काठमाडौं– प्रेम गर्नेहरुलाई सत्ययुगदेखि आजको वैज्ञानिक युगसम्म विभिन्न बन्देजहरु लाग्दै आएको पाइन्छ । सत्ययुगमा शिव र सतीदेवीले प्रेमकै कारण अवहेलित हुनुपर्यो र सतिदेवीले आत्मदाह गरिन् । अहिले कलियुगमा पनि यस्ता घटना यथावत् छन्।
साहित्यमा भ्यालेन्टाइन र रोमियो जुलियटका वियोगान्त कथाहरु पढ्न पाइन्छ । त्यस्तै, वास्तविक समाजमा प्रेमको बाहनामा हिंसाका घटनाहरु हुँदै आएका छन् । र, यसमा अभिभावकहरुको भूमिका बढी जिम्मेवार देखिने गरेको छ ।
नेपालमा जस्तै भारतमा पनि प्रेमका कारण हुने गरेका हत्याका घटना देखिँदै आएका छन् । केही समय अगाडि भारतमा अन्तरजातीय विवाह गरेकै कारण एक पिताले छोरीको हत्या गरेका थिए ।
अभिभावकले आफ्ना छोराछोरीको प्रेम सम्बन्धमा बाधक बन्न खोज्दा आउने नकारात्मक परिणामका केही कहालीलाग्दा दृष्टान्त हेरौं–
घटना एक : ‘प्रेमिका’लाई मारेर सुटकेसमा
दुई साताअघि रौतहटमा सुटकेसभित्र रुबी साहको शव भेटियो । भारतको मुजफरपुरका शिवसागर साहसँग रुबीको विवाह भएको थियो । उनी केही समयदेखि गौरमा आमासँग बस्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा रुबीको हत्या पूर्वप्रेमी लक्ष्मण पासवानले गरेको खुलेको छ ।

लक्ष्मणले प्रेमिकालाई मारेर सुडकेसमा हालेर सार्वजनिक स्थलमा छाडेका थिए । रुबीको हत्यापछि उनले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे ।
आत्मदाह गर्नुभन्दा अगाडि उनले सामाजिक सञ्जालमा एक भिडियोमार्फत रुबीको हत्या गर्र्नुका पछाडि उनको परिवार मुख्य जिम्मेवार रहेको तर्क गरेका थिए । आफूहरूबीचको प्रेम सम्बन्धमा आफन्तहरुले सम्पत्तिको कारण देखाउँदै आफूहरुलाई एक हुन नदिएको पासवानको भनाइ थियो ।
आफूहरुबीच कक्षा १० मा पढ्दादेखि नै प्रेम भएको पासवानले भिडियोमा बताएका थिए । जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा कोर्ट म्यारिज गरेको पासवानले सामाजिक सञ्जालमा दाबी गरेका थिए ।
तर, रुबीका आफन्त र लक्ष्मणको परिवारबाटसमेत उक्त बिहे अस्वीकार गरिएको पासवानले भिडियोमा बताएका थिए । आफू गरिब रहेकाले रुवीका परिवारले भारतको धनी मानिससँग बिहे गराइदिएको भिडियोमा दाबी गरिएको छ । आफूहरुको प्रेमसम्बन्धमाथि परिवारहरु नै दुश्मन बनेपछि दुवैले मर्ने निधो गरेको उनले भिडियोमा दाबी गरेका छन् ।
यद्यपि दुबैले सामुहिक आत्महत्याको प्रयास भने गरेको देखिँदैन । लक्ष्मणले रुबीको नृशंश हत्या गरेर सुडकेसमा हालेको देखिन्छ ।
पासवाले भिडियोमा आफू जेल जान नचाहेको र रुबीलाई मारेपछि आफ्नो हात कामिरहेको बताएका थिए । उनले रुबी र आफ्नो भेट स्वर्गमा हुनेछ पनि भनेका थिए ।
पासवान आफ्नो शरीरमा रुबीको फोटो र नामको ट्याटुसमेत बनाएको देखिन्छ । माधव नारायण नगरपालिका–६ स्थित खेतमा पासवानलाई जलेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा भदौ ११ गते साँझ उनको मृत्यु भयो ।

लक्ष्मण पासवान १४ वर्षअघि रुबीलाई अपहरण गरेको आरोपमा पक्राउ परेका थिए । १४ वर्षको उमेरमै भगाएर भारत लगेको आरोपमा रुबीको परिवारले लक्ष्मणसहित तीनजनाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका थिए । उनी त्यतिबेला अपहरण तथा शरीर बन्धक र मानव बेचबिखनमा मुद्दामा १७ दिन हिरासतमा बसेका थिए ।
रुबीको हत्यामा संलग्न लक्ष्मणले उनीसँग प्रेम रहेको दाबी गरे पनि हत्या गरेर सुटकेसमा हाल्ने जुन आपराधिक कार्य गरे, यसले उनलाई ‘प्रेमी’ का रुपमा चित्रित गर्दैन । प्रेम भएको भए उनीहरु पुनः भाग्न सक्थे । अथवा, आफूले माया गरेकी रुबीलाई पासवानले खुशी भएको देख्न चाहन्थे । तर, उनले हत्याजस्तो आपराधिक बाटो रोजे । रुबीको हत्यापछि उनले भिडियोमा आफूलाई ‘डिफेन्स’ गर्न विभिन्न तर्कहरु गरेको देखिन्छ ।
घटना–दुई : दश वर्षदेखि अजितको शव टिचिङमा
अन्तरजातीय विवाह गरेकै कारणले ज्यान गुमाउनेहरुमध्येको अर्को कहालीलाग्दो घटना हो– अजित ढकाल मिजारको हत्या ।
काभ्रेका अजितले कल्पना नामकी युवतीसँग विवाह गरेका थिए । युवती १८ बर्षीया र पाँचखाल–६ का मिजार १७ वर्षका थिए ।
कानूनले तोकेको उमेर नपुग्दै प्रेम विवाह गरेका उनीहरुलाई दुबै परिवारले पाँचखाल प्रहरीबाट कागज गरी छुटाएर लगेका थिए । उमेर नपुगी बिहे गरेको भन्दै माइती पक्षको दबाबमा प्रहरीले त्यही दिन अलग बनाइदियो ।
त्योबेला कल्पनाका आफन्तले प्रहरीकै सामुन्ने ‘जति पैसा खर्च गरेर पनि तँलाई (अजित) लाई माटोमाथि हिँड्न दिन्नँ’ भनेर धम्की दिएकी थिइन् । मिजारसँग बिहे गर्ने ? भनेर बुवाले पनि कल्पनालाई प्रहरी कार्यालयमै गालीगलौज गरेका थिए ।
प्रहरीले उमेर नपुगेका कारण चौकी उपस्थित दुबै पक्षका परिवारलाई जिम्मा लगाएर पठाएको थियो । तर, दुई दिनमै मिजार मृत अवस्थामा धादिङको गजुरीमा फेला परेका थिए । गजुरी प्रहरीले बेबारिसे भन्दै पोष्टमार्टमपछि मिजारको शव गाड्यो । तर, परिवारले पुनः भिसेरा परीक्षणको माग गर्यो ।

धादिङ गजुरी खोलामा रहेको पाटीमा फेला परेपछि मृतकका परिवारले हत्या भएको आरोप लगाउँदै किटानी जाहेरी दिए । प्रहरीले केटीका बाबु, दिदी र काका पर्नेलाई अनुसन्धानका लागि हिरासतमा लियो । तर, उनीहरुले छोरीको बिहे अजितसँग नभएको जिकिर गर्दै आएका छन् । अजितको हत्यालाई सरकार नै लागेर आत्महत्या नाम दिइएको भन्दै पीडित परिवारले १० वर्षदेखि टिचिङ अस्पताबाट शव उठाएका छैनन् ।
घटना–तीन : अन्तरजातीय प्रेमले खोसेको सपना
रुकुम पश्चिमको ‘सोती घटना’ ले आज पनि सबैको मुटु हल्लाउँछ । २०७७ सालमा नवराज विकसहित उनका ५ जना साथीहरु भेरी नदीमा विलीन भए । गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीको सोतीका गाउँलेहरुले लेखेटेर कुटपिट पश्चात हत्या गरी ६ जनालाई भेरीमा बगाइदिए ।
नवराज र सुष्मा दुवैले एकले अर्कोलाई मन पराउथे । नवराजको घरैमा नै उनको आउजाउ हुन्थ्यो । छोरीको प्रेमसम्बन्ध तल्लो जातको केटासँग भएको परिवारले जानकारी पाएको थियो । त्यसकारण छोरीलाई नवराजबाट छुटाउने वा अलग गराउने मनसायमै थिए ।
नवराज एक दिन सुष्मालाई उनको घर पुरयाउन जाँदा मात्रै पनि चौकीको बास भएको थियो । केटीको परिवारले स्थानीय जनप्रतिनिधिसँग मिलेर चौकीमा थुनाएका थिए । तर, वडाध्यक्षले लकडाउनको समयमा अर्काको गाउँ प्रवेश गरेको कारण कारवाही गरिएको प्रतिक्रिया दिएका थिए ।
कानुनी रुपमा विवाह गर्न उमेर नपुगेकी सुष्मासँगको प्रेम सम्बन्धलाई तोड्न परिवार लागिपरिरहेकै बेला नवराज प्रेमिका गायब पारेको भन्दै नवराज साथीहरु लिएर उनको घरै पुगे । जेठ १० गते १८ जना साथीहरुसहित उनी सोती गाउँ पुगे । तर, त्यहाँ विवाद सुरु भयो । तल्लो जात र माथिल्लो जात भन्दै गाली गलौज भयो ।
झगडाले उग्र रुप लिने स्थिति भएपछि गाउँमा प्रहरी आएको थियो । प्रहरी आएपछि झगडा सामान्य भयो र नवराजसहित साथीहरु घर फर्किए । घर फर्किनेक्रममा बाटोमा थकाइ मार्न बसिरहेका बेला करिब ३ सय सय गाउँलेहरुले उनीहरुलाई आक्रमण गर्न थाले ।

सुरुमा त युवाहरुले आक्रमण नगर्न अनुनय गरे तर गाउँलेहरु उनीहरुलाई सिध्याउने तयारीसहित आएका थिए । घरेलु हतियारसहित ढुंगा र लठ्ठीले लेखेट्न थाले । उनीहरुले आक्रमण नगर्न भन्दाभन्दै दोहोरो भिडन्त भयो । र, आखिरमा ६ जनाको ज्यान गयो ।
मानवता बिर्साउने उक्त घटना अन्तरजातीय प्रेमसम्बन्धका कारणले उत्पन्न भएको थियो । नवराज र सुष्माबीच प्रेम सम्बन्ध थियो । अन्तरजातीय प्रेमलाई परिवारले अस्विकार गरेपछिको भयानक घटनाले आजसम्म न्याय पाउन सकिरहेको छैन । नवराजको परिवारसहित अन्य पीडित परिवार न्याय माग्दै माइतीघर मण्डलामा सुसाइरहेका छन् ।
यी हुन् केही प्रतिनिधि घटना । जो, प्रेमका नाममा जात–धर्म, उच्च–निच र धनी–गरिबबीचको खाडलले निम्त्याएका विध्वंस घटना हुन् ।
अभिभावकमाथि प्रश्न
आफ्ना छोराछोरीको प्रेमसम्बन्धमा अधिकांश परिवार तथा अभिभावक नै असहिष्णु बनेको देखिन्छ । सन्तानको सुखको लागि जस्तोसुकै कष्ट सहन तयार हुने अभिभावक उनीहरुको प्रेमसम्बन्धलाई किन स्वीकार गर्न सक्दैनन् ?
आफूलाई भन्दा बढी माया गरेर हुर्काएको सन्तानको हत्या गर्न कसरी सकिन्छ ? के चिजले उनीहरुलाई हत्यामा संलग्न गराउँछ ? रुबी हत्या प्रकरण हेर्ने हो भने आफ्नी प्रेमिकाको हत्या कसरी सम्भव हुन्छ ? जसले प्रेमिकाको नाम र फोटो शरीरमा ट्याटु हानेको छ, उसैले हत्या गर्न कसरी सक्छ ? यस्ता यावत प्रश्नहरुको उत्तर कसले दिन्छ ?

नेपाल प्रहरीको तथ्याङअनुसार पछिल्लो पाँच वर्षमा ३ हजार एक जनाको हत्या भएको छ । ०८०/०८१ मा ६३८ जनाको हत्या भएको छ । ०८१/०८२ मा ५२२ जनाको हत्या भएको छ । यसमा प्रेमका कारणले भएका हत्याका घटना पनि समावेश छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले प्रेम सम्बन्धकै कारणले उब्जिएको प्रकरणमा वर्षमा पाँचदेखि सातजनाको हत्या हुने बताएका छन् ।
साथै, उनी अत्यधिक ईष्याले मानिसलाई हत्याको बाटोमा डोर्याएको बताउँछन् । उनी भन्छन्, ‘अर्को, प्रेमसम्बन्धलाई फिल्म, कथा र उपन्यासले कहिँ कतै गलत दिशातिर डोर्याएको छ । फिल्म र वास्तविकताबीचको अन्तर छुट्याउन सकिरहेका छैनन् ।’
अर्कोतर्फ, प्रेम सम्बन्धका बारेमा समाज र परिवारले परम्परागत सोचलाई परिवर्तन गर्नुपर्ने प्रवक्ता घिमिरेको सुझाव छ ।
सन्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्छ : समाजशास्त्री
समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक एलिशा पौडेल अभिभावकहरुले आफ्ना सन्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउँछिन् ।

पौडेल भन्छिन्, ‘युवापुस्ताले प्रेमसम्बन्ध र विवाहको निर्णयलाई व्यक्तिगत अधिकारको रुपमा लिन्छन् । तर, अभिभावकले प्रेम सम्बन्धलाई इज्जत, जात, धर्म र हैसियतसँग जोडिरहेका छन् । त्यसकारण पुस्तान्तरण द्वन्द्व हुने गरेको छ ।’
उनी अगाडि भन्छिन्, ‘पहिले विवाहलाई दुई व्यक्तिबीचको मामिला नभइकन पारिवारिक सम्बन्धका रुपमा हेरिन्थ्यो । तर, समयको गतिशीतलासँगै युवाहरुले विवाहलाई व्यक्तिको अधिकार र रोजाइका रुपमा लिन थालेका छन् ।
पौडेलका अनुसार प्रेमका नाममा अभिभावक र छोराछोरीबीच हुने द्वन्द्वको समाधान गर्ने मुख्य भुमिका अभिभावककै हो । उनी भन्छिन्, ‘सन्तानको प्रेमसम्बन्धलाई स्वीकार वा समर्थन गर्ने र स्वतन्त्रताको सम्मान गर्दै परिवार सुन्दर एवं पूर्ण बनाउने जिम्मेवारी आमाबुवाको हो ।’
दक्षिण एसियाली समाजले आजको समयमा पनि प्रेमलाई बन्देज गर्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । ‘छोराछोरीले सजिलैसँग यो केटा वा यो केटीलाई मन पराउँछु, म यो मान्छेसँग जिन्दगी बिताउन चाहन्छु भनेर अभिभावकलाई सुनाउन सक्ने वातावरण नबन्नु अभिभावकले पुस्तान्तरण हुन नसक्नु हो’ पौडेलले भनिन् ।
उनका अनुसार प्रेम सम्बन्ध र विवाह फरक विषय हो । तर, सामाजिक संरचना, मूल्य र मान्यताले प्रेम सम्बन्ध विवाहमै परिणत हुनुपर्छ भन्ने धारणाले जरो गाडेकाले पनि समस्या उत्पन्न हुने गरेको छ । उनी भन्छिन्, ‘बुवाआमा र छोराछोरीको पुस्ताबीचमा ग्याप छ । सन्तानले प्रेमसम्बन्धलाई व्यक्तिगत छनोट, आत्मसन्तुष्टि र आफ्नो भविष्यसँग जोडेर हेरिरहेका छन् । यो कुरा अभिभावकले स्वीकार गर्नुपर्छ ।’
सन्तानको हरेक खुसीका लागि आफूलाई पूर्णरुपमा रित्याउने अभिभावकहरु उनीहरुको प्रेमसम्बन्धमै खलनायक बन्नेतिर नलाग्न पौडेलको सुझाव छ ।
उनी भन्छिन्, ‘छोराछोरीको प्रेम सम्बन्धमा बुवाआमाको भुमिका महत्वपूर्ण छ । एक सचेत र समझदार अभिभावक अब सन्तानको सबैभन्दा विश्वासिलो र मिल्ने साथी बन्नुपर्छ । प्रेम सम्बन्धमा देखा परेका समस्याबारेमा खुलेर बताउने वातावरण बनाइदिनुपर्छ । पारिवारिक तहबाटै समस्याको समाधान गर्नुपर्छ ।’
प्रतिक्रिया