प्रधानमन्त्रीको सचिवालय भन्छ- रास्वपालाई निम्तो थियो, डीपीको जवाफ- नबोलाई नेमप्लेट राखेर नाटक गरियो | Khabarhub Khabarhub

सर्वदलीय बैठक

प्रधानमन्त्रीको सचिवालय भन्छ- रास्वपालाई निम्तो थियो, डीपीको जवाफ- नबोलाई नेमप्लेट राखेर नाटक गरियो


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरूले अराजक आन्दोलन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गणतन्त्र पक्षधर दलहरूको बैठक सिंहदरबारमा राखे ।

बैठकमा राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई निम्तो गरिएन । तर अन्य सबै दललाई निम्तो गरिएको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले गरेको छ ।

बैठकमा गणतन्त्र पक्षधर दलहरूको नेमप्लेटसहितको कुर्सी राखिएको थियो । तर देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि राप्रपा जस्तै बैठकमा देखिएन ।

तर, उसका लागि बैठकमा नेमप्लेटसहितको कुर्सी राखिएको थियो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईको आशनबीचमा रास्वपाका लागि स्थान राखिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति/प्रतिनिधि भनेर राखिएको नेमप्लेटमा कोही बसेका थिएनन् । सर्वदलीय बैठकमा रास्वपाको अनुपस्थितिलाई लिएर दुई पक्षबीच दुई कुरा चलिरहेको छ ।

तर निम्तो पाएर पनि प्रधानमन्त्रीले बोलाएको बैठकमा रास्वपा सहभागी नभएको उनको सचिवालयले जनाएको छ ।

यसबारे खबरहबले सोधेको प्रश्नमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले भने, ‘हामीले रास्वपालाई पनि बोलाएको हो । तर उहाँहरूका कोही पनि प्रतिनिधि आउनु भएन ।’

सिलवालको दाबीलाई पुष्टि गर्ने गरी रास्वपालाई सर्वदलीय बैठकमा निम्तो दिएर नेमप्लेटसहितको कुर्सी राखिएको थियो । उनले अगाडि भने, ‘राप्रपा र राप्रपा नेपालबाहेक सबै दललाई बोलाइएको थियो ।’

तर रास्वपा नेताहरू आफूहरूलाई कुनै पनि ढङ्गले नबोलाएको बताउँछन् ।

नाटक देखाइयो

यता रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) आफूहरूलाई हिजोको बैठकबारे कुनै जानकारी नभएको बताउँछन् ।

उनी नेमप्लेटसहितको कुर्सी राखेर प्रधानमन्त्रीको कार्यालयले नाटक गरेको बताउँछन् । ‘ओलीको चलाखीबारे पत्रकारलाई जानकारी हुनुपर्ने हो । न फोन, ईमेल न त भेटेर निम्ता। कुनै प्रकारले हामीलाई बोलाइएको छैन,’ उनले खबरहबसँग भने, ‘नेमप्लेटसहितको कुर्सी राखेर नाटक देखाइयो । प्रश्न उठ्ला भनेर ठिक पारेका हुन । कुन रूपमा बोलाइएको छ प्रमाण देखाउन अनुरोध गर्छु ।’

उनले प्रधानमन्त्रीको सचिवालय र नेकपा एमालेले आफूहरूलाई बोलाएको प्रमाण देखाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : २५ बजे

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न मुख्यमन्त्री बानियाँको माग

भक्तपुर– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई

प्रदेश सरकारले वन कार्यविधि एक महिनाभित्र लागू गर्छ : मुख्यमन्त्री शाह

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा रोकिएको वन

तेस्रोलिंगीको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौं– लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन

जेन-जीले मागे दुई वर्षे कार्यकालको प्रत्यक्ष निर्वाचित कार्यकारी, जनप्रतिनिधिको उमेर २१ देखि ७० वर्ष बनाउन प्रस्ताव

काठमाडौं- ‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी,’ सात प्रदेशका संयोजक