सहायक भूमिकामा देखिन थालेकी ऋचा भन्छिन्- मैले अभिनयमा ‘गियर चेन्ज’ गरिसकेँ | Khabarhub Khabarhub

सहायक भूमिकामा देखिन थालेकी ऋचा भन्छिन्- मैले अभिनयमा ‘गियर चेन्ज’ गरिसकेँ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्माको अभिनय रहेको फिल्म ‘जारी २’ कात्तिक २१ बाट प्रदर्शनमा आउँदैछ ।

ऋचाका अनुसार यस फिल्मको उनी एक मात्र ‘गैर मंगोलियन’ मुख्य महिला कलाकार हुन् ।

उनी आफ्नो भूमिकाबारे भन्छिन्, ‘मेरो प्रवेश भएपछि शीर्ष कलाकार मै हो भन्दा हुन्छ ।’

निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले ऋचाको भूमिकालाई गोप्य राखेका छन् । महत्त्वपूर्ण भूमिकामा रहे पनि ऋचालाई ट्रेलरमा समावेश गरिएको छैन ।

उनी भन्छिन्, ‘मेरो पात्र खुलाउँद सस्पेन्स राखिएको कथा खुल्ने जोखिम भएकाले यस्तो भएको हो ।’

‘जारी २’ पनि आफू महत्वपूर्ण सहायक भूमिकामा रहेको उनी स्वीकार्छिन् । पछिल्लो समय उनी फिल्ममा सहायक भूमिकामा देखिन थालेकी छन् ।

यसरी फिल्ममा भूमिका परिवर्तन गर्नुलाई उनी करिअरको ‘गियर’ परिवर्तन गरेको रुपमा व्याख्या गर्छिन् ।

भन्छिन्, ‘सहायक वा सपोर्टिङ रोल गरेँ भने मलाई कामको कमी हुँदैन भनेर गियर परिवर्तन गरेको हुँ । अब मलाई लिड नै चाहिन्छ भन्ने छैन । राम्रो फिल्म गर्न मन छ । महत्त्वपूर्ण भूमिका निर्वाह गर्न मन छ ।’

प्रस्तुछ छ– उनै नायिका ऋचासँग गरिएको कुराकानीको सम्पादित अंश । पूरा अन्तर्वार्ता भिडियोमा हेर्न सकिनेछ ।

भिडियो :

हिट फिल्म दिने ब्यानरसँग जोडिएर अभिनय गरिरहनु भएको छ नि । ‘बाँसुरी फिल्मस्’बाट फिल्म ‘डिग्री माइला’, सन्तोष सेनको ब्यानर ‘आसुसेन फिल्मस्’बाट बलिदान । कीर्तिमानी निर्देशक सरोज पौडेलको फिल्म ‘कोशेढुङ्गा’ । अहिले ‘जारी २’मा अभिनय गर्नुभयो । तपाईंका पछिल्ला फिल्महरूबारे के भन्नु हुन्छ ?

– अँ त्यस्तै भएको छ । केही फिल्म अझै आउन बाँकी छन् । राम्रो ब्यानर र टिमसँग काम गरेकी छु । ब्यानरभन्दा मैले टिम नै हेर्ने हो ।

म २५ वर्षकी हुँदा ‘तिमी २५ वर्षको हुँदा रिटायर्ड’ हुन्छौं भन्थे सबैले । नट्यश्वरीको कृपा, आफ्नो ‘प्यासन’ र मेकरहरूको विश्वासले होला फिल्म पाइरहेको छु ।

‘फिल्ममा एक नायिकाको प्राइम समय वा फिल्ममा अभिनय गर्ने अवधि १० वर्ष हो’ भन्ने भाष्य छ । यसलाई गलत सावित गर्नेतिर हुनुहुन्छ ?

– त्यो ‘स्टिरियोटाइप’लाई गलत सावित गर्न त लागेको होइन । मैले फिल्ममा डेब्यू गरेको १० वर्ष भयो । सन् २०१० मा मेरो पहिलो फिल्म ‘फ्रस्ट लभ’ रिलिज भएको थियो ।

अभिनय गर्दै गर्दा एउटा फिल्मको दममा अर्को फिल्म पाइयो ।

हामी आउँदै गर्दा सिनियर दिदीहरू अलि कम व्यस्त हुन थाल्नुभयो । अहिले म र मसँगै करिअर सुरू गरेका साथीहरूभन्दा नयाँ नायिकाहरू आउनुभएको छ ।

स्वस्तिमा, दिव्या, अञ्जाना जस्ता नायिका आएका छन् ।

त्यो देख्दै गर्दा कलाको कुनै उमेर हुँदैन भन्ने चाहिँ सत्य रहेछ भन्ने लागेको छ । त्यहीमाथि मेकरहरूले उमेरको कुनै सीमा नराखी कथा लेख्नुहुन्छ, चरित्र निर्माण गर्नुहुन्छ । यसको साक्षी बन्न पाउँदा खुसी लागेको छ ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी २’ मा तपाईंको प्रवेश कसरी भयो ?

– यो फिल्ममा अभिनय गर्ने मैले सपनामा पनि सोचेको थिइनँ ।

‘जारी’ मैले हलमा पुगेर तीन पटक हेरेको फिल्म हो । मेरा लागि उत्कृष्ट ५ फिल्ममा ‘जारी’ पर्छ ।

‘जारी’ हेरेपछि लिम्बू सँस्कृति बुझेँ । र, एउटा फिल्मले यतिधेरै ज्ञान दिन सक्छ भन्ने महसुस गरायो ।

कुनै कुरा मनको भित्री कुनामा राखियो भने पाइन्छ भन्छन् नि । सायद ‘जारी २’ मेरा लागि त्यही भएको हुनुपर्छ ।

मलाई निर्देशक रामबाबु गुरुङको अफिसबाट फोन आयो । ‘जारी २’का लागि एउटा पात्र छ, अफिस आएर भेट्नु न भन्नुभएको थियो । त्यो फिल्मलाई भनेपछि म बाटोमा जाँदा नै जे जस्तो भए पनि म गर्छु भन्ने मनमा खेलिरहेको थियो ।

त्यसरी प्रस्ताव आएको थियो ।

‘जारी २’को मुख्य कलाकारमा तपाईंले मात्रै गैरमंगोलियन भूमिका निर्वाह गर्नुभएको हो नि ?

– यस फिल्ममा म एउटा महिला कलाकार हो, जो गैरमंगोलियन हो । त्यही भएर पनि मलाई उक्त भूमिकाका लागि सम्झनु भएको होला ।

‘जारी २’को ट्यागलाइन ‘सङ अफ च्याब्रुङ’ छ । च्याब्रुङबिना लिम्बू समुदायको कल्पाना गर्न सकिँदैन भनिन्छ । यस्तो कथामा गैरसमुदायको भूमिकामा कसरी निर्माण भयो ? अनि तपाईंको प्रवेश भयो ? तपाईंको भूमिकाबारे कति खुलाउन मिल्छ ?

– मेरो भूमिका अहिले खुलाउन मिल्दैन । ट्रेलरमा म छैन । टिजरमा सानो झल्को छ । मेरो कुनै पनि दृश्य देखाउँदा सस्पेन्स राख्न खोजिएको कथा खुल्ने जोखिम भयो । त्यहीकारण म ट्रेलरमा पनि अट्न सकिनँ ।

मलाई लाग्द निर्देशक उपेन्द्र सुब्बा दाइले निकै सोच विचार गरेर मेरो क्यारेक्टरलाई ट्रेलरमा स्पेस दिनु नभएको हो ।
जब फिल्ममा मेरो पात्रको प्रवेश हुन्छ । फिल्मको कथा अन्तै बग्छ ।

ट्रेलरमा तपाईं नअट्नुले ‘गेस्ट अपिरिएन्स’ हो भनेर बुझ्दा हुन्छ ? कि शीर्ष कलाकार नै तपाईं ?

– शीर्ष कलाकारहरू त दयाहाङ राई, मिरुना मगर र यो पटक विजय बराल पनि हुनुहुन्छ ।

यो पटक अन्य धेरै कलाकारको प्रवेश भएको छ । फिल्ममा जब मेरो प्रवेश हुन्छ, त्यहाँदेखि म लिड क्यारेक्टर हुन्छु । यसरी बुझ्दा हुन्छ ।

तपाईंलाई पर्दामा देख्न हामीले मध्यान्तर कुर्नुपर्छ ?

– सायद मध्यान्तरपछि नै हुनुपर्छ ।

फेरि प्रचारमा उत्साहपूर्ण छ नि सहभागिता ?

– आफूलाई महत्त्वपूर्ण नलागेको फिल्म गर्ने भन्ने कुरा नै हुँदैन । सिनेमामा जोडिएपछि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । दर्शकसँग फिल्म आउँदै छ भनेर पुर्‍याउन पनि त हिँड्नुपर्‍यो ।

कात्तिक २१ गते ‘जारी २’ आउँदै छ है भनेर त दर्शकलाई थाहा दिनुपर्‍यो नि । यो मेरो कर्तव्य पनि हो ।

अब तपाईंको करिअरको कुरा गरौं । हिट फिल्मको जरुरी त छ नि होइन र ?

– म हिटको फ्लपको दबाब लिने कलाकार होइन । कुन सिनेमाको व्यापार कस्तो हुन्छ, त्यो कसैलाई पनि थाहा हुँदैन ।
सिनेमा गर्नु हाम्रो कर्म हो । चल्नु भाग्य हो । भाग्यको कुरामा मैले किन दबाब लिनु ?

तर, सिनेमाबाट अहिले पनि प्रस्ताव आइरहेको छ ।

अर्को कुरा मैले ‘गियर चेन्ज’ गरिसकेँ । अब मलाई लिड नै चाहिन्छ भन्ने छैन । राम्रो फिल्म गर्न मन छ । महत्त्वपूर्ण भूमिका निर्वाह गर्न मन छ ।

यो वर्ष तपाईंको अभिनय रहेको तीन फिल्म प्रदर्शनमा आए । ती सबैमा सहायक भूमिकामा हुनुहुन्छ । अनि अहिले करिअरको गियर चेन्ज गरेँ भन्नुभयो । अब तपाईं सहायक भूमिकामा सीमित बन्न लाग्नुभएको हो ?

– मलाई के लाग्छ भनेर विशेषतः महिला कलाकारले करिअरको आयु लामो बनाउने हो भने गियर परिवर्तन गर्नु नै पर्छ । एक बिन्दुमा त्यो गर्नु नै पर्छ ।

शीर्ष पात्र खोजेको भए मैले विगतको दुई वर्षमा कुनै पनि फिल्म गर्ने थिइनँ ।

मैले तीन वर्षअघि अनुभव गरेको कुरा के भने– मैले शीर्ष भूमिका खोजेँ भने फिल्मको संख्या एकदमै कम हुन्छ ।
फेरि मैले जानेको नै अभिनय हो । अरु केही जानेको छैन ।

पर्खिएँ भने मौका त आउँछन् । सहायक वा सपोर्टिङ रोल गरेँ भने मलाई कामको कमी हुँदैन भनेर गियर परिवर्तन गरेको हुँ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : ३४ बजे

रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट

काठमाडौं- रक्षा बमको संयोजकत्वमा जेन-जी फ्रन्ट गठन घोषणा गरिएको छ।

वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रहेछ’

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले टिकटक

पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही

मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका

बेमौसमी वर्षाले किसान दोहोरो मारमा

सिरहा – लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा