बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई « Khabarhub

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी मानिएको छ ।

एफबीआईले शनिबार जारी गरेको विज्ञप्तिमा यस साताको साइबर आक्रमण ‘ट्रेडरट्रेटर’ नामक समूहको दुर्भावनापूर्ण साइबर गतिविधिसँग सम्बन्धित रहेको जनाएको छ । यही समूह गत वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट एक अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको घटनामा पनि संलग्न रहेको एफबीआईको दाबी छ ।

ब्युरोले क्रिप्टोकरेन्सी एक्सचेन्ज, ब्लकचेन विश्लेषण गर्ने कम्पनीलगायत सम्बन्धित निकायलाई चोरीसँग जोडिएका विभिन्न डिजिटल ठेगानामा हुने कारोबार रोक्न आग्रह गरेको छ । 

चोरी भएको रकमको स्रोत लुकाउन त्यसलाई विभिन्न माध्यमबाट स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको हो ।

एफबीआईका अनुसार अनुसन्धानका क्रममा ट्रेडरट्रेटरले चोरी भएका डिजिटल सम्पत्तिलाई मुख्यतः इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेको पाइएको छ । 

समूहले अब विकेन्द्रीकृत वित्तीय सेवा (डीएफआई) र तत्काल क्रिप्टोकरेन्सी साट्ने सेवामार्फत ती सम्पत्ति रूपान्तरण गर्ने प्रयास गर्न सक्ने ब्युरोको अनुमान छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया यस घटनामा संलग्न भए–नभएकोबारे आफूहरू अझै निश्चित नभएको बताएका छन् ।

फ्लोरिडास्थित आफ्नो मार–ए–लागो निवासमा शनिबार राति आयोजित हेलोविन कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म चिन्तित छैन । हामी यसबारे जानकारी लिइरहेका छौँ । यो उत्तर कोरिया हो वा होइन भन्ने हामीलाई थाहा छैन ।’ यद्यपि, उनले उत्तर कोरियाको सङ्लग्नता पुष्टि हुन सक्ने सम्भावनालाई अस्वीकार गरेनन् ।

क्रिप्टोकरेन्सी विज्ञ एरी रेडबोर्डले ह्याकरहरूले चोरी भएको रकमलाई साना–साना भागमा विभाजन गरी साना एक्सचेन्जहरूमार्फत स्थानान्तरण गरेर आफ्नो पहिचान लुकाउने प्रयास गर्न सक्ने बताए । यस्तो प्रक्रिया महिनौँसम्म चल्न सक्ने उनको अनुमान छ ।

ब्लकचेन इन्टेलिजेन्स कम्पनी टीआरएम ल्याब्सका प्रमुख नीति अधिकारी रेडबोर्डले यस घटनालाई इन्टरनेटको गतिमा भएको बैंक लुटपाटको सङ्ज्ञा दिए । यद्यपि, चोरी भएको रकमको कारोबार वास्तविक समयमै निगरानी र पहिचान गर्न सकिने उनले बताए ।

‘हामी अनुसन्धान अघि बढाउन, यस्तो गतिविधि रोक्न र रकम जफत गर्न वास्तविक समयमै ती कारोबारको निगरानी तथा पहिचान गर्न सक्छौँ,’ उनले भने । उनका अनुसार यो निरन्तर चलिरहने बिरालो र मुसाबीचको खेलजस्तै हो ।

बिहीबार भएको उक्त घटनामा बाइनान्सबाट बिटक्वाइनलगायत अन्य डिजिटल मुद्रा गरी छ अर्ब ३० करोड अमेरिकी डलर चोरी भएको थियो । क्रिप्टोकरेन्सी क्षेत्रका धेरै विज्ञहरूले घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको सङ्केत देखिएको बताएका छन् ।

कम्पनीले शनिबार जारी गरेको विवरणमा चोरीबाट हराएको डिजिटल सम्पत्तिको ९० प्रतिशत बराबरको रकम उपलब्ध रहेको जनाएको छ । साथै, ग्राहकहरूलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । रासस

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  २ : १९ बजे

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग