कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।
क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय फुटबल र महिलातर्फ खुला फुटबल प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए । ‘यो क्षेत्र फुटबलको केन्द्र हो यहाँबाट थुप्रै खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय लिगमा खेलिसकेका छन्’, उनले भने । उनले क्लबले हरेक प्रतियोगितामा पुरस्कार राशि बढाउँदै गएको बताए ।
प्रतियोगितामा पुरुषतर्फ विजेताले तीन लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार र ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षकलाई ,उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही १०१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्न र फुटबलको विकासमा योगदान पुर्याउने अपेक्षा आयोजकको छ ।














प्रतिक्रिया