वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि व्यापक अनुसन्धान सुरु गरेको छ।
‘द वासिङ्टन पोस्ट’ले एफटीसीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बुधबार अनुसन्धानबारे जानकारी दिएको हो।
अमेरिकामा उपभोक्तालाई असर पार्ने अनुचित तथा भ्रामक व्यावसायिक अभ्यासको अनुसन्धान गर्ने अधिकार एफटीसीसँग रहेको छ। यद्यपि अनुसन्धानको विस्तृत दायरा सार्वजनिक गरिएको छैन। अनुसन्धान सुरु हुँदैमा सम्बन्धित कम्पनीले गलत काम गरेको प्रमाणित नहुने अधिकारीले स्पष्ट गरेका छन्।
एआई सुरक्षाबारे विश्वव्यापी चिन्ता बढिरहेका बेला एफटीसीले अनुसन्धान अघि बढाएको हो। एन्थ्रोपिक र ओपनएआई दुवैले आफ्ना एआई प्रणाली निर्धारित वातावरणभन्दा बाहिर सञ्चालन भएका घटनाबारे जानकारी दिएका छन्।
ओपनएआईका एजेन्टहरू अर्को एआई कम्पनी ‘हगिङ फेस’को प्रणालीमा प्रवेश गर्ने क्रममा एआईलाई निश्चित सीमाभित्र सञ्चालन गराउन प्रयोग गरिएको ‘स्यान्डबक्स’बाट बाहिरिएको घटना पनि त्यसमध्ये एक हो। एआई प्रणाली सुरक्षा सीमाबाट बाहिरिनुलाई सम्भावित सुरक्षाजन्य जोखिमका रूपमा हेरिन्छ।
एआई सुरक्षासम्बन्धी चिन्ताका कारण ओपनएआईले सोमबार एउटा मोडल सार्वजनिक गर्ने निर्णयसमेत रद्द गरेको थियो। यसैबीच एन्थ्रोपिक र ओपनएआईका अधिकारीहरूले एआई सुरक्षा उपाय थप बलियो बनाउन विकासको गति केही समय सुस्त बनाउने प्रस्तावसमेत अघि सारेका छन्।
एफटीसीको अनुसन्धानले एआई कम्पनीहरूले विकास गरिरहेका प्रविधिको सुरक्षा, त्यसबाट उपभोक्तामा पर्न सक्ने प्रभाव तथा कम्पनीका सुरक्षा अभ्यासप्रति अमेरिकी नियामक निकायको चासो बढेको देखाएको छ।














प्रतिक्रिया