खेतमा पानी पुगेपछि किसान खुसी « Khabarhub

खेतमा पानी पुगेपछि किसान खुसी


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् । लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य समयमा नहरमार्फत खेतसम्म पानी पुगेपछि खुसी भएका हुन् । बाली हुर्किने समयमा खेतमा पानी पुगेपछि जिल्लाका किसानले कृषि कार्य गर्न सहज भएको  बताएका छन् । 

‘समयमा वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने तथा रोपिसकेको धानमा सिँचाइको समस्या हुने अवस्था थियो’, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका किसान अशोक यादवले भने, ‘तर नहरमा पानी आएपछि राहत भएको छ ।’ 

कोशी पम्प चन्द्र नहर सिँचाइ कार्यालय, राजविराजअन्तर्गत चन्द्र नहर सिँचाइ प्रणाली, कोशी पम्प नहर सिँचाइ प्रणाली र वितरण नहर सिँचाइ प्रणाली गरी तीनवटा सिँचाइ प्रणाली सञ्चालनमा छन् । यी तीनवटै प्रणालीमार्फत सप्तरीका विभिन्न क्षेत्रमा कृषि प्रयोजनका लागि सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार चन्द्र नहर सिँचाइ प्रणालीमा गत असार १० गतेदेखि पानी छाडिएको छ । त्यस्तै कोशी पम्प नहर सिँचाइ प्रणाली र वितरण नहर सिँचाइ प्रणालीबाट साउन २१ गतेदेखि किसानका खेतसम्म पानी पुर्‍याउन थालिएको हो ।

‘खेतीको मुख्य समयमा नहरमा पानी सञ्चालन भएपछि किसानलाई सहज भएको छ । तीनवटै सिँचाइ प्रणालीबाट नियमितरूपमा पानी वितरण गर्ने प्रयास भइरहेको छ,’ कार्यालय प्रमुख यादवले भने ।

सिँचाइको सुविधा उपलब्ध भएपछि आकाशेपानीमा निर्भर किसानलाई विशेष राहत पुगेको छ । 

सप्तरी कृषि उत्पादनका दृष्टिले महत्त्वपूर्ण जिल्ला भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानले बर्सेनि मौसममा निर्भर भएर खेती गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

वर्षा समयमा नहुँदा धान रोपाइँ ढिला हुने, रोपाइँ गरेपछि पानीको अभाव हुने र उत्पादनमा असर पर्ने समस्या किसानले भोग्दै आएका छन् । 

यस वर्ष नहर प्रणालीबाट समयमै पानी उपलब्ध भएपछि त्यस्तो समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । 

किसानका अनुसार धान रोपाइँका लागि आवश्यक समयमा खेतमा पानी उपलब्ध हुँदा खेती गर्न सहज हुनुका साथै उत्पादनसमेत बढ्ने सम्भावना हुन्छ ।

नहरको नियमित मर्मतसम्भार तथा संरचना निर्माणलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । 

नहर जीर्ण हुँदा पानी चुहावट हुने, खेतसम्म पर्याप्त पानी नपुग्ने तथा ठाउँ–ठाउँमा नहर अवरुद्ध हुने समस्या आउने भएकाले संरचनाको सुधार गरिएको कार्यालय प्रमुख यादवले बताए । 

उनका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नहर प्रणालीको मर्मतसम्भार तथा सुधारअन्तर्गत एक हजार ४६५ मिटर पक्की नहर निर्माण गरिएको छ । यसबाट नहरको संरचना थप व्यवस्थित हुनुका साथै पानी प्रवाहमा सहजता आउने अपेक्षा गरिएको उनले बताए । 

त्यस्तै नहर प्रणालीअन्तर्गत १२ वटा भिआरबी (पुल) निर्माण गरिएकोले किसान तथा स्थानीयबासीको आवतजावतसँगै नहरबाट पानीको नियमित प्रवाह कायम गर्न सहयोग पुगेको छ । 

यसैगरी नहरको निरीक्षण, मर्मतसम्भार तथा सिँचाइ संरचनासम्म आवश्यक सामग्री पुर्‍याउन एक हजार ८५० मिटर सर्भिस रोड ग्राभेलिङ गरिएको छ । 

गत आर्थिक वर्षमा दुईवटा ल्यान्डी साइफन निर्माण गर्नुका साथै नौ किलोमिटर नहर सरसफाइको कामसमेत सम्पन्न गरिएको कार्यालयले जनाएको छ । 

नहरमा जमेको माटो, बालुवा तथा अन्य अवरोध हटाउँदा पानीको प्रवाह सहज हुने भएकाले नियमित सरसफाइ गरिएको प्रमुख यादवले बताए । 

कोशी पम्प चन्द्र नहर सिँचाइ कार्यालय अन्तर्गतका तीनवटै सिँचाइ प्रणालीबाट सप्तरीमा ३४ हजार ९८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । रासस
 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ११ : १९ बजे

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिनेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन