काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ नयाँ कथासहित दर्शकमाझ आउने तयारीमा छन् ।
उनको निर्देशनमा बनेको फिल्म ‘चिरञ्जीवी भवः’को दुईवटा पोस्टर सार्वजनिक भएका छन्। शनिबार सार्वजनिक पोस्टरले फिल्मका मुख्य पात्रसँगै उनीहरूबीचको सम्बन्धबारे पनि कौतूहल जगाएको छ।
सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई देख्न सकिन्छ। एउटा पोस्टरमा तीनै कलाकार फरक भावभंगीमा प्रस्तुत छन्।
सेतै फुलेको कपाल, जुँगा र नयाँ ढाका टोपीमा देखिएका हरिवंश गम्भीर मुद्रामा छन् । उनी कुनै खानदानी परिवारका घरमूलीजस्ता देखिन्छन्। अर्कोतर्फ आशीर्वाद र प्रशंसा भने हँसिलो र चञ्चल भावमा प्रस्तुत छन् ।
अर्को पोस्टरले भने फिल्मको शीर्षकलाई नै रोचक ढंगले अर्थ्याएको छ। यसमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । सुकिलो दौरा–सुरुवाल र ज्वारीकोटमा सजिएका हरिवंशको अगाडि क्याजुअल पहिरनमा रहेका आशीर्वाद देखिन्छन् । पोस्टरले उनीहरू बुवा–छोराको भूमिकामा हुन सक्ने संकेत गर्छ। फिल्ममा हरिवंश ‘चिरञ्जीवी बाजे’को चरित्रमा देखिनेछन्।
सोसल ड्रामा विधामा निर्माण भएको फिल्मले दुई पुस्ताबीचको सोच, विचार र सम्बन्धलाई मुख्य विषय बनाएको छ। कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपक आचार्यले निर्देशन गरेको फिल्मको पटकथा सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।
फिल्ममा हरिवंश, आशीर्वाद र प्रशंसासँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला, गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता उमेशकुमार बराल र चिरन केसी हुन्। गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता रहेका छन्। शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ।
गत वर्ष निर्देशक दीपक आचार्यकै फिल्म ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्म बनेको थियो। त्यसैले उनको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकको चासो बढेको छ। फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ। यसको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।















प्रतिक्रिया