बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।
जिल्लाको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार कार्य गरेको थियो।
जिपमा चालकसहित तीनजना सवार रहेको खुलेको छ। दुर्घटनामा परेका दुई घाइतेको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया