सुदूरपश्चिमका मन्त्री चौधरी र एमाले नेता रानाले यसरी बनाएका थिए दीगो वनमा घूस खाने योजना (अडियोसहित) | Khabarhub Khabarhub

सुदूरपश्चिमका मन्त्री चौधरी र एमाले नेता रानाले यसरी बनाएका थिए दीगो वनमा घूस खाने योजना (अडियोसहित)

रानाले बदमासी गर्ने कला सिकाउँदा चौधरीले गुमाए मन्त्री पद


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फरक दलका नेताहरू पनि घुस खान र अनियमितता गर्न कसरी एक हुन्छन् भन्ने उदाहरण सुदूरपश्चिम प्रदेशमा भेटिएको छ ।

यही शनिबार राजीनामा दिएका प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले गरेको आर्थिक चलखेलमा एमालेका नेतासमेत जोडिएका हुन् । उक्त अडियोबारे नयाँ खुलासा भएसँगै फरक दल भए पनि उक्त अनियमिततामा एमाले नेता नारदमुनि राना मुछिएका हुन् ।

केही दिनअघि अनुमोदनखबरसहितका स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको अडियोमा नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरी र एमालेका पोलिटव्युरो सदस्य नारदमुनि रानाबीच घुस लिने विषयमा छलफल भएको भेटिएको हो ।

यसअघि उक्त घुस प्रकरणमा मन्त्री चौधरी मात्रै मुछिएका थिए । तर उक्त घुसको डिलका क्रममा एमाले नेता राना पनि छलफलमा रहेको खुलेको छ । बहालवाला मन्त्रीतर्फ केन्द्रित हुँदा नारदमुनिबारे कसैले ध्यान दिएका थिएनन् ।

तर सार्वजनिक भएको उक्त अडियोमा रानाले नै मन्त्री चौधरीलाई दीगो व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउन, त्यसमा काम गर्ने तरिका पनि सिकाएका छन् । उनले अघिल्लो शुक्रबार नै कार्यविधि बनाएर कार्यदलमार्फत् शनिबारको बैठकमा पास गर्न पनि सिकाएको अडियोमा सुनिन्छ ।

०७४ मा प्रतिनिधिसभाको चुनावमा कांग्रेस नेतृ आरजु राणालाई हराएका राना ०७९ मा झिनो मतले कैलाली ५ मा पराजित भए । ०७४ मा जितेपछि केपी ओलीले दोस्रो पटक संसद् विघटन गर्दाको समय २०७८ जेठमा १७ दिन वनमन्त्री (अदालतले मान्यता नदिएको) बनेका रानाले चौधरीलाई दुवै मिल्नुपर्ने पनि सुझाएका छन् ।

अडियो

‘तपाईं र म फेरि चुनाव लड्नुपर्छ, जित्नका लागि पैसा कमाउनुपर्छ’, शनिबार राजीनामा दिएका मन्त्री चौधरीसँग रानाले यस्तो आशय अडियोमा गरेका छन् । उक्त अडियोमा दुईजनाबीच कुराकानी हुँदा कांग्रेस नेतृ एवम् परराष्ट्रमन्त्री डा. आरजु देउवाको समेत नाम लिइएको छ ।

मन्त्री चौधरीले नेतृ आरजुसँग पनि आफ्नो सम्बन्ध ठिकै रहेकाले समस्या नहुने बताएका छन् । उनले यो मन्त्रालय आफूलाई मुख्यमन्त्री कमल शाहले दिएको बताउँदै आफूहरू सरकारमा नहुने हो भने एमालेले मुख्यमन्त्री शाहलाई नचाइहाल्ने टिप्पणी पनि गरेका छन् ।

मन्त्री चौधरीलाई नेता रानाले लुम्बिनीको दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि हेरेर कैलालीको पनि बनाउन अडियोमा भनिरहेको सुन्न सकिन्छ । तर, मन्त्री चौधरीले, ‘कैलालीको होइन, सुदूरपश्चिमको भनेर’ रानालाई सच्याउन लगाउँछन् ।

कार्यविधि बनाउँदा वनसम्बन्धी काम गर्ने ठेकेदारबाट ३० लाख आउने र त्यो रकम मुख्यमन्त्री, स्वयम् मन्त्री, नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठलाई मिलाउने योजना अडियोमा छ । एमालेलाई नारद आफैँले मिलाउने कुरा गरिरहेका छन् ।

मन्त्री चौधरीलाई एमाले नेता रानाले सरकार रहने, ढल्ने भन्न नसकिने भएकाले जतिसक्दो चाँडो कार्यविधिको काम सकिहाल्न भनिरहेका हुन्छन् । उनले सुदूरपश्चिमका १० वटै डिभिजन वन अधिकृतको काम हेर्ने र सरुवा गर्ने कुरा पनि चौधरीसँग गरेका छन् ।

उक्त अडियोमा वनका कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत पैसा दिएको खुलासा गरिएको छ । त्यही विषयलाई लिएर प्रदेश सभामा मुख्यमन्त्री शाहलेसमेत नैतिकता देखाउनु पर्ने कुरा प्रतिपक्षीले उठाएका छन् ।

अडियो बाहिरिएपछि मन्त्री चौधरीले शनिबार नै मुख्यमन्त्रीको निर्देशनमा राजीनामा दिइसकेका छन् ।

सुदूरपश्चिममा आर्थिक वर्ष २०८०/०८१ झण्डै १४ करोड राजश्व संकलन भएको छ । पहिले वैज्ञानिक वन भनिएको कार्यक्रमलाई अहिले दीगो वन व्यवस्थापन नाम दिइएको छ । नयाँ नीतिबाट नयाँ रुख हुर्काउन पुराना काट्दा हरेक वर्ष यो राजश्वभन्दा ४० गुणा बढी संकलन हुने अपेक्षा छ । करिब पाँच वर्षदेखि संघीय सरकारका कारण वैज्ञानिक वन (दीगो वन व्यवस्थापन) रोकिएको छ ।

यसअघि कैलाली र कञ्चनपुर ६५ सामुदायिकलाई वैज्ञानिक वनमा लैजान खोजिएको थियो । प्रदेशले अब तीसहितका सामुदायिक वनलाई दीगो वन व्यवस्थापनमा लैजाने तयारी गर्दैछ ।

विवाद

२०७० सालमा संविधान सभा सदस्य बनेका रानाले रातो पासपोर्ट बेचेको आरोपमा मुद्दासमेत खेपिरहेका छन् । कैलालीमा पनि सीमा क्षेत्रको तस्करीमा संलग्नताको आरोप उनलाई लाग्ने गर्छ । कडा स्वभावको छवि बनाएका रानाको अडियोबारे सञ्चारमाध्यम पनि मौनता साँधेर बसेका छन् ।

अहिले सुदूरपश्चिममा नारदमनिलाई जोगाएर मन्त्री चौधरीलाई मात्रै घानमा हालेको गुनासो छ । उता एमालेनिकट पत्रकार राजेन्द्र नाथले वनमन्त्रीले मुख्यमन्त्री मिलाउने, नारदमुनिले एमालेको जिम्मेवारी लिने भनेर व्यंग्य गरेका छन् । नाथ एमालेबाट राजेन्द्र रावल मुख्यमन्त्री हुँदा उनको सचिवलयमा कार्यरत थिए ।

भएको के हो ?

मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउनेबारे छलफल गरेको अडियो गत साता सार्वजनिक भएको थियो । तर उक्त अडियो गत भदौतिरको भएको चौधरीले बताएका थिए ।

उनले त्यसबेला भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको बताएका थिए । चौधरीले त्यसबेला कर्मचारीसँग मात्रै छलफल गरेको भनेर एमाले नेता रानाको नाम लुकाएका थिए ।

अडियोमा मुख्यमन्त्रीलाई मिलाउने कुरा सुनिएको तर आफूले त्यसो नगरेको चौधरीले बताएका थिए । अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि त्यसबेला आइतबार पारित गर्ने बताएका मन्त्रीले लेनदेन गरेको प्रष्ट सुन्न सकिन्छ । त्यसमा मुख्यमन्त्रीलाई पनि दिनुपर्ने सुनिएको छ । मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताउँदै गत शनिबार पद छाडेका थिए ।

अडियोमा सुनिएजस्तो लेनदेन नगरेको दाबी गर्दै वनसम्बन्धी अनुभव नभएका कारण छलफलमा मात्रै गरेको तर्क उनले गरेका थिए । मन्त्री चौधरीले आफूमाथि छानबिन गर्न माग पनि गरेका थिए । छानबिनमा दोषी देखिए कारवाही भोग्न तयार रहेको उनले बताएका थिए ।

के भन्छन् नारद ?

यसबारेमा हामीले विवादमा मुछिएका एमाले नेता रानासँग पनि कुरा गरेका छौँ । उनले उक्त अडियो र आफूमाथि लागेको आरोपलाई सरासर गलत भने ।

‘यो सरासर गलत कुरा हो । मलाई पूर्वमन्त्री भएको नाताले चौधरीजीले तपाईसँग कुरा गर्नु छ, चेम्बरमा आउनुस् भन्नुभयो’, उनले भने, ‘उहाँलाई मैले के हो सहयोग गर्दिनुपर्ने भन्दा उहाँले तपाईंसँग पुरानो डकुमेन्ट केही छ भन्नु भयो । मैले छैन भनेँ । अनलाइनमा खोज्दा लुम्बिनीको भेटियो । मैले त्यो कपी-पेस्ट गरेर हाल्दा भइहाल्यो नि भनेँ ।’

उनले आफूले घुस खाने तरिका या भ्रष्टाचारको उपायबारे केही नसिकाएको बताए । ‘मैले यति भनेको छु । त्यसमा मेरो केही त्यस्तो छैन । अरु को मान्छे थिए, के थिए, मैले चिनेको छैन’, उनले भने, ‘उहाँहरू अगाडि नै छलफल गर्दै हुनुहुन्थ्यो । म जाँदा एकजना पत्रकार भाइ पनि बसेका थिए । त्यो भनेर म चाहिँ निस्किएँ। घुसको कुरा गलत हो, हामी त्यस्तो काम गर्दैनौँ ।’

खबरहबले रानालाई ‘अडियो तपाईंको हो कि होइन ?’ भनेर पनि प्रतिप्रश्न गरेको थियो । तर उनले त्यसलाई इन्कार गरे ।

‘कसले के गर्यो, त्यो थाहा छैन । मैले दिएको सल्लाह भनेको लुम्बिनी प्रदेशको कार्यविधि हेर्दा भइहाल्यो नि भनेको हो’, उनले भने, ‘अरु कुरा म जान्दिनँ, कसले कसरी गरेको छ । कसले किन, केका लागि त्यसो गर्‍यो थाहा भएन । त्यो अडियो पनि कसरी बनाएका छन् मलाई थाहा छैन ।’

के हुँदैछ दीगो वनमा ?

उता प्रदेश वनमन्त्रालयका सचिव प्रमोद भट्टराईले दीगो वन व्यवस्थापनका लागि कार्यविधि बन्ने चरणमा रहेको बताएका छन् ।

‘यो कार्यक्रमको बल्ल कार्यविधि बन्दैछ । अरु काम र कार्यक्रम केही पनि भएको छैन । कार्यविधि प्रदेश सरकारबाट स्वीकृति भएपछि मात्रै कार्यन्यवन गर्ने हो’, उनले भने, ‘अहिले खाली त्यसको ड्राफ्ट बनेर छलफको चरणमै छ, स्वीकृति भएको पनि छैन । कार्यन्वयन हुन अझै समय लाग्छ ।’

सचिव भट्टराईले ड्राफ्ट बन्दै गर्दा घुस लेनदेन र भ्रष्टाचारको कुराबारे आफू अनभिज्ञ रहेको पनि खबरहबलाई बताएका छन् ।

‘त्यो त हामीलाई थाहाँ हुँदैन । त्यो चाहिँ अब कहाँ के भयो भन्ने कुरा हामीले थाहा पाउने कुरा भएन । हाम्रो तहमा त्यस्तो केही पनि गरिएको छैन’, उनले भने, ‘हामी कर्मचारीबाट कहीँ पनि त्यस्तो अनियमितता र घुसको कुरा भएको छैन र हुने कुरा पनि भएन । अरुको हामीलाई थाहा हुन्न । थाहा नभएको कुरा अब कसरी भन्ने ?’

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ५५ बजे

कालिका मन्दिरमा धार्मिक पर्यटक वृद्धि

बागलुङ– चैते दशैँ सुरु भएसँगै बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटक

हाउथीलाई लक्षित गर्दै अमेरिकाले यमनमा गर्‍यो आक्रमण

यमन – हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई

चैती छठ अन्तर्गत आज खरना मनाइँदै

जलेश्वर– सूर्य उपासनाको चार दिने महापर्व चैती छठ अन्तर्गत आज

वन कुकुर संरक्षण सम्बन्धी नेपाली परियोजना विश्वको उत्कृष्ट ६ मा, भोटिङबाट एउटा छानिने

पोखरा– वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा

इङ्लिस प्रिमियर सिप : आर्सनल र नटिङघम फरेस्ट विजयी

काठमाडौं – इङ्लिस प्रिमियर सिपको मंगलबार राति भएको खेलमा आर्सनलले