क्रान्ति सम्भव नभएपछि जनमत परीक्षणमा लाग्यौं : प्रकाण्ड | Khabarhub Khabarhub

 अन्तरवार्ता

क्रान्ति सम्भव नभएपछि जनमत परीक्षणमा लाग्यौं : प्रकाण्ड

सच्चा जेन-जीसँग चुनावमा सहकार्य गर्छौँ



काठमाडौं- २०६४ सालपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुटेको नेत्रविक्रम चन्द विप्लवको समूहले मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी नामबाट संसद बाहिर पार्टी चलाइरहेका विप्लवले निर्वाचन आयोगमा दलदर्ताको नाम दिँदा कम्युनिष्ट पार्टी, नेपाल प्रस्ताव गरेका छन् । दल दर्ता गराएपछि यसका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जेन–जीसँग सहकार्य गरेर आगामी चुनावमा सक्रिय सहभागी हुने बताए ।

२०८४ सालको निर्वाचनमा होमिने तयारी गरिरहेको नेकपा आन्दोलनपछि बनेको सरकारले घोषणा गरेको मितिकै चुनावमा सहभागी हुने प्रतिवद्धता जनाएको छ। क्रान्तिमार्फत देश परिवर्तन गर्न नसकेपछि जनमत परीक्षणको बाटो पक्रिएको प्रवक्ता विश्वकर्माको भनाइ छ । विगत १०-१५ देखि नेकपाले अहिलेको जेन–जीले उठाएका मुद्दाहरू अगाडि सारेको बताउँदै नव पुस्ताले यसलाई उठाएको दाबीउनले गरे ।

अहिलेको सन्दर्भमा बृहत् कम्युनिष्ट पार्टी एकता हुनुपर्ने र तल्लो वर्गको समेत पार्टीमा प्रतिनिधित्व हुनुपर्ने मत उनको छ । ‘पार्टी औद्योगिक क्रान्तिमा लागेको छ । आत्मनिर्भर र रोजगारीको अभियानलाई पार्टीले निरन्तरता दिन्छ ।’ वर्तमान सरकारप्रति आफ्नो धारणा राख्दै उनी भन्छन्– ‘यो सरकार न जेनजी, न राजनीतिक दल, न नागरिक समाज कसैको रहेन । म सर्वमान्य सरकार बनाउन आग्रह गर्छु । मेरो पार्टीले चुनावमा सक्रिय सहभागिता जनाउँछ ।’

कम्युनिष्ट पार्टी नेपालको पछिल्लो राजनीतिक अवस्था, जेन–जी आन्दोलनले ल्याएको परिवर्तन, कम्युनिस्ट पार्टीहरूबीचको एकता र सरकारको गतिविधिका सन्दर्भमा कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंहरुको पार्टी पहिलो पटक निर्वाचनमा जाँदैछ, कतिको ऊर्जा छ ?

हाम्रो पार्टी नेपालको कम्युनिष्ट आन्दोलन,राजनीतिक आन्दोलन र नेपाली क्रान्तिको एउटा नयाँ मोर्चा हो । नयाँ कार्यक्रम पनि हो । अहिले देशको स्थिति अत्यन्तै जटिल छ । पुराना राज्यका सञ्चालकहरूले विगतको जनआन्दोलन, जनयुद्ध, जनताको संघर्ष, मर्म र भावना विपरीत देशलाई ब्रम्हलुट मच्चाउने थलो बनाएपछि नेपाली जनताले त्यसको विकल्प खोजे । जुन कुरा जेनजी आन्दोलनमा व्यक्त भएको छ ।

हामीले अहिले निर्वाचन प्रक्रिया किन अगाडि बढाएको भन्दा संघर्षको मोर्चाबाट मात्र हैन, जनमत नयाँ ढंगले परीक्षण गर्ने कार्यक्रम नेकपाले अगाडि सार्नुपर्छ भन्ने लाग्यो । जेन–जी मुभमेन्टपछि त्यसको मूल नेतृत्व नेकपाले गर्नुपर्छ । जनताले विकल्प खोजेका छन् भन्ने निधोमा हामी पुग्यौं ।

परिस्थितिले राजनीति र नेताको विकल्प खोजेको छ ।समस्या समाधानको विकल्प खोजेको छ । यो विकल्प चुनावी मोर्चामा पनि प्रस्तुत गर्ने गरेर हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको हो । खास भन्दा संघर्षको मोर्चा र क्रान्तिबाट देश परिवर्तन गर्न नसकेर जनमत परीक्षण गर्न लागेको हो ।

आगामी राजनीति र चुनावको नेतृत्व पनि नेपाल कम्युनिष्ट पार्टीले गर्ने बेला भयो । जनताको अपेक्षा र चाहाना अनुसार जाने भनेर संसदीय मूलधारमा आउने निर्णय भएको हो ।

यहाँहरू ०८४ मा त निर्वाचन लड्ने तयारीमा हुनुहुन्थ्यो । जेन-जी मुभमेन्टले निर्वाचन अगाडि सर्दा सांगठनिक हिसाबबाट घाटा हुने भयो भन्ने लाग्दैन?

हामीले ०८४ को निर्वाचनको निम्ति तयारी गरिरहेका थियौँ । निर्वाचनमा जाने र जनताको अभिमत लिने भनेर हामीले कुरा अगाडि बढाएका थियौँ । यो अभिमत लिने कुराले नै जनभावनाको प्रतिनिधित्व हुन्छ भनेका थियौँ । क्रान्तिमा नयाँ नीति हुन्छ । अहिलेको बस्तुस्थितिले जे माग गरेको छ, त्यसको प्रतिनिधित्व गर्छ भनेर यो नीति बनाएको हो । जेन–जी आन्दोलनपछि स्थिति भिन्न भयो ।
फागुन २१ मा निर्वाचन भनेर घोषणा गरिएको छ । निर्वाचनमा हामी जान्छौँ । किनकि निर्वाचनबाट पनि परिवर्तनको निम्ति प्रयास गर्न सकिन्छ भन्ने प्रमाणित गर्नको निम्ति निर्वाचनमा गइन्छ । चुनावमा गएर एमाले–कांग्रेसजस्तै भन्ने टिकाटिप्पणी पनि सुन्छौँ । यो त विचार, राजनीति उद्देश्य र इमानदारीतामा भर पर्छ । लेनिनहरु पनि त निर्वाचनमा गएका हुन् । उनीहरू निर्वाचनमै गएर अक्टोबर क्रान्ति जन्माएका हुन् ।

नेपालमासंसदीय व्यवस्थामा गएर जनयुद्ध सखाप पारे । यो संसदीय व्यवस्थामा गएर मालेहरूले झापा विद्रोह सखाप पारे । हामीले भनेको के भने विचार र राजनीतिक कार्यक्रमको कुरा जनताप्रतिको इमान्दारीको कुरा र नेता आफैं अरेस्ट हुने कुरा मुख्य हो ।

त्यसमा हामीले मोर्चा जरुरी छ भनेर भनिहालेका छौँ । जहाँसम्म फागुन २१ को कुरा छ, हामी फागुन २१ को निर्वाचनमा जान्छौँ । तर त्यो समयमा निर्वाचन हुनका लागि धेरै जटिलता छन् । यो जटिलताको त हामीले सामना गर्नुपर्छ । निर्वाचनमा जाने कुरामा कुनै शंका छैन ।

देशव्यापी रूपमा आफ्ना प्रतिनिधि उठाउनुहुन्छ कि मोर्चा बनाएर जानुहुन्छ ?

पहिलो कुरा त जनताले विकल्पमा फ्रेस पार्टी खोजेका छन् । आफूप्रति उत्तरदायी पार्टी र नेता खोजेका छन् । मन पराएको नेता पनि खोजेको हुनाले नेपाल कम्युनिष्ट पार्टीलाई नै देशव्यापी रूपमा लैजान्छौँ । यो निर्वाचन हेर्दा देशभित्रको भए पनि स्वाधिताको लडाइँ हो ।

नेपाली जनतालाई दासताबाट मुक्त गरेर राज्य व्यवस्था स्थापना गर्ने र दुखबाट मुक्त गर्ने लडाइँ हो । यो कारण नेकपाले लिडिङ नै गर्छ । यो उद्देश्यको निम्ति अनुकूल हुने पार्टीहरूसँग जनताका विभिन्न सेक्टरसँगसहकार्य हुन्छ नै ।

उसो भए माओवादी र अन्य पार्टीसँग मोर्चा बनाएर अघि बढ्ने सम्भावना उत्तिकै छ ?

पहिला त पार्टी नै पनि जान्छ । त्यो सँगसँगै सहकार्यको कुरा र चुनावी मोर्चाको कुरालाई पनि हामी इन्कार गर्दैनौँ । को सँग के होला भन्ने कुरा अर्को कुरा भयो । यो निर्वाचन मात्र होइन, संघर्षको नयाँ मोर्चा हो ।

मोर्चा गरेर जाँदा त पुराना दलजस्तै भएन र ? गफ ठूला गर्ने अनि पुरानाकै सिको गर्ने भन्लान् नि ?

संसदीय व्यवस्था र संसदीय पार्टी फेल भइहाले । अब जेन–जी आन्दोलनले त्यसको विकल्प खोजेको हो । हामीले राज्यलाई रूपान्तरण गर्ने हो । जनतालाई अधिकार सम्पन्न गराउने, देशलाई समृद्धितर्फ लाने र स्वाधितालाई सुनिश्चित गर्ने कार्यक्रम छ । यो कुरा विगतमा संसदीय व्यवस्थाले पैदा गरेका समस्याबाट देशलाई मुक्त गर्ने कुरा हो । यो देशलाई संघीय समाजवादी व्यवस्थामा लाने कुरा पनि हो ।

उत्पीडित वर्ग, समुदाय र क्षेत्रको जनताको निश्चित समयसम्म अग्र अधिकार सुनिश्चित भएको समाजवादी संघीयतामा लाने हो । हामीले यो एजेन्डा पेस गर्छौं । यो नितान्त नयाँ हुन्छ र संसदवादीभन्दा फरक विषय हो ।

यहाँले भन्नु भएको व्यवस्था कस्तो हो ? सबैले बुझ्ने भाषामा बताइदिनुस् त ?

पहिलो कुरा मजदुर,किसान वर्ग र राष्ट्रिय पूँजीपति उद्यमी वर्गको हुन्छ । महिलाहरूको हुन्छ । श्रमिक समुदाय र जनजातिहरूको पार्टी हुन्छ । उत्पीडित क्षेत्रका जनताको पनि हुन्छ । उनीहरू प्रतिनिधित्व हुने चलन स्थापित हुन्छ ।

दोस्रो कुरा समानुपातिक र सहभागिताको सिद्धान्तलाई सुनिश्चित गरिएको हुन्छ । त्यसमा निर्वाचन सिस्टम हुन्छ । त्योसँगै पूर्ण समानुपातिक सिस्टम अगाडि बढ्छ । यसको फैसला जनताले गर्नेछ । जनताबाट निर्वाचित भएर आउनुपर्छ । पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली हामीले अगाडि सार्छौं ।

तेस्रो कुरा कार्यकारी प्रमुख जो हुन्छ, त्यो जनताबाट निर्वाचित भएर आउने हुन्छ । त्यसपछि हामी राष्ट्रपति सिस्टम नै राख्छौँ । तर त्यो प्रत्यक्ष जनताबाट निर्वाचित भएर आउँछ । यो हुँदा अग्र अधिकार सुनिश्चित भएको संघीय समाजवादी व्यवस्था हुन्छ । यो भनेको विगतको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाजस्तो हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने तर दलाल, पूँजिपतिले सत्ता कब्जा गरेर लुटमार मच्चाउने विगतको कुरा जुन छ, त्यो कारण देश बर्बादीमा पुगेको छ । यसको अन्त्य गर्ने नै प्रमुख कुरा हो ।

यहाँहरूले उठाएका मुद्दा र जेनजीका मुद्दा केही मिल्दाजुल्दा छन् । आगामी निर्वाचनमा धेरै जेन–जीको पार्टीमा सहभागिता रहन्छ हो ?

भदौ २३ र २४ गते जेनजीले विद्रोहबाट मुखरित गरे । उनीहरूको एजेन्डा भनेको हामीले विगत १०, ११ वर्षदेखि निरन्तर अगाडि सारेको र संघर्ष गरेको एजेन्डा हो । जेनजीले नेपाल नयाँ राज्य खोजेको हो । नेकपा पनि नयाँ राज्यको निम्ति निरन्तर संघर्ष गरिरहेको छ ।सच्चा जेन–जीसँग नेकपाको सहकार्य हुन्छ । हाम्रो पार्टीमा पनि जेनजी अनुहारहरू थुप्रै हुनुहुन्छ ।

यहाँले यसो भनिरहँदा चन्दा आतंक मच्चाएको विप्लवको पार्टीलाई जनताले भोट दिँदैनन् भन्छन् नि ?

नेकपाले चन्दा उठाएको पनि छैन, आतंक मच्चाएको पनि छैन । यो हाम्राविरुद्ध गरिएको षड्यन्त्र हो । जो साम्राज्यवादी र देशका दलालहरूले नियोजित रूपमा पार्टीलाई बदनाम गर्न जनतामा पार्टीको गलत म्यासेज दिन र जनताबाट पार्टीलाई अलग्याउनको लागि गरेको षडयन्त्र हो ।

हामीले विगतमा पार्टीलाई देश र जनतामा निर्भर बनाएको हो । तर संसदीय पार्टी साम्राज्यवादमा निर्भर हुन् । उनीहरूले साम्राज्यवादको सिता खाएर तिनीहरुकै गीता गाउँछन् । हामी जनताको मुक्तिको निम्ति जनतामा भर परेका थियौँ । हामीलाई चाहने र खुसी हुनेलाई सहयोगको आग्रह गरेको हो ।

केहीले हामीलाई सहयोग गर्नुभयो । अहिले पनि निरन्तरता दिइरहनुभएको छ । चन्दा भन्ने कुरा नितान्त गलत हो । पछिल्लो दिनमा त पार्टीलाई आत्मनिर्भर बनाउन राष्ट्रिय आत्मनिर्भरको विचार अगाडि सारेर त्यसको अभ्यासमा छौँ । उत्पादन क्याम्पेन नै चलाइरहेका छौँ ।

माओवादीसँग मिल्नलाई केही कुरा मात्र बाँकी छ भन्ने सुनिएको थियो । एकता वार्ता कहाँसम्म पुग्यो ?

अहिले नेपालको कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्न जरुरी छ । नेपालको प्रगतिशील र लोकतान्त्रिक आन्दोलनलाई पनि पुनर्गठन गर्न जरुरी छ । हामीले यसका निम्ति विचार मिल्ने राजनीतिक कार्यक्रम र नीति मिल्नेसँग एकता गरेर जाने सोच बनाएका छौं । जो सँग मिल्दैन, छलफल गर्ने र छलफलबाट मिलाउनेतिर जाने हो । तर छलफलले अलिकति समय लिने सन्दर्भमा मोर्चाबन्दी र सहकार्य गर्ने नीति अगाडि सारेका छौं । यही एजेन्डामा नेपालका सबै कम्युनिष्ट पार्टीसँग छलफल भइरहेको छ । समाजवादी मोर्चामा भएकासँग बढी भएको छ ।

राजनीतिक दृष्टि र वैचारिक रूपमा अलिबढी छलफल बाँकी छ । अहिले एकताको प्रयास कहाँ पुगेको छ भने कम्युनिष्ट पार्टी निर्माणमा संगठनात्मक सिद्धान्त, सवाल र नेतृत्वको सवालमा छलफल चलेको छ । त्यो विषय आफैँमा संवेदनशील विषय छ । यो मुख्य विषय पनि भएकाले छलफल चल्नु स्वाभाविक नै हो । हामी एकदमै संवेदनशील विषयमा प्रवेश गरेका छौँ ।

विप्लवले नेतृत्वमा दाबी गर्नुभएको हो ?

इच्छा होइन, अब त लिडरसिप नै हाम्रो चाहिन्छ । कमरेड विप्लवले नै लिड गर्नुपर्छ कम्युनिष्ट आन्दोलन र अस्तिको जेन–जी मुभमेन्टले नै त्योे कुरा त प्रमाणित गर्‍यो नि ।

कतै नेतृत्वको विषयले नै वार्ता अड्किएको त हैन ?

त्यस्तो होइन । केही वैचारिक र सैद्धान्तिक कुरा पनि मिलेका छैनन् । प्रयास निरन्तर छ । तर हामी निर्वाचनमा एक्लै भए पनि भाग लिने हो ।

निर्वाचन हुने कुरामा ढुक्क हुनुहुन्छ ?

ढुक्क त छैन । तर निर्वाचनसँग सरोकार राख्ने सबैले आशंका व्यक्त गर्नुभएको छ । सुरक्षा, वातावरण र सहजताको कुरा उठेको छ । ती जटिलता चिर्नुपर्छ । तर आगामी निर्वाचनलाई नेकपा नयाँ जनक्रान्ति मोर्चाको रूपमा लिन्छ । जनक्रान्तिमा नेपाली जनताको अभिमत फायर गर्ने मोर्चाको रूपमा नेकपा यहाँहरूको बीचमा आउँछ ।

यसमा जो विद्यमान समस्या छन् , यसको समाधानको निम्ति मुक्ति र राज्यव्यवस्था स्थापना गर्ने स्वाधीनता बनाउने आधारभूत आवश्यकताको चिन्ता र टेन्सनबाट मुक्त गर्ने, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने आत्मनिर्भर अवस्थाको जग बसालेर देशलाई समृद्धितर्फ लाने विश्वका सबैभन्दा सुखी र सबैभन्दा खुसी भएको देशको जनता भन्ने किसिमले विश्व रेकर्ड कायम गर्नको लागि जनताको बीचमा जान्छ ।

सुशीला कार्की नेतृत्वको सरकारलाई कसरी हेर्नुभएको छ ?

जेन–जी मुभमेन्टको स्पीड र सरकारको आकार मिलेको छैन । जेन–जीको पनि यस्तै धारणा आएको छ । यसको समाधान नयाँ ढंगले खोज्नुपर्छ । हामीले त यो सरकारलाई गाह्रो हुन्छ भनिसकेका छौँ । सरकारमा गएका अहिलेकै फिगरबाट विश्वसनीय वातावरण नबन्ने निश्चित छ ।

बरु हामीले अगाडि सारेको सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ । त्यो राजनीतिक चरित्रको हुनुपर्छ । अहिलेको सरकार आफैँलाई गैर राजनीतिक भन्छ । यो सरकार असाध्यै एकल छ । जनतासँग अलगिएको, दलबाट अलगिएको र जेन–जी मुभमेन्टबाट पनि अलगिएको छ । यसको समाधान सर्वपक्षीय अन्तरिम सरकारबाटमात्र हुन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ०९ बजे

थापाथलीस्थित राम मन्दिर परिसरमा महानगरपालिकाले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ

माओवादीसँग मिल्ने निर्णयविरुद्ध उभिए एकीकृत समाजवादीका यी नेता, विद्रोह गर्ने चेतावनी

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड

अनमोलले दिए करिअरकै हिट फिल्म, ‘जेरी अन टप’ टिमले काट्यो केक

काठमाडौं – नायक अनमोल केसी स्टारर प्रदर्शनरत फिल्म ‘जेरी अन

भारत र अमेरिकाले गरे दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर- भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले

मनास्लु क्षेत्रमा पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

गोरखा– मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन्