इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरेखेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन् ।
बोट एकाएक पहेँलिने र मर्ने समस्या देखिएको माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले बताए । अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको उनले बताए ।
राम्रो आम्दानीको अपेक्षा गरेका राईको अकबरे खुर्सानी बगानमा एकाएक रोग देखापरेको हो । उनले बारीमा लगाएको अधिकांश बोट मर्न थालेका छन् । सुरुमा बोट राम्रोसँग हुर्किए पनि उत्पादन सुरु भएसँगै पाक्ने बेलामा डढ्ने, कुहिने र बोट मर्न थालेपछि आफू चिन्तित भएको उनले बताए ।
राईले विगत दुई वर्षदेखि व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै आएका छन् । अघिल्लो वर्ष अकबरे खुर्सानी बेचेर तीन लाख ५० हजार हात पारेका उनले यस वर्ष आम्दानी अझ बढाउने उद्देश्यका साथ खेती विस्तार गरेका थिए । राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० बोट अबकरेको बिरुवा रोपेका थिए । तर एकाएक बोट मर्न थालेपछि लगानी नै नउठ्ने भएपछि उनी चिन्तित बनेका हुन् ।
‘यस वर्ष उत्पादन बढाउने उद्देश्यले अकबरे खुर्सानीको खेती विस्तार गरेको थिएँ’, उनले भने, ‘तर बोट हुर्किएर फल लाग्न थालेपछि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढ्यो । यसले गर्दा सबै लगानी डुब्यो ।’
प्रदीप जस्तै व्यावसायिक रूपमा खेती गरिरहेका त्यहाँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । अर्का किसान जीवन राईका अनुसार खुर्सानीमा फलमा डढुवा लाग्ने, कीरा लाग्ने, बोट पहुँलो हुने र कहिने समस्या देखिएको बताए ।
खुर्सानी पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्नेजस्ता रोग फैलिएपछि किसान समस्यामा परेको अर्की किसान कल्पना राईले बताइन् । रोगको सङ्क्रमण सुरु भएको एक महिनामा बारीको खुर्सानी पूर्ण रूपमा नष्ट भएको उनले बताइन् ।
यहाँ उत्पादित अकबरे स्थानीय बजारसहित झापाको दमक बजारमा पुग्ने गर्दछ । स्थानीय व्यापारीले प्रतिकेजी २०० देखि २५० रुपैयाँ सम्ममा बगानबाटै खरिद गरेर लैजाने गरेका छन् ।
इलाममा पछिल्लो समय परम्परागत खाद्यान्न बालीको विकल्पका रुपमा अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दो छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।














प्रतिक्रिया