एकदिने ‘वारेन्टी’ नधानेको राजावादी लौरो ! | Khabarhub Khabarhub

एकदिने ‘वारेन्टी’ नधानेको राजावादी लौरो !



कुनै एक मन्त्री खुसी हुँदै मिठाई बाँडिरहेका थिए । यो दृश्य देखेर मन्त्रीका एक साथीले सोधे– ‘तिम्रो छोरो त जाँचमा फेल भयो र पनि तिमी कुन खुशियालीमा मिठाई बाँडिरहेका छौ ?’ प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर दिए– ‘मेरो छोरो फेल भो त  के बिग्रियो । कक्षाका सम्पूर्ण ५० जना विद्यार्थी मध्ये २० जनाले मात्र पास हुने मौका पाए । जबकी ३० जना फेल भए । यस अवस्थामा आखिर बहुमत त मेरो छोराकै पक्षमा छ । म यही खुसीलाई बाँड्न मिठाई ख्वाइरहेको छु ।’

ठ्याक्कै माथि चर्चा गरिएका मन्त्रीसँग तुलनायोग्य दुर्गा प्रसाईं यहाँको सत्ता र शक्तिले कस्ता मानिसलाई ‘हिरो’ बनाउँछ भनेर बुझ्न पर्याप्त पात्र हुन् । असल मानिससँग हुनुपर्ने एउटा गुण यिनीसँग छैन । प्रज्ञा र चेतनाको बहस छैन । नीति र धर्मको ज्ञान छैन । उद्यमको सूत्र छैन । मेडिकल व्यवसायीको फुर्को जोडिएको छ, तर दिनरात सत्ता र शक्तिको आशक्ति छ । धनको उन्माद छ । मान्छे जुधाउने प्रपञ्च छ । बोलीपिच्छे शब्दकोशमा उल्लेख नभएका शब्दको भण्डार छ । हिन्दु धर्म र राजाका लागि रोडम्याप कोर्ने कमाण्डरमा गाली, गाली अनि फेरि गालीका धारावाहिक प्रलाप छन् ।

पूर्वराजा ज्ञानेन्द्रका धेरै कमजोरी होलान् । यद्यपि सभ्य, सालिन र अनुहारमा चम्किने सन्तुष्टिको त्यो आभाले गणतन्त्रका नेताहरूको सातो लगिदिने गरेको छ ।

बैङ्कको पैसाले प्रसाईंलाई धनी बनायो । त्यो पैसाको स्रोत भनेको वृद्ध बाआमाले ओछ्‌यान परेपछि सिटामोल र जाउलो खान राखेको पैसा हो । त्यही बीउ बैङ्कहरूले फास्ट ट्रयाकमा फाइदाका लागि यस्ता व्यक्तिहरूमा लगानी गरेका हुन् । व्यवसायका लागि लिएको ऋण नतिर्ने उनको घोषणा समाचारका हेडलाइन बन्ने गरेका छन् । गलपासो बन्नुपर्ने अरबौँको ऋण मनोरञ्जनको साधन बनेको छ । तीन वर्षअघि दुबईका राजकुमार जुमा अल मोक्तुमले प्रसाईंलाई सुनको लौरो उपहार दिएको विषयले व्यापक चर्चा पाएको थियो । केपी ओली र प्रचण्डको खुट्टी नापेपछि दुईचार युट्युबे पत्रकारलाई होलटाइमर बनाएका प्रसाईंका सबै गतिविधि लाइभ हुने गरेका छन् ।  आफूलाई घोर मानवतावादी दावी गर्ने प्रसाईंले अन्ततः पूर्वराजा ज्ञानेन्द्रजस्ता चाम्रो व्यक्तिलाई भुट्न सफल भए ।

पूर्वराजा ज्ञानेन्द्रका धेरै कमजोरी होलान् । यद्यपि सभ्य, सालिन र अनुहारमा चम्किने सन्तुष्टिको त्यो आभाले गणतन्त्रका नेताहरूको सातो लगिदिने गरेको छ । उनी हाँस्दा नेताहरूको रक्तचाप बढ्ने गरेको थियो । ट्रकजत्रो गाडी चलाएर सपत्नी ७८ वर्षको त्यो काया काठमाडौंबाट दमक पुग्दा गणतन्त्र चाल्नी भइसकेको हुन्थ्यो । उनले एक वाक्य बोल्दा पानी बाराबारको स्थितिमा रहेका राजनीतिक दलका शीर्ष नेताहरू ओदानजस्तो भइसकेका हुन्थे । तराईमा मार्चपास गर्दै हिँडेका प्रचण्डको पाइला ज्ञानेन्द्रको छायाँ मनमस्तिष्कमा चढ्नासाथ ठप्प हुन्थ्यो । प्रसाईंको असभ्य, अशिष्ट र जंगली व्यवहारले राजाको यो साख खरानी बनायो ।

राजालाई सत्तारोहण गराइदिने हावादारी योजना विफल हुँदा एउटा कुपात्रको अन्त्य स्वाभाविक हो, त्यो सँगै एउटा सम्मानित संस्था विचारहीन, योजनाहीन चौतारोको मादलजस्तो रहेको पुष्टि भयो ।

आफूलाई क्रान्तिका मसिहा घोषणा गर्दै बिहान उठेदेखि सुतेसम्मका सम्पूर्ण क्रियाकलाप लाइभ गर्दै आएका तिनै प्रसाईं पूर्वराजा ज्ञानेन्द्रको चुल्होचौकोसम्म पुगे । राजालाई सत्तारोहण गराइदिने हावादारी योजना विफल हुँदा एउटा कुपात्रको अन्त्य स्वाभाविक हो, त्यो सँगै एउटा सम्मानित संस्था विचारहीन, योजनाहीन चौतारोको मादलजस्तो रहेको पुष्टि भयो । पुटुक्क पेट, दौरासुरुवाल, कालो भादगाउँले टोपी, चेप्टो पेटी र सधैं ‘हाम्रो राजा, हाम्रो देश..’को स्थायी अन्तराको स्वर राजावादीको परिचय बन्दै आएको छ । राजावादीको यो ढर्राले नै राजावादीलाई एकखाले खोटोमोहर बनाउँदै लग्यो । राजावादीहरू संस्थाको उन्नयन नभएर व्यक्तिको भजनमा लाग्दै आए । राजालाई हिन्दु अभियानसँग जोड्नु उनीहरूको गम्भीर भूल हो ।

एक्काइसौँ शताब्दीको राजा कस्तो हुन्छ ? अबका राजाको प्रतिरूप कस्तो हुन्छ ? पूजा गरिने राजसंस्थालाई कर्मवादी कसरी बनाउन सकिन्छ ? पूर्वराजा ज्ञानेन्द्र जनअस्वीकृत भए भने त्यसको विकल्प के के हो ? लोकप्रिय राजा वीरेन्द्रका नातिनी राज उत्तराधिकारीका लागि सुयोग्य हुन्थे कि भन्ने वैकल्पिक बहसतर्फ उनीहरू गम्भीर देखिएनन् ।

प्रसाईं प्रवृत्ति ओली, देउवा र दाहालहरूको अकर्मण्य चरित्रले जन्माएको भाइरस हो । यो प्रवृत्ति त्यसबेला मात्र छायाँमा पर्छ, जब राज्यका निकायमा पुगेकाहरूको घैँटोमा घाम लाग्छ ।

यदि राज्य विधिमा चल्थ्यो भने दुर्गा प्रसाईं प्रवृत्ति जेलको पाहुना हो । तर यिनै व्यक्ति भाग्यनिर्माताका रूपमा कसरी प्रकट भए ? प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उनलाई अपराधी करार गरिरहँदा एकाधवटा पत्याउन नसकिने तर पत्याउनुपर्ने दोछायाँले प्रश्नको उत्तर खोज्छन् । एमाले अध्यक्षमा केपी ओली निर्वाचित भइरहँदा तिनै ओलीले त्यही दिन प्रसाईंलाई एमाले केन्द्रीय सदस्य बनाएका थिए । गृहनगर पुग्दा प्रसाईंको महँगो भनिएको गाडी जहाजको पखेटामुनि ओलीको स्वागतमा तयार हुन्थ्यो । एकपटक राजापक्षीय भेला गराउन ‘हजुरबा’बाट निर्देशन बक्स भएको र त्यो मञ्चमा ज्ञानेन्द्र–ओलीलाई सहभागी गराउने उनले सार्वजनिक गरेको पटकथाको स्वतन्त्र आलोचना भएन ।

ओली र पुष्पकमल दाहालका लागि प्रसाईंको एकछाक मार्सीको भात हँसिया निलेजस्तो भयो । त्यही प्रकरणबाट प्रसाईं उदाए । विषय जेसुकै होस्, उनको भोक भनेको चर्चा कमाउनु थियो । प्रसाईं प्रवृत्ति ओली, देउवा र दाहालहरूको अकर्मण्य चरित्रले जन्माएको भाइरस हो । यो प्रवृत्ति त्यसबेला मात्र छायाँमा पर्छ, जब राज्यका निकायमा पुगेकाहरूको घैँटोमा घाम लाग्छ ।

अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन । राजनीतिमा कागजी चिर्कटोको नभएर इमानको मूल्य हुन्छ ।

नयाँलाई मौका दिनु भनेको आफ्ना  हुक्के, ढोके, चम्चे, चण्डमुण्डलाई राज्यको राजपाट सुम्पनु होइन भन्ने चेत नेताहरूमा कहिल्यै आएन । राज्यका संवेदनशील निकायहरू राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ । अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन । राजनीतिमा कागजी चिर्कटोको नभएर इमानको मूल्य हुन्छ । पद्मशमशेरले पनि आफूलाई राष्ट्रको नोकर त भनेकै थिए नि, तर उनी कति नोकर प्रमाणित भए ?

इतिहास साक्षी छ– सीडीओ कुट्ने करिमा बेगम राजनीतिक मैदानमा एकादेशकी कथा भइसकिन् । कुटाई खाने दुर्गाप्रसाद भण्डारीको जागिरे साख घटेन । आठ पासे साथीलाई नेपाल वायुसेवा निगमको सारथी बनाउने खड्गबहादुर विश्वकर्मा साथीसँगै बिलाए । ‘क’ दुब्लायो भनेर रुने कालिदास प्रवृत्तिका कथित नेताहरू मन्त्री बनाइए । कोही राष्ट्रसङ्घका वक्ता भएर अङ्ग्रेजीका धुरन्धर हुन खोजे । आखिर रङ्गाइएको बिरालो बाघ कसरी हुन सक्थ्यो र ? म्याउ गरिहाल्यो । नजान्नेको उपचार छ । तर जान्दछु भनेर सपार्नु त परै जाओस् भएको पनि सिध्याउने अतिवादीहरूको उपचार छैन ।

भाषा नजान्नु अपराध होइन । आजकल संसारका अधिकांश भाषा अनुवाद गर्ने सफ्टवेयर बनेका छन् । नेपाल नै नटेकेको विदेशी उहीँ बसेर ‘रेसम फिरिरि’ गाउने कुशल गायक बनेका उदाहरण छन् । तर योग्यता, साधनाले नभएर जनयुद्धमा बास बसेको, जेलमा भात बोकेको, नेतालाई विना व्याज ऋण दिएको, विदेश जाँदा आतेजाते टिकट काटिदिएको जस्ता नाताका आधारमा राजनीतिमा प्रवेश पाएकाहरूले राजनीतिलाई कमाउको साधन बनाएका छन् । अर्काथरि छन्– आस्था, निष्ठा, इमानदारी भगवानलाई चढाएर नाफाको व्यापार गर्न पल्किएका सुकिलामुकिलाहरू ।

हिजोसम्म कोदाको ढिँडोका भरमा जीवन घिसारेकाहरू कोदो र तोरीको अन्तर छुट्याउन नसक्ने भएपछि चाहिँ राजनीतिको बेथितिले धेरैलाई पोल्न थालेको हो ।

आफ्ना सन्तान युरोप, अमेरिकामा स्थापित गराइसकेपछि बाँकी जीवन पिकनिकमा बिताउन स्वदेश बसेका यिनीहरूले ‘जनयुद्धको मनोविज्ञान’ अनुसार नेताहरूलाई काम गर्ने रोडम्याप तयार गरिदिने गरेका छन् । यिनै थिए, जसले राजा ज्ञानेन्द्रलाई उकासेर टिभीमा समाचार पढाउन लगाए । यस्तैको तोरीलाहुरे गफमा भुल्दा नेताहरू रङ्ग छुट्याउन नसक्ने भएका छन् ।

राजा त्रिभुवन आफ्ना आसेपासेहरूसँग भन्थे रे– ‘हाम्रा जनता जाबो दूध भात पनि खान पाउँदैनन् त ?’ उनी त राजा भए केही हदसम्म यस्तो फन्टुस बुझाई पनि ठिक्कै होला रे ! तर हिजोसम्म कोदाको ढिँडोका भरमा जीवन घिसारेकाहरू कोदो र तोरीको अन्तर छुट्याउन नसक्ने भएपछि चाहिँ राजनीतिको बेथितिले धेरैलाई पोल्न थालेको हो । अहिलेकै दृश्यले बताउँछ– ‘डियर कमरेड भित्र, रियल कमरेड बाहिर’ पर्दै आएका छन् ।

विश्वका प्रख्यात राजनीतिज्ञहरूले शिक्षाको सुरुवात किताबबाट होइन, कोक्रोबाट गरेका छन् । अब्राहम लिङ्कन स्कुलका प्रिन्सिपललाई चिट्ठी लेखेर आफ्नो सन्तानलाई व्यावहारिक ज्ञान दिलाउन आग्रह गर्थे । भारत स्वतन्त्रतापछि पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले जेलबाट छोरी इन्दिरा गान्धीका नाममा पठाएका पत्रको पुस्तक नै छापिएको छ । जुन चिट्ठी इन्दिरा गान्धीको राजनीतिक सुरुवातीको आधारस्तम्भ नै ठहरियो । बीपी कोइरालाले जेलबाट नै छोरी चेतनालाई पत्र लेखेका थिए । जुन पत्रमा उनले ज्ञान, विज्ञान, समाज र संस्कृतिका विषयमा जानकारी गराएका थिए ।

ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न ।

अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको किस्सा नै अलग छ । उनी प्राथमिक कक्षामा पढ्थे । एकदिन स्कुलले उनीहरूलाई शैक्षिक भ्रमणका लागि अमेरिकी राष्ट्रपति बस्ने भवन ह्वाइट हाउस घुमाउन लगेछ । विद्यार्थीहरूले चाख मानी मानी ह्वाइट हाउसको सम्पूर्ण कक्षको अवलोकन गरेछन् । घुमघाम सकिएपछि ह्वाइट हाउस कस्तो लाग्यो ? भनेर अनुभव लेख्न एउटा पुस्तिका दिइएछ । साना बालबालिकाहरू कसैले के लेखे, कसैले के लेखे । त्यसै मध्येका बालक केनेडीले लेखेछन्– ‘भविष्यमा म आएर बस्ने ठाउँ ठिकै रहेछ ।’ भविष्य द्रष्टा तिनै बालक कालान्तरमा अमेरिकाको राष्ट्रपति भए ।   

ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन । त्यसको सौन्दर्यपान मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । हो, साँचो शिक्षा यदि देशको राजनीति सुल्टो गतिमा अघि बढाउने नियत राखेको भए शिक्षा र स्वास्थ्यलाई जनताको आधारभूत अधिकारको रूपमा स्थापित गरिनुपर्थ्यो ।

समावेशीका नाममा सुन र पित्तल गिजोल्ने काम नगरेर शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने काम गर्नुपर्थ्यो । सपथ ग्रहण गरेलगत्तै शिक्षामन्त्री दरबार हाइस्कुल र पद्मोदय स्कुल पुगेर शिक्षाको विकासमा इमान्दारीको सङ्कल्प गर्नुपर्थ्यो । जनताका छोराछोरीलाई शिक्षाको उज्यालो दिएका यस्ता ऐतिहासिक शैक्षिक प्रतिष्ठानलाई देशका गौरव बनाइनुपर्थ्यो ।

धरहरालाई पुड्को बनाउन त्यो भन्दा अग्लो र मजबुत अर्को संरचना बनाइनुपर्छ । तर नयाँ पनि नबनाउने, पुरानोको अस्तित्व पनि नस्वीकार्ने अनौठो रोगले नेपाली समाज ग्रसित बन्दै गएको छ ।

अहिले पनि टोनी हेगनले ५ दशकअघि कोरिदिएको दस्तावेज नेपाली भूगोलको आधिकारिक आधार बन्दै आएको छ । त्यसपछि डोरबहादुर विष्ट र हर्क गुरुङले पुरै देशको भ्रमण गरेर सामाजिक, आर्थिक, राजनीतिक अवस्थितिको लक्ष्मणरेखा कोरिदिए । गुरुङले देशलाई चालीस जिल्लामा घटाएर आर्थिक सन्तुलन मिलाउन दिएको योजनासहितको सल्लाह राजनीतिक पूर्वाग्रहमा परेर नासियो । गृष्मबहादुर देवकोटाले लेखेको राजनीतिक इतिहासलाई ‘पञ्चायती’ भनेर टिप्पणी गर्नेहरू त निस्किए तर त्यसको विकल्प दिने हिम्मत गर्ने अर्को सर्जक जन्मिएन । राजा महेन्द्रलाई तानाशाही भन्नेहरूको उत्ताउलो हुल देखापर्‍यो तर त्यस्तै राष्ट्रवादी सोच भएकाहरू देखिएनन् । धरहरालाई पुड्को बनाउन त्यो भन्दा अग्लो र मजबुत अर्को संरचना बनाइनुपर्छ । तर नयाँ पनि नबनाउने, पुरानोको अस्तित्व पनि नस्वीकार्ने अनौठो रोगले नेपाली समाज ग्रसित बन्दै गएको छ ।

राजनीतिक परिवर्तनका हरेक गतिविधिमा युवाको सक्रियता निर्णायक रहने गरेको छ । तर आन्दोलन सफल भएको भोलिपल्टदेखि उनीहरूको भूमिका दृश्यबाट बिलाउने गरेको छ । ढुङ्गा हान्न सन्काउने, अनि हानिसकेपछि थन्काउने धोकापूर्ण सौदाबाजी नेपालको राजनीतिमा चल्दै आएको छ । विश्वका राजनीतिक रङ्गमञ्चमा अब चालीस ननाघेकाले राजनीतिको बागडोर हाँक्ने परिपाटी बसिसक्दा हामी भने जिम्दारी राजनीतिकै चक्रमा घुमिरहेका छौँ । न नयाँ पुस्ताले खोस्ने साहस राख्छ, न अघिल्लो पुस्ताले छोड्ने उदारता नै !

मन्दिर आकार ठूलो, सानो हुनुले अर्थ राख्दैन । सरोकार भनेको देउता कति विश्वसनीय छन् भन्ने हो । झुटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन ।

मन्दिर आकार ठूलो, सानो हुनुले अर्थ राख्दैन । सरोकार भनेको देउता कति विश्वसनीय छन् भन्ने हो । झुटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन । क, ख, ए-बी-सी-डी बनाउनेहरू पक्कै पनि निरक्षरी थिए । तर तिनै अपठितहरूले बनाएको बाह्रखरी पढेर आफूलाई स्वघोषित मूर्धन्य ठान्नेहरूले न ‘ए’ अगाडि केही पत्ता लगाउने सके, न ‘ज्ञ’ पछाडि केही खोज्न सके । शिक्षा मुलुकको सभ्यता हो । कुन देश कति समृद्ध छ भनेर जाँच्ने कसी भनेको त्यो देशका नागरिक कति शिक्षित छन् भन्ने हो ।

अहिले हाम्रो मुलुकमा खड्किएको मुख्य विषय भनेको नागरिक शिक्षा हो । राज्यबाट निर्देशित नियमको डोरीले सबै नागरिकलाई नबाँधेसम्म मनपरीतन्त्र नरोकिने निश्चित छ । राजनीतिक दलहरूमा बढ्दो दलाली र नागरिकमा सञ्चार भएको अराजकता दुवै लाभदायी छैनन् । राजनीतिशास्त्रले भन्छ– नागरिक सधैँ ठिक हुन्छन् । तर प्रश्न उठ्छ– ६० वर्ष उमेर नाघेको हजुरबा दुई रुपियाँ सस्तोका लागि नातिमार्पmत पाएको विद्यार्थी परिचय कार्ड बोकेर सार्वजनिक यातायातमा देखापर्छ भने त्यो पनि नागरिक कर्तव्य त अवश्य भएन । यस अवस्थामा नागरिकले पनि त आफूलाई सच्याउनु पर्छ नि, हैन र ?

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ९ : ४० बजे

गोधूली रनिङ कपको उपाधि धरान- १४ लाई

सुनसरी– पच्चीसौँ गोधूली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान– १४

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा

ट्रम्पको भन्सार वृद्धिले खैलाबैला, मान्छे नबस्ने टापुलाई निशाना, रुसलाई राहत

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबैभन्दा मन पर्ने शब्द हो–

आईपीएलमा कलकताको उत्कृष्ट कमब्याक, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)का दुई अस्थिर टोलीबीच भएको

सुशासनसहित तीनवटा समितिको बैठक बस्दै, तीनकुने घटनाबारे गृहमन्त्रीसँग जानकारी लिइने

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।