब्रेक फेल’ हो । त्यस समय उक्त कार्यक्रम चर्चित भयो । अहिले पनि उनलाई त्यही कार्यक्रमबाट सम्झने श्रोता भेटिन्छन् ।

भन्छन्, ‘सुरुमा मनोरञ्जनात्मक कार्यक्रम चलाएँ । पछि अन्तर्वार्ता, सांगीतिक कार्यक्रम र साथीहरूको अनुपस्थितिमा आइपरेका सबै कार्यक्रममा हात हालेँ ।’

जागिर छाडेर काठमाडौं

राजवल्लभलाई साथीहरूले ‘अग्लो छस्, क्यारिकचेर गर्न सक्ने मान्छेले अभिनय पनि गर्न सक्छ, हिरो बन्’ भन्थे ।

साथीले मात्रै होइन, उनलाई वरिष्ठ कलाकार नीर शाहले एक सेमिनारमा भेट हुँदा भनेका थिए रे, ‘तिमी अर्को राजेश हमाल हुन सक्छौ है !’

रेडियोमा जागिर गर्दा उनी केही फिल्मकर्मीसँग नजिकिएका पनि थिए । सिनेमा क्षेत्रका व्यक्तिहरू फिल्म प्रचारका लागि पोखरा आउँदा राजवल्लभले रेडियोमा अन्तर्वार्ता नै लिन्थे ।

यता राजवल्लभले अंग्रेजी साहित्यमा स्नातक गरिसकेका थिए । एफएमका चर्चित ‘आरजे’ समेत बनिसेका थिए ।

तर, एफएमको जागिर आर्थिक हैसियत सुधार गर्ने किसिमको थिएन । आफूले पढेको विषयले पनि आर्थिक सुधार हुने जागिर दिलाउँछ भन्ने उनलाई लागेन ।

भविष्यबारे राम्रो आम्दानी गर्न सक्ने क्षेत्र सोच्ने क्रममा उनी फिल्म पढ्ने निर्णयमा पुगे । नेपालमा यही क्षेत्रमा पैसा नभए पनि विदेश जान त फिल्मको पढाइले सहयोग गर्ला भन्ने लाग्यो । विदेशमा फिल्ममा मास्र्टस गर्न गइयो भने त राम्रै हुन्छ भन्ने सोचे ।

४४ महिना काम गरेको रेडियो छोडेर राजवल्लभ फिल्म पढ्न काठमाडौं हानिए ।

काठमाडौंमा दौडधुप

राजवल्लभ काठमाडौंको आउनुको उद्देश्य स्पष्ट थियो– फिल्म पढ्ने र अभिनयमा भविष्य खोज्ने !

उनको पहिलो प्राथमिकता पढाइ थियो । काठमाडौंमा व्यक्तिगत खर्च जोहो गर्न रेडियोमा काम खोजे, तर पाएनन् ।

रेडियोमा काम गर्न काठमाडौंमा प्रतिस्पर्धा रहेछ । त्यता धेरै चासो दिएनन् । उनको लक्ष्य त अभिनय क्षमता निखार्नु थियो ।

उनले रेडियो सर्कलबाट चिनेका साथीहरू कान्तिपुर एफएममा कार्यरत थिए । उनी प्रायः फुर्सदको समयमा कान्तिपुर रेडियोको परिसर पुगिरहन्थे ।

त्यहीँ उनलाई पहिलोपटक म्युजिक भिडियोको प्रस्ताव आयो । उनले खेलेको पहिलो म्युजिक भिडियो हो – ‘किन मायामा यति धेरै चोट हुन्छ’ । जसका गायक उदय श्रेष्ठ हुन् ।

यो म्युजिक भिडियो बिना पारिश्रमिक गरेको उनी बताउँछन् । उक्त म्युजिक भिडियो र रेडियाले फिल्म सकर्लमा चिनाएपछि उनले केही व्यापारिक विज्ञापनमा समेत अभिनय गर्न पाए ।

काठमाडौं आएपछि पनि आफूलाई खर्च पुग्ने गरी पैसा चाहिँ कमाउँथे । घर हेर्नुपर्ने जिम्मेवारी नभएकाले उनलाई काठमाडौंमा पनि संघर्ष गर्न सहज भयो ।

उनी इमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘भिजे’ हन्टमा समेत प्रतिस्पर्धी बने । तर, बाइक दुर्घटनामा परेकाले यसलाई उनले निरन्तरता दिन सकेनन् ।

काठमाडौं आएको दुई वर्ष बित्दा नबित्दै उनले केही म्युजिक भिडियो र विज्ञापनमा अभिनय गर्न भ्याए । यता फिल्मको पढाइ चलिरहेको थियो, उनी यसैमा रमाइरहेका थिए ।

त्यत्तिकैमा ‘सुपर एक्टिङ’ रियालिटी शो खुल्यो । उनी त्यस प्रतिस्पर्धामा सहभागी भए । सोही कार्यक्रमबाट ‘नोटिस’ भएर उनले पहिलो फिल्म पाएका हुन् ।

यस हिसाबले काठमाडौं आएर पनि राजवल्लभले धेरै दौडधुप गर्नुपरेन । आएको दुई वर्षमै फिल्म खेल्न पाए ।

गोपीकृष्णले ‘लन्च’ गरेको हिरो

राजवल्लभको डेब्यू फिल्म ‘पर्खि बसेँ’ हो, जुन सन् २००७ मा प्रदर्शनमा आएको थियो ।

त्यसेबला फिल्ममा राजेश हमाल, निखिल उप्रेती र विराज भट्टको दबदबा थियो । एक्सनप्रधान फिल्मले बजार पिटिरहेको थियो ।

त्यतिखेर नयाँ अनुहारका हिरो स्थापित हुन सकेका थिएनन् । त्यस समयमा राजवल्लभले डेब्यू गरे ।

बजारको ठूलो ब्यानर ‘गोपी कृष्ण फिल्म’ले उनलाई ब्रेक दियो । ठूलो ब्यानरमा लन्च भएकै कारण उनी मेकरहरूको नजरमा परे ।

पहिलो फिल्म ‘लभ स्टोरी’ जनारामा निर्माण भएको थियो । फरक विधामा बनेको फिल्म सुपरहिट साबित भयो ।

यता राजवल्लभका लागि व्यक्तिगत रूपमा सोही फिल्मले यस क्षेत्रमा स्थापित गरायो । नेपाली सिनेमा क्षेत्रमा नयाँ नायकको प्रवेश भयो ।

एक वर्षमा आधादर्जन फिल्म

राजवल्लभले फिल्मका लागि कपडा आफैँले किन्नुपर्ने सर्तमा पहिलो फिल्मबाट ३५ हजार रुपैयाँ पारिश्रमिक पाएका थिए ।

उनको दोस्रो फिल्म ‘हे युवा’ हो, जुन बिना पारिश्रमिक खेलेको उनी बताउँछन् ।

तेस्रो फिल्मबाट भने आफ्नो मागअनुसार पारिश्रमिक बुझ्न थाले । हिट भइसकेका राजवल्लभलाई निर्माताहरू मागेको पारिश्रमिक दिन राजी हुन्थे ।

उनी आफू फिल्म क्षेत्रमा उत्कर्षमा रहेको वर्ष सन् २०१० लाई मान्छन् । सो वर्षभर उनी अभिनित ६ फिल्म प्रदर्शनमा आयो ।

आफू उत्कर्षमा रहँदा एक फिल्मबाट तीन लाख रुपैयाँसम्म पारिश्रमिक बुझेको उनले खबरहबलाई बताए । तेस्रो फिल्ममा ७५ हजार रुपैयाँ लिए, त्यसपछि बढाउँदै तीन लाख रुपैयाँसम्म पुर्‍याए ।

अमेरिका प्रवेश

सन् २०१४ मा राजवल्लभ अमेरिका गए । अमेरिका जानुअघि उनले २७ वटा फिल्ममा अभिनय गरिसकेका थिए, जसमा आधा दर्जनभन्दा बढी फिल्म हिट भए ।

राजवल्लभ आफूले अमेरिकामा भविष्य खोज्नुको कारण नेपाली फिल्म क्षेत्रको अनिश्चितता भएको तर्क गर्छन् ।

‘स्वर’ फिल्म छायाङ्कन दौरान राजवल्लभ दुर्घटनामा परेका थिए । उनको अनुहारमा चोट लागेको थियो ।

यही दुर्घटनाले वास्तविक आर्थिक हैसियत देखाएपछि फिल्मभन्दा अन्यत्र भविष्य खोज्न थप टेवा पुर्‍याएको उनी सम्झन्छन् ।

भन्छन्, ‘उमेर बढेको थियो । पारिवारिक जिम्मेवारी पनि थियो । बचत गरेको दुई लाख रुपैयाँ पनि दुर्घटनाका कारण उपचार गराउँदैमा खर्च भयो । म शून्य जस्तै भएँ । गाडीको किस्ता र परिवारिक खर्च ब्यहोर्दा मैले आर्थिक हैसियत थाहा पाएँ ।’

सन् २०१० तिर चलचित्र बजार पनि सुस्ताएको थियो । फिल्म हलमा लाग्थे, तर दर्शकको उपस्थिति कमजोर थियो ।

फिल्ममा डुबेका निर्माताबाट पारिश्रमिक पाउन मुस्किल पर्ने अवस्था थियो । आजको मितिसम्म पनि उनले काम गरेका केही फिल्मबाट पारिश्रमिक पाएका छैनन् ।

सोही क्रममा उनी हलिउड फिल्म ‘हाइवे टू धम्पुस’ मा अनुबन्ध भए । यस फिल्मको सानो अंश छायाङ्कन गर्न उनी अमेरिका गएका थिए ।

अमेरिकामा एक दशक

फिल्म ‘हाइवे टू धम्पुस’को छायाङ्कन सकेर राजवल्लभ नेपाल फर्किए । आएर फिल्म ‘ऋतु’मा अभिनय गरे ।

दोस्रोपटक उनी आफ्नै अभिनय रहेको फिल्म ‘किन लाग्छ माया’ प्रदर्शनका लागि अमेरिका गएका हुन् । त्यसपछि भने उनी उतै बसे ।

भन्छन्, ‘मैले त्यहाँ ग्रीन कार्डका लागि सहज हुने भिसा पाएको थिएँ, उतै बसेँ ।’

उनी जाँदा भाइ र बहिनी पढाइका क्रममा अमेरिकामै थिए । त्यसकारण पनि उनलाई त्यहाँ बस्न सहज भयो ।

भन्छन्, ‘गएर कहाँ बस्ने भन्ने चिन्ता भएन । भाइ बहिनीसँग बसियो । अनि उनीहरूबाट पनि अमेरिकामै बस्न सल्लाह भयो, उतै बसियो ।’

सन् २०१४ मा अमेरिका गएपछि उनले फिल्मबाट विश्राम लिए । त्यहाँ उनले फेरि सुरुवातदेखि संघर्ष गरे । बजारमा माग भएको कोर्स पढेर जागिरे जीवनमा लागे ।

सन् २०१४ मे देखि केही अघिसम्म आफू अमेरिकाको एक बैंकमा कार्यरत रहेको उनी बताउँछन् ।

भन्छन्, ‘केही दिन अघिमात्रै मैले जागिर छोडेको हो । त्यही जागिरबाट म अमेरिकामा सेटल भएँ ।’

अहिले उनी अमेरिकामा स–परिवार बस्दै आएका छन्, अमेरिकामै सेटल छन् । अहिले उनी एक छोरीका बुवा पनि हुन् ।

एक्टरबाट कमब्याक

अहिले राजवल्लभ नेपालमा छन् । उनी आफ्नो कमब्याक फिल्म ‘एक्टर : टेक वान’ प्रदर्शनका लागि नेपाल आएका हुन् ।

उनको फिल्म माघ १८ बाट प्रदर्शनमा आएको छ । अमेरिका जानुअघि उनी अन्तिमपटक फिल्म ‘६ एकान ६’मा विशेष भूमिकामा देखिएका थिए । यस अर्थमा उनी एक दशकपछि पर्दामा फर्किएका छन् ।

राजवल्लभ फिल्मभन्दा अगाडि साहित्यको विद्यार्थी हुन् । यो समाग्रीको सुरुवातमा पनि उनको कविताप्रतिको रुचिबारे थोरै उल्लेख गरिएको छ ।

यो नेपाल बसाइँमा आफ्नो कविता संग्रह ‘औरा’ पनि सार्वजनिक गर्ने योजनामा उनी छन् । औरा उनकी छोरीको नाम पनि हो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : २१ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न

काठमाडौं – नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि आमनागरिकलाई जानकारी दिने

‘अर्थतन्त्र सुधार्छु’ भनेको सरकार कानून गन्दै बस्दै !

काठमाडौं – अहिले नेपालमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस

छानबिन होला त ओली, देउवा र प्रचण्डको सम्पत्ति ?

काठमाडौं– संघीय संसदको पाँचौं अधिवेशन शुक्रबारदेखि शुरु भएको छ ।

बालबालिको प्रतिभालाई सबैले प्रोत्साहन गर्नुपर्छः मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बालप्रतिभाको