एजेन्सी– संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार गाजाको अवस्थालाई अत्यन्तै गम्भीर बताएको छ । निरन्तर बम आक्रमण, कुपोषण, ठूलो सङ्ख्यामा जनताको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति संकटपूर्ण भएको बताइएको छ ।
उक्त कार्यालयका अनुसार चार दिनपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदार संस्थाहरूले पठाएको पाँचवटा राहत सामग्री बोकेका सवारीसाधन गाजामा प्रवेश गर्न सफल भए । तर केरम शालोम भनिने नाका आसपास द्वन्द्वका कारण अन्य ६० वटा सवारीसाधनलाई सामग्री लिएर फर्कनु पर्यो ।
संयुक्त राष्ट्र महासचिवका प्रवक्ताका अनुसार नाकाको वरपर विशेषगरी ‘नो म्यान्स ल्यान्ड’ भन्ने क्षेत्रमा हतियारधारी समूहहरूको गतिविधि बढ्दो रहेको छ, जसले गर्दा अवस्था अझ जटिल बनेको छ । ती पाँच सवारीसाधनले ल्याएका औषधिजन्य सामग्रीहरू डेइर अल–बलाहको एक अस्पतालका लागि थिए, तर दुःखद रूपमा तीमध्ये धेरै सामग्री लुटिएको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, झण्डै ८० दिनदेखि आपूर्ति पूर्णरूपमा बन्द गरिएकोले गाजामा जनताको आवश्यकता निकै बढेको छ । हाल सीमित मात्रामा गाजामा प्रवेश गरिरहेको सामग्री अत्यन्तै न्यून छ, जसले करिब २१ लाख जनताको आधारभूत आवश्यकता पूरा गर्न सक्दैन ।
संयुक्त राष्ट्र र यसका साझेदार संस्थाहरूले विभिन्न कठिनाइका बाबजुद गाजामा रहेका जनतालाई आवश्यक सहयोग पुर्याउने प्रयास गरिरहेका छन् । तथापि, गाजा भित्र लगिने सामग्रीको मात्रा र प्रकारमा लगाइएको प्रतिबन्धका कारण यो कार्य अझ कठिन भइरहेको छ ।
गाजाको अन्तिम आंशिक रूपमा सञ्चालनमा रहेको ‘अल–आवदा’ नामक अस्पताललाई पटक–पटक आक्रमण भएपछि बिहीबार खाली गरिनुपरेको बताइएको छ । त्यस्तै, दक्षिण गाजाको डेइर अल–बलाह, अल–बुरेइज र अन–नुसेरात क्षेत्रमा पनि आक्रमण जारी रहेको छ ।
युद्धका कारण एउटा पत्रकारको घरमा भएको आक्रमणमा उनका नौ जना परिवारका सदस्यको मृत्यु भएको र अन्य १५ जना घाइते भएको बताइएको छ । साथै, एक अन्तर्राष्ट्रिय सहायता संस्थामा कार्यरत पाँच जना कर्मचारी मारिएका छन् भने दुई जना घाइते भएका छन्। मानवीय कार्यालयले आम नागरिक र सहायता कर्मीहरूको सुरक्षाको सुनिश्चितता हुनु आवश्यक रहेकोमा जोड दिएको छ ।
गाजामा पछिल्ला दुई सातामा झण्डै दुई लाख नागरिकहरू पुनः विस्थापित भएका छन् । इजरायली प्रशासनले हालै करिब ३० प्रतिशत क्षेत्रलाई खाली गर्न निर्देशन दिएको बताइएको छ । यद्यपि, धेरै मानिसहरू खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको खोजीमा स्थान परिवर्तन गरिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, केही क्षेत्रहरूमा राहतका रूपमा आपत्कालीन बासस्थल निर्माण सामग्री वितरण गरिएको छ । तर सार्वजनिक सुरक्षा कमजोर बन्दै गएको र लुटपाटका घटनाहरू बढेको पाइएको छ । डेइर अल–बलाहस्थित एउटा अस्पतालमा केही सशस्त्र समूहले प्रवेश गरी बालबालिकाको पोषणका लागि राखिएको औषधि र उपकरणहरू लुटेका छन्।
संयुक्त राष्ट्रसङ्घले इजरायललाई गाजामा सार्वजनिक सुरक्षाको सुनिश्चितता गर्ने जिम्मेवारी वहन गर्न आग्रह गर्दै शान्तिपूर्ण र कानूनी तरिकाले अपराध रोक्न आवश्यक रहेको जनाएको छ। साथसाथै, पर्याप्त राहत सामग्री, खाद्यान्न तथा आवश्यक वस्तुहरू गाजामा पुर्याउन नाकाहरू खोल्न आवश्यक भएको जनाएको छ।
प्रतिक्रिया