काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् डा.धवलशमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले जिल्ला प्रहरी परिसर, काठमाडौंले संघीय संसद् सचिवालयमा दर्ता गराएको पत्र पढेर सुनाएका हुन् ।
गत शुक्रबार राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि राप्रपा महामन्त्रीसमेत रहेका जबरा ललितपुरबाट पक्राउ परेका थिए ।
उनलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिसकेको छ । धवल शमशेरसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा अगाडि बढाउने सरकारको तयारी रहेको छ ।
‘विरोध कार्यक्रमका क्रममा राष्ट्र राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल (राजावादी), राष्ट्रिय प्रजातन्त्र पार्टी समेतको अगुवाईमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री प्रतिनिधि सभा सदस्य माननीय डा. धवलशमशेर राणा तथा अगुवाहरू दुर्गा प्रसाईं, रवीन्द्र मिश्र समेतका प्रदर्शनकारी भेला भई स्टेजमा गर्ने भनी तय भएको कार्यक्रमतर्फ ध्यान नदिई संसद् भवन लागयतका महत्वपूर्ण प्रतिष्ठानहरु कब्जा गर्न जानुपर्छ भनी भिडलाई उत्तेजित बनाइरहेका थिए’,प्रहरीले सभामुखलाई लेखेको पत्रमा भनिएको छ,‘गणतन्त्र नेपालको संरचनालाई पल्टाई राजतन्त्र स्थापना गर्ने भनी आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी गर्न लगाई कार्यक्रमस्थल छाडी हुल हुज्जत गर्दै विरोध कार्यक्रममा सहभागी भएका प्रदर्शनकारीलाई प्रहरीसँग मुठभेट गरी निषेधित क्षेत्र तोड्न उत्प्रेरित गराई विभिन्न मिडिया हाउस तथा सुपर मार्केट, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी र प्रहरीका सवारी साधनहरु, सर्वसाधारण नागरिकको घर, दलका कार्यालय तथा नेताहरूको निजी निवास तोडफोड र आगजनीमा उत्रिएका थिए।’
पत्रमा प्रहरी कर्मचारीलाई लाठी, ढुंगा, विभिन्न घरेलु हतियार तथा सवारी साधन जबरजस्ती ड्युटीमा खटिएको सुरक्षाकर्मीतर्फ हुईक्याँई प्रहरीको ज्यान मार्ने प्रयास लगायतका हिंसात्मक तथा ध्वंसात्मक गतिविधि गरी तीनकुनेस्थित प्रदर्शनकारीहरूबाट भएको उल्लेख छ ।
‘कार्यक्रमस्थलनजिकैको घर, घरभित्रका विभिन्न कार्यालयसमेत तोडफोड र घरभित्र मानिस रहेको थाहा हुँदाहुँदै आगजनी गरी ज्यान मार्नेसम्मको अपराध गर्दासमेत अगुवा नेता तथा कार्यकर्ताले रोक्ने प्रयास नगरी उल्टै प्रदर्शनकारीलाई उक्साई उत्तेजित बनाएका थिए’, पत्रमा भनिएको छ, ‘माथि उल्लिखित आपराधिक कार्य गरी राज्यविरुद्धको कसूर समेतको अपराध गरेको हुँदा प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणालाई तलितपुरको सातदोबाटोबाट चैत १५ गते राति ९ बजेको समयमा पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान कार्य हुँदैछ ।’
सभामुख घिमिरेले जिल्ला प्रहरी परिसर, काठमाडौंस्थित अपराध अनुसन्धान तथा कारवाही शाखाको पत्रबाट लेखिआएको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि सदनलाई जानकारी गराएका हुन् ।
गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाए । उता निजी घर, सरकारी कार्यालय र भाटभटेनीसहितका व्यापारिक केन्द्रलाई पनि राजावादीले लुटपाट र आगजनी गरे ।
प्रतिक्रिया