महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन « Khabarhub

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । 

पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

मधेस प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ ।

सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीन वटा आकाशे पुल निर्माणका लागि करिब रु १० करोड ५० लाख लागत अनुमान गरिएको थियो । 

तीमध्ये महेन्द्रनगरका दुई पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । उक्त पुल मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि तीन करोड ३५ लाख रुपैयाँ, सखुवा चोकको पुलका लागि तीन करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि तीन करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

तीनवटै पुलको लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको हो । पुल निर्माणको जिम्मा दुई वटा निर्माण कम्पनीले पाएका छन् ।

सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुलको उचाइ पाँच दशमलव छ मिटर, लम्बाइ २९ दशमलव चार मिटर र चौडाइ तीन मिटर छ ।

पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने अवस्था अन्त्य हुने उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम घट्ने बताए । 

पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवागमन हुने गरेको उनले जानकारी दिए ।

स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक वारपार गर्न जोखिम हुने गरेको बताए । 

क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहेका उनले पुल सञ्चालनमा आएपछि बालबालिका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १२ : ५८ बजे

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा