‘पूर्वराजाले सम्झौता तोडेर तीनकुनेमा हिंसात्मक घटना गराए, सिरकभित्र लुकेर बस्न पाउँदैनन्’ | Khabarhub Khabarhub

‘पूर्वराजाले सम्झौता तोडेर तीनकुनेमा हिंसात्मक घटना गराए, सिरकभित्र लुकेर बस्न पाउँदैनन्’


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेवार नै इतिहासले कुनामा फ्याँकिसकेका पूर्वराजा ज्ञानेन्द्र शाह भएको उल्लेख गरे ।

ओलीले प्रतिनिधिसभामा राखेको मन्तव्यमा समसामयिक विषयतर्फ सरकारकोतर्फबाट भनाइ राख्दै तीनकुने, कोटेश्वर, जडीबुटी र विमानस्थल क्षेत्रमा भएको आगजनी, तोडफोड र दुईजनाको ज्यान जाने गरी भएको हिंसाको सबै जिम्मा पूर्वराजाले लिनुपर्ने बताएका हुन् ।

‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?’, उनले सोधे, ‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट- शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।’

पूर्वराजा शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै बक्तव्यवाजी गरेको बताउँदै ओलीले त्यसपछि माहोल बिग्रिएको बताए । ‘त्यसलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो’, उनले भने, ‘चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्ति (दुर्गा प्रसाईं) लाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।’

उनले प्रारम्भिक अध्ययनमा यी सबै घटनाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको बताए ।

‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो’, उनले भने, ‘हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद-व्यवस्थापन गर्नु भएको थियो ।’

प्रधानमन्त्रीको भनाइ जस्ताको तस्तै

गत चैत १५ गते २ वटा रानीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुबै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध– आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरुलाई सचेत गराएको थियो ।

यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरुको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो । सरकारलाई खवरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो ।

शालीन जुलुस सहित भएको त्यस कार्यक्रमका आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने बिधि यस्तै हो भन्ने पनि म ठान्दछु ।

काठमाडौंको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरुको पनि थियो ।

तर तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जाकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमाण्डर’ आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुंगामुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरिए ।

हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरु लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो ।

यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कार्वाही हुन्छ । घटनाको विस्तृत बिवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुने छ ।

घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छु ।

यस घटनको पृष्ठभूमिमा करिव १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ । सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजीरहेको थियो । धर्म, सँस्कृति, परम्पराजस्ता संबेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणिहरुको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो ।

यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै बक्तव्यवाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।

प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन विताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो । हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद-व्यवस्थापन गर्नु भएको थियो ।

(बोल्दा बोल्दा राप्रपाका सांसदले होहल्ला गरेपछि)…नियमवालीको होइन, यहाँ संविधान उल्लघंन गर्ने, मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु । सबैले यस देशमा व्यवस्था मान्नु पर्छ, व्यवस्था मान्नु पर्छ । हल्ला गरेको भरमा राजनीति र संसद सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन ।

आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट–– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ०० बजे

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल चैत २० गते बुधबार चैत

आज २०८१ साल चैत २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत २० गते बुधबार चैत

मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

काठमाडौं – सन् २०२५ को मार्च महिनामा एक लाख २१

‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु

काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा अभिनय

पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज