अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएको अफगान पक्षको दाबी छ ।

पाकिस्तानले भने अफगानिस्तानमा रहेका आतंकवादीका लुकेका स्थान तथा शिविरलाई लक्षित गरी हवाई कारबाही गरिएको जनाएको छ । पाकिस्तानको प्रारम्भिक विवरणअनुसार कारबाहीमा २२ जना आतंकवादी मारिएका छन् ।

दुवै पक्षले सार्वजनिक गरेको हताहतको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरलाई लक्षित गरी हवाई आक्रमण भएको बताएका छन् । उनका अनुसार आक्रमणमा तीनवटा घर ध्वस्त भएका छन् । मुजाहिदले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताए ।

पाकिस्तानको सूचना मन्त्रालयले भने आतंकवादी लुकेका स्थान तथा शिविरलाई लक्षित गरी सुनियोजित हवाई कारबाही गरिएको जनाएको छ । मन्त्रालयका अनुसार लक्षित स्थानबाट ठूलो मात्रामा हतियार तथा गोलाबारुद फेला पारेर नष्ट गरिएको थियो । कारबाहीका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर अधिकतम सावधानी अपनाइएको पाकिस्तानको दाबी छ ।

पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायतका समूहलाई अफगान भूमिबाट गतिविधि सञ्चालन गर्न दिएको र ती समूहले पाकिस्तानमा आक्रमण गरिरहेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानले भने टीटीपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ ।

दुई देशबीच सीमापार झडप र उग्रवादी गतिविधिलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । यस वर्षको सुरुदेखि तनाव बढेपछि पाकिस्तानले अफगानिस्तानभित्र पटकपटक हवाई कारबाही गर्दै आएको छ ।

यसैबीच, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले यस वर्ष सीमापार हिंसाका कारण एक हजार एक सयभन्दा बढी अफगान नागरिकको मृत्यु तथा घाइते भएको जनाएको छ । 

पाकिस्तानले भने सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरिएको आरोप अस्वीकार गर्दै पाकिस्तानभित्र आक्रमण गर्ने आतंकवादीलाई मात्र निशाना बनाइएको बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : ३४ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा