रविले नख्खु जेलबाटै चलाउँदै छन् रास्वपा | Khabarhub Khabarhub

रविले नख्खु जेलबाटै चलाउँदै छन् रास्वपा

विश्लेषकको टिप्पणी : वैकल्पिकमा पनि व्यक्तितन्त्र हाबी भयो



काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा कारागार बसे पनि उनैले रास्वपा चलाइरहेका छन् ।

लामिछाने जेलमै रहेका बेला रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचनको माहोल तातेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराको निधन भएपछि रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचन नजिकिँदै गर्दा रास्वपाबाट आकांक्षीको लाइन छ । रास्वपामा ९ जना आकांक्षीले आइतबार नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेटे । एकसाथ भएको भेटमा रविले एकजना छान्नुपर्ने भएकाले अरुलाई चित्त बुझाउन आग्रह गरे । रविले टिकट नपाउनेलाई नबिच्किन, नचिढिन पनि आग्रह गरेको आकांक्षीमध्ये एक सुलभ खरेल बताउँछन् ।

रविले ०८४ पनि नजिकिएकाले सबैको पालो आउने विश्वास दिलाए । आकांक्षी सबैले सभापति भेटेलगत्तै पार्टी कार्यालय चःमतीमा सचिवालय बैठकबाट उम्मेदवारमा डा. लेखजंग थापाको नाम टुंगो लगाएको छ ।

जेलबाटै पार्टीमा पकड

रवि कारागार रहेका बेला रास्वपाले कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल (डिपी)लाई तोकेको छ । कार्यवाहक भए पनि रास्वपामा डीपीको खास चल्दैन । अहिले पनि रविकै इच्छा र निर्देशनअुनसार रास्वपा चल्ने गरेको छ । रुपन्देही उनिर्वाचनको उम्मेदवारसहित रविले कारागारबाटै आफूअनुकुलका निर्णय गराइरहेका छन् ।

यसको उदाहरण लामिछाने भैरहवा कारागारमा हुँदा संसदीय दलको बैठक १४ साउनमा त्यहीँ बस्यो । बैठक बस्नुअगाडि नेताहरूले रविलाई कारागारमै भेटेर एजेन्डा तय गरे । रविले दलको बैठक यतै गर्न भनेपछि नेताहरू जहाज चढेर भैरहवा पुगे ।

‘त्यसबेला पनि रुपन्देही–३ लक्षित अभियानमा भैरहवामै थियौँ । सभापतिले नै दलको बैठक यतै गर्नु भनेपछि पार्टी कार्यवाहक सभापतिलाई भन्नुभएको रहेछ’, रास्वपाका एक सांसदले खबरहबलाई भने, ‘हुन त हाम्रो गत वर्ष बाटै दलको बैठक काठमाडौँभन्दा फरक ठाउँमा गर्ने भन्ने थियो । तर उहाँ जेल बसेकै ठाउँमा रविकै इच्छाअनुसार बैठक भएको हो । अहिले पनि सभापतिको परामर्श लिने गरेका छौँ । यो स्वाभाविक पनि हो ।’

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले गत चैत १७ गते नै सभापति लामिछानेलाई आफू पदमा नबस्ने भन्दै राजीनामा बुझाएकी थिइन् । तर, ४ वैशाखमा मात्रै उनको राजीनामा पत्रबारे पार्टी केन्द्रीय समिति बैठकमा छलफल भयो । त्यसपछि उपसभापति अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेसँगै भैरहवा कारागार पुगेर छलफल गरेका थिए । छलफलपछि रविले नै सुमनाको राजीनामा स्वीकृत नगर्नु भनेपछि रोकियो ।

यस्तै, सह–कोषअध्यक्ष दीपक बोहरालाई सह–महामन्त्री पद दिन रविले जोड गरेका थिए । यो कुरा साउन २३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकमा उठेको थियो । कार्यवाहक सभापति अर्यालले यो एजेन्डा अगाडि सार्न कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई निर्देशन दिएका थिए ।

तर बैठकको पूर्वनिर्धारित एजेन्डामै नभएको कुरा बैठकमा उठाएको भन्दै अन्य नेताहरूले विरोध गरेपछि भनाभन भएको थियो । विरोध भएपछि बोहरा सह–महामन्त्री बन्ने कुरा सेलाएको छ ।

रविका विश्वासिला पात्र बोहोराको पदोन्नति नभएपछि नेताहरू अहिले असन्तुष्ट छन् । सभापति लामिछानेले भने यो कुरा जेलबाटै मिलाउन खोजेको आरोप पनि उनीहरूले लगाउने गरेका छन् ।

यस्तै गत असोज १ र २ गते प्रज्ञा भवनको राष्ट्रिय भेलाले ०८२ वैशाख २५, २६ र २७ २०८२ महाधिवेशन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय भेलाको निर्णयलाई असोज १२ गतेको केन्द्रीय समिति बैठकले चितवनमा गर्ने सहमति गर्‍यो ।

तर सभापति लामिछाने कारागार चलान भएपछि महाधिवेशन रोकिएको छ । पहिलो महाधिवेशन फागुनमा गर्ने निर्णय भए पनि लामिछाने जेलमै रहनुपरे यो पनि सम्भव नहुने रास्वपा नेताहरू बताउँछन् ।

रास्वपाले सभापति कारागार भएकै कारण १५ मंसिर २०८१ मा ४४ स्थानमा भएको उपनिर्वाचनमा २६ ठाउँमा मात्रै उम्मेदवारी दियो । त्यसबेला सहरी इलाका कीर्तिपुरमा पनि उम्मेदवार उठाउन नसकेको रास्वपाले काठमाडौँ वडा नम्बर १६ मात्रै जित्यो ।

०७९ को निर्वाचनमा ११ लाख मत कटाएर देशको चौथो ठूलो दल रास्वपाका २१ जना सांसद छन् । रास्वपा रुपन्देहीको निर्वाचनमा बाजी मार्ने योजनामा छ । यसअगाडि वैशाख १०, २०८० मा भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

उम्मेदवार छनोट विधि

यस वर्ष रुपन्देही उपनिर्वाचनको उम्मेदवार छनोटका लागि पार्टीले साउन ७ देखि २१ गतेसम्मको समय तोकेर आवेदन मागेको थियो ।

आवेदन परेकामध्ये प्रारम्भिक सूचीका रूपमा साउन २२ गते ९ जनाको नाम सार्वजनिक गरियो । त्यसपछि विभिन्न चरणमा अन्तरवार्ता लिएर योग्य उम्मेदवार छनोट गरेको नेताहरू बताउँछन ।

तर पनि लामिछानेले रुचाएकालाई थापालाई उम्मेदवार बनाएको आरोप पनि छ । तर कार्यवाहक सभापति अर्याल उम्मेदवार छनोटमा सभापतिको भूमिका नरहेको बताउँछन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पनि टीकापुर घटनामा कारागारमा हुँदा त्यहीँबाटै पार्टी चलाउँथे । त्यसबेला उनले श्रीमती रञ्जितालाई अध्यक्ष बनाएका थिए ।

रास्वापाबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि पार्थिवेन्द्र उपाध्याय, उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता जेबी, कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल प्रारम्भिक सूचीमा थिए ।

२०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ।

रास्वपामा दलतन्त्र होइन, नेतातन्त्र हाबी

राजनीतिक विश्लेषक सुरेन्द्र लाभ रास्वपाका सबै घटनाक्रम हेर्दा रविको एकल निर्णयमा चलेको बताउँछन् । वैकल्पिक भनिएको शक्तिलाई जेलबाट सञ्चालन गर्नुले व्यक्तिको पेवा जस्तो देखिएको उनको भनाइ छ ।

उनी रास्वपामा दलतन्त्र भन्दा नेतातन्त्र हाबी भएको कुराको पुष्टि भइसकेको बताउँछन् । ‘वैकल्पिक भनिएको पार्टी सभापतिले जेलमा हुँदा सबै अधिकार पार्टीमा दिनुपर्ने थियो । तर उहाँहरूको जिनमा त्यो देखिएन । उहाँले जेलबाटै पार्टी चलाएको कुरा जनताले छर्लङ्गै देखे । यसमा पनि लोकतान्त्रिक पद्धतिको अभाव देखियो’, विश्लेषक लाभले खबरहबलाई भने, ‘परम्परागत दलकै धारमा रास्वपा बगेको छ । यो पार्टी वैकल्पिक हुने भन्दा एक थान मान्छेले चलाएको देखियो ।’

लामिछानेले तत्काल राजीनामा दिएर पार्टीलाई स्वतन्त्र रुपमा चलाउन दिनुपर्ने लाभले सुुझाव दिएका छन् । ‘स्वतन्त्र रूपमा निर्णय गर्ने दिनुपर्ने थियो,’ उनले अगाडि भने, ‘उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । निर्णय अधिकार पार्टीको सचिवालय र केन्द्रीय कमिटीलाई दिनुपर्छ ।’

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ८ : १० बजे

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’

बेनी–दरवाङ सडक सञ्चालनमा

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, जेन-जीको आक्रमणपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग