ऋषिङमा २५ जना किसानले थाले अकबरेखेती « Khabarhub

ऋषिङमा २५ जना किसानले थाले अकबरेखेती


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको ऋषिङ गाउँपालिका-८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् ।

उत्पादित खुर्सानी प्रतिकिलो २५० देखि ३५० रुपैयाँसम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री गरिसकिएको छ, बिक्रीका लागि बजारको समस्या छैन, तर मूल्य उचित पाउन सकिरहेका छैनौँ ।’

उत्पादित खुर्सानी जिल्लाको भीमाद, दुलेगौँडादेखि पोखराका बजारमा बिक्री गर्दै आइएको किसान बताउँछन् । पहिलो चरणमा रु दुई लाख बढीको खुर्सानी बिक्री गरिसकिएको कृषक समूहले जनाएको छ । 

गाउँपालिकाले खुर्सानका बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो । सुरुमा सामूहिक रूपमा रु छ लाख लगानी गरिएको समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । वैशाखको अन्तिम साता बिरुवा ल्याएर खेती थालिएको बताउँदै उनले भने, ‘बिरुवा लगाएको दुई महिनामा फल्न सुरु भएको छ, अब दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको छ ।’

ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका गञ्जसिंले पशुपालन र कृषि व्यवसायका लागि किसानलाई सहुलियत दर (सात प्रतिशत)मा ऋण उपलब्ध गराउँदै आएको बताए । ‘गाउँका युवा विदेसिनेक्रम बढ्दै गएको अवस्थामा युवालाई स्वदेशमा बसेर काम गर्ने वातावरण र रोजगार सिर्जना गर्ने पहल थालेका हौँ’, उनले भने । 

उत्पादनका लागि यहाँको माटो उर्वरायुक्त रहेकाले जे खेती लगाउँदा पनि प्रशस्त आम्दानी लिन सकिने किसान बताउँछन् । जमिन बाँझो नराख्ने अभियानअन्तर्गत १४० रोपनीमा सुन्तलाखेती सुरुआत गरिसकिएको समूहका सदस्य गञ्जसिंले बताए । उनले भने, ‘एक हजार सुन्तलाका बिरुवा लगाइसकिएको छ, तीन हजार बिरुवा लगाउने योजनासहित अघि बढेका छौँ ।’ रासस

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  १२ : २३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको