बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई « Khabarhub

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी मानिएको छ ।

एफबीआईले शनिबार जारी गरेको विज्ञप्तिमा यस साताको साइबर आक्रमण ‘ट्रेडरट्रेटर’ नामक समूहको दुर्भावनापूर्ण साइबर गतिविधिसँग सम्बन्धित रहेको जनाएको छ । यही समूह गत वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट एक अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको घटनामा पनि संलग्न रहेको एफबीआईको दाबी छ ।

ब्युरोले क्रिप्टोकरेन्सी एक्सचेन्ज, ब्लकचेन विश्लेषण गर्ने कम्पनीलगायत सम्बन्धित निकायलाई चोरीसँग जोडिएका विभिन्न डिजिटल ठेगानामा हुने कारोबार रोक्न आग्रह गरेको छ । 

चोरी भएको रकमको स्रोत लुकाउन त्यसलाई विभिन्न माध्यमबाट स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको हो ।

एफबीआईका अनुसार अनुसन्धानका क्रममा ट्रेडरट्रेटरले चोरी भएका डिजिटल सम्पत्तिलाई मुख्यतः इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेको पाइएको छ । 

समूहले अब विकेन्द्रीकृत वित्तीय सेवा (डीएफआई) र तत्काल क्रिप्टोकरेन्सी साट्ने सेवामार्फत ती सम्पत्ति रूपान्तरण गर्ने प्रयास गर्न सक्ने ब्युरोको अनुमान छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया यस घटनामा संलग्न भए–नभएकोबारे आफूहरू अझै निश्चित नभएको बताएका छन् ।

फ्लोरिडास्थित आफ्नो मार–ए–लागो निवासमा शनिबार राति आयोजित हेलोविन कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म चिन्तित छैन । हामी यसबारे जानकारी लिइरहेका छौँ । यो उत्तर कोरिया हो वा होइन भन्ने हामीलाई थाहा छैन ।’ यद्यपि, उनले उत्तर कोरियाको सङ्लग्नता पुष्टि हुन सक्ने सम्भावनालाई अस्वीकार गरेनन् ।

क्रिप्टोकरेन्सी विज्ञ एरी रेडबोर्डले ह्याकरहरूले चोरी भएको रकमलाई साना–साना भागमा विभाजन गरी साना एक्सचेन्जहरूमार्फत स्थानान्तरण गरेर आफ्नो पहिचान लुकाउने प्रयास गर्न सक्ने बताए । यस्तो प्रक्रिया महिनौँसम्म चल्न सक्ने उनको अनुमान छ ।

ब्लकचेन इन्टेलिजेन्स कम्पनी टीआरएम ल्याब्सका प्रमुख नीति अधिकारी रेडबोर्डले यस घटनालाई इन्टरनेटको गतिमा भएको बैंक लुटपाटको सङ्ज्ञा दिए । यद्यपि, चोरी भएको रकमको कारोबार वास्तविक समयमै निगरानी र पहिचान गर्न सकिने उनले बताए ।

‘हामी अनुसन्धान अघि बढाउन, यस्तो गतिविधि रोक्न र रकम जफत गर्न वास्तविक समयमै ती कारोबारको निगरानी तथा पहिचान गर्न सक्छौँ,’ उनले भने । उनका अनुसार यो निरन्तर चलिरहने बिरालो र मुसाबीचको खेलजस्तै हो ।

बिहीबार भएको उक्त घटनामा बाइनान्सबाट बिटक्वाइनलगायत अन्य डिजिटल मुद्रा गरी छ अर्ब ३० करोड अमेरिकी डलर चोरी भएको थियो । क्रिप्टोकरेन्सी क्षेत्रका धेरै विज्ञहरूले घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको सङ्केत देखिएको बताएका छन् ।

कम्पनीले शनिबार जारी गरेको विवरणमा चोरीबाट हराएको डिजिटल सम्पत्तिको ९० प्रतिशत बराबरको रकम उपलब्ध रहेको जनाएको छ । साथै, ग्राहकहरूलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । रासस

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  २ : १९ बजे

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई