काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ सार्वजनिक भएपछि सुरु भएको विवाद अन्ततः सहमतिमा टुंगिएको छ ।
गीतमा प्रयोग भएका विवादित शब्द हटाउने सहमति भएपछि गायक सेन्चुरी र उजुरीकर्ता पक्षबीचको विवाद तत्कालका लागि समाधान भएको हो ।
बुधबार साइबर ब्युरोको रोहबरमा सेन्चुरी र हिन्दुवादी समूहका प्रतिनिधिबीच डेढ घण्टाभन्दा बढी छलफल भएको थियो । छलफलका क्रममा गीतका केही शब्दलाई लिएर उठेको आपत्तिबारे दुवै पक्षबीच कुराकानी भएको थियो ।
अन्ततः सेन्चुरीले विवादित अंश सम्पादन गरी हटाउने लिखित सहमति जनाएपछि सहमति जुटेको साइबर ब्युरोले जनाएको छ ।
करिब एक महिनाअघि आफ्नै शब्द, संगीत र स्वरमा सेन्चुरीले सार्वजनिक गरेको उक्त गीतविरुद्ध बाहुन समुदायलाई होच्याउने शब्द प्रयोग गरिएको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । उजुरीकर्ताले गीत र भिडियोले सामाजिक सद्भावमा असर पार्न सक्ने दाबीसमेत गरेका थिए ।
उजुरीपछि ब्युरोले मंगलबार दुवै पक्षलाई छलफलमा बोलाएको थियो। पहिलो दिन सहमति हुन नसकेपछि बुधबार पुनः छलफल गरिएको थियो ।
गोधुली क्रियसन प्रालिले बजारमा ल्याएको गीतमा सेन्चुरीसँगै गायिका दीपिका बयम्बु मगरको पनि स्वर छ ।
दुवै पक्षबीच सहमति जुटेपछि गीतलाई लिएर सिर्जना भएको विवाद हालका लागि टुंगिएको साइबर ब्युरोले जनाएको छ ।














प्रतिक्रिया