खालिदा जियालाई राजकीय बिदाइ « Khabarhub

खालिदा जियालाई राजकीय बिदाइ


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिएको छ । 

राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो ।

प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहेकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली मुलुकमा उनको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको छ ।

अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उनको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो । सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सेवानिवृत्त सरकारी कर्मचारी मिन्हाज उद्दीनले आफूले कहिल्यै उनलाई मत नदिए पनि तीन पटक प्रधानमन्त्री बनेकी नेतृप्रति सम्मान प्रकट गर्न आएको बताए । 

‘म मेरो नातिसँग यहाँ आएको हुँ, एक अनुभवी राजनीतिज्ञलाई अन्तिम बिदाइ दिन, जसको योगदान सधैँ सम्झिरहनेछ’, उनले भने ।

शोकमग्न शर्मिना सिराजले बेगम जियालाई महिला नेतृत्वको प्रेरणाका रूपमा स्मरण गरिन् । दुई सन्तानकी आमाले बालिकाहरूको शिक्षाका लागि सुरु गरिएको स्टाइपेन्ड कार्यक्रमले ‘हाम्रा छोरीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको’ बताए ।

लामो समयदेखि खराब स्वास्थ्य र कारावासको पीडाका बाबजुद बेगम जियाले फेब्रुअरी १२ मा तय भएको निर्वाचनमा पार्टीको समर्थनमा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए । उक्त निर्वाचन गत वर्ष भएको जनआन्दोलनपछि शेख हसिनाको सत्ता पतनपछिको पहिलो मतदान हो ।

उनको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) लाई निर्वाचनमा अग्रस्थानमा देखिएको छ । सत्र वर्षको निर्वासनपछि हालै स्वदेश फर्किका उनका सुपुत्र तारिक रहमानलाई पार्टीले बहुमत पाए सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।

‘उहाँ अब हामीबीच हुनुहुन्न, तर उहाँको विरासत जीवित छ र बिएनपी पनि जीवित छ’, अन्त्येष्टि हेर्न परिवारसहित टाढाबाट आएकी जेनी परवेजले भनिन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्दै विस्तृत राजकीय अन्त्येष्टि आयोजना गरेको हो । संसद् भवन बाहिर ठूलो भीड जम्मा भएको थियो, जहाँ निर्धारित समयमै अन्त्येष्टि प्रार्थना सम्पन्न गरियो । युनुसले बङ्गलादेशले ‘एक महान् संरक्षक गुमाएको’ प्रतिक्रिया दिए  ।

बेगम खालिदा जियाको पार्थिव शरीर उनका दिवङ्गत पति, पूर्व राष्ट्रपति जियाउर रहमानसँगै दफन गरिनेछ । रहमानको सन् १९८१ मा हत्या भएको थियो ।

तारिक रहमानले विज्ञप्ति जारी गर्दै देशले ‘आफ्ना लोकतान्त्रिक आकांक्षालाई दिशा दिने मार्गदर्शक व्यक्तित्व गुमाएको’ बताए  । उनले आमाले पटक–पटक गिरफ्तारी, उपचारमा अवरोध र निरन्तर दबाब सहनुपरे पनि ‘उहाँको साहस र दृढता कहिल्यै नटुटेको’ उल्लेख गरे ।

धेरै स्वास्थ्य समस्याबाट ग्रसित बेगम जियालाई नोभेम्बर अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका बाबजुद अवस्था सुधार हुन नसक्दा उनको निधन भएको हो । यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि मात्र पार्टी कार्यकर्ताले उनको तर्फबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै बेगम जियाको ‘दूरदृष्टि र विरासतले दुई देशबीचको सम्बन्धलाई मार्गदर्शन गरिरहने’ आशा व्यक्त गरे  । 

भारतका विदेशमन्त्री डा. एस. जयशङ्कर अन्त्येष्टिमा सहभागी भएका छन्, जुन शेख हसिनाको पतनपछि भएको भारतको सबैभन्दा उच्चस्तरीय भ्रमण हो । पाकिस्तानका वरिष्ठ अधिकारीहरू पनि कार्यक्रममा सहभागी भएका छन् ।

हाल भारतमा आश्रित रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनले पनि सामाजिक सञ्जालमार्फत बेगम खालिदा जियाको आत्माको चिरशान्तिका लागि प्रार्थना गरेकी छन् । रासस
 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : २२ बजे

ब्राजिल विश्वकप समूह सी’ को विजेता : ह्याट्रिक गर्न चुके विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६