काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार दिउँसो भएको भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राजदूत माओमिङले दुःख व्यक्त गरेका थिए।
राजदूत माओले बाढीपछिको खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहेको बताएका थिए। उनले विपद्को अवस्थामा नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न चीन तयार रहेको जानकारी गराएका थिए।
बाढीपछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए। आवश्यकता रहेसम्म यस्तो सहयोग निरन्तर जारी रहने उनले बताएका थिए।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्का बेला चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
लामिछानेले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक र प्राविधिक सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्यका लागि आग्रह गरेका थिए।
भेटका क्रममा नेपालमा पछिल्लो समय देखिएको विपद्को अवस्था, खोज तथा उद्धारमा आवश्यक प्राविधिक सहयोग र विपद् व्यवस्थापनमा दुई देशबीचको सहकार्यका विषयमा समेत छलफल भएको बताइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले देशभित्र र बाहिरका अधिकारीहरूसँग संवाद गर्न नसकेको अवस्थामा रविले एकपछि अर्को सक्रियता बढाएका हुन्।
स्थानीय सरकार र प्रदेश सरकारसँग संवाद गरेपछि उनले मंगलबार सर्वदलीय बैठक राखे। उक्त बैठकपछि चिनियाँ राजदूतसँग उनको संवाद भएको हो ।












प्रतिक्रिया