नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा | Khabarhub Khabarhub

नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागलुङ– निसीखोला गाउँपालिका–६ का ६७ वर्षीय भागविर घर्ती मगर भेडापालनमा लागेको ५८ वर्ष भयो । नौ वर्षको उमेरदेखि भेडापालनमा लागेका उनी अहिले पनि उस्तै तगडा छन् । उनका भेडाका बथानमा २०० को हाराहारीमा पाठापाठी र माउ भेडा छन् । गत असोजमा दशैँ मान्नका लागि बेसी झरेका किसान घर्ती लेक उक्लिने तरखर गर्दै छन् ।

जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेको छ । यति बेला बागलुङको रिग क्षेत्र, खोलाखानी, सोडेडाँडा, पातीहाल्नेलगायतका ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चपर्च बोकी बुकी उक्लिरहेको भेटिन्छ ।

एकै परिवारले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पुर्‍याउन सक्दैनन् । यतिबेला लेक उक्लिएका गोठाला दशैँ मान्न असोजतिर मात्रै बेसी झर्छन् ।

अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोजमा बेसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् । लामो समय लेकमै बस्ने हुँदा भागविरले खाने खर्चको चाँजोपाँजो मिलाउँदै छन्। अबको करिब पाँच महिना लेकमै बिताउने उनी बताउँछन् । यति बेला बेसीमा घाँस सकिएको र लेकमा प्रसस्त पाइने उनको भनाइ छ । गोठालाहरू तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पुग्ने गर्छन् ।

यस वर्ष अलि छिटै वर्षा सुरु भएपछि लेकमा घाँस पलाउन थालेको घर्तीले बताए । बर्खाभरि बुकीमा पालेका भेडाबाख्रा दशैँको बेला बजारसम्म पुर्‍याएर राम्रो मूल्य पार्ने गर्दछन् । बागलुङको निसीखोला–६ मा पर्ने रिग, खानीखोलामा रोल्पा र रुकुमका गोठाला पनि हजारौँ भेडाबाख्रा लिएर आउने गर्छन् ।  हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुने हुँदा बेसी ओर्लने गर्छन् । पछिल्लो समय नयाँ पुस्ताले चासो नदिँदा भेडापालन किसान कम भएको उनको भनाइ छ ।

जिल्लाकाे तमानखोला, बोबाङ, अधिकारीचौर लगायतका क्षेत्रका भेडीगोठाले पनि ढोरपाटन, जलजलालगायतको क्षेत्रमा वस्तुभाउ लिएर जाने गर्छन् । यी क्षेत्रबाट आधाभन्दा बढी गोठाला लेकमा पुगी सके भने केही बाटोमै भेटिन्छन् । कोही जाने सुरसार गर्दैछन् । ढोरपाटन–९ का थमबहादुर पुनले गत साता गाईभैँसीलाई लेक लगिसकेका छन् ।

पहिले लेक जाँदा अन्नपात र वस्तुभाउका किलादाम्ला मान्छेलेनै बोकेर लैजाने गरेको भन्दै बुर्तिबाङ–ढोरपाटन सडकमा गाडी चल्ने हुँदा ढुवानी तिरर लैजाने गरेको उनको भनाइ छ । बाउबाजेको पालादेखिनै लेकबेसी गरेर सयौँ वस्तुभाउ पाल्दै आएको पुनको भनाइ छ । आफूको पुस्ताले पशुपालन गरेरै जीविको चलाए पनि अबका नयाँ पुस्ताले यो पेसा नगर्ने उनी बताउँछन् । (रासस)

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ७ : ०१ बजे

भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

चितवन– मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज

नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेकाे छ : उड्डयनमन्त्री पाण्डेले

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका

प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद 

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी वर्षका ल्याएको वार्षिक विकास कार्यक्रममा

रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दा कहाँ हराए सत्तापक्षका सांसद ? (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल